Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

युआन लोङपिङ,जसको धान अनुसन्धानले धेरै मानिसहरुलाई खुवाउन मद्दत पुर्‍यायो

krishireview
२०७८ जेठ ११ , मंगलबार ०२:०५ मा प्रकाशित | ४९० पटक पढिएको

सन् १९७० को दशकमा धेरै फल्ने हाइब्रिड धानको विकास गरेर संसारका असंख्य गरीबलाई भोकमरीबाट जोगाउँदै जीवन बचाएको श्रेय लोङपिङलाई जान्छ। यिनै लोङपिङ शनिबार संसारबाट बिदा भए।

किसानका खेतमा धेरै फल्ने हाइब्रिड (वर्णसंकर) धानको विकास गरेर एसिया र अफ्रिकाको गरीबी र भोकमरी विरुद्धको युद्ध लड्न सघाएका चिनियाँ वनस्पति वैज्ञानिक युआन लोङपिङको ८ जेठ शनिबार निधन भयो। हुनान प्रान्तको चाङ्सास्थित अस्पतालमा ९१ वर्षीय लोङपिङले जीवनको अन्तिम सास फेरे। 

सन् १९७० को दशकमा लोङपिङले यस्तो हाइब्रिड धानको विकास गरे, जसबाट खाद्य असुरक्षा भोगिरहेका चीनसहित एसिया र अफ्रिकाका देशहरूले धान उत्पादनमा फड्को मार्ने सफलता पाए। 

-हाइब्रिड धानको बयानमा बयानमा युआन लोङपिङ

माओ च दोङ नेतृत्वको ‘ग्रेट लिप फरवार्ड’ पछि गरीबीको गहिरो भासमा धकेलिएका लाखौं चिनियाँ भोकमरीकै कारण ज्यान गुमाइरहेका थिए। लोङपिङले यो पीडा नजिकबाट देखेका थिए। भोकाको पेट भर्ने उनको सपना यहीँबाट शुरू भएको थियो।

लोङपिङले सन् १९६४ मा पहिलो पटक हाइब्रिड धानको खोजमा सैद्धान्तिक सफलता पाएका थिए, तर यसको वास्तविक उत्पादनमा भने झन्डै एक दशक अर्थात् १९७३ सम्म संघर्ष गर्नुपर्‍यो। हनान प्रान्तमा भेटिएको जंगली जातको धानसँग ‘क्रस’ गराएपछि उनको यो प्रयत्‍न सफल भएको थियो।
यो योगदानले लोङपिङलाई विश्वभरि ‘हाइब्रिड धानका पिता’ र चीनमा ‘राष्ट्रिय नायक’को पहिचान दिलायो। भोकमरीबाटै लाखौंको मृत्यु भएको चीनमा यो आविष्कारले ‘रामवाण’कै काम गर्‍यो। यसले सुधारिएको र सबैभन्दा धेरै फल्ने जातका तुलनामा समेत २०/२५ प्रतिशत धेरै उत्पादकत्व दिने संयुक्त राष्ट्रसंघीय खाद्य र कृषि संगठनले जनाएको छ। राष्ट्रसंघले आइतबार विज्ञप्ति मार्फत लोङपिङको निधनले ‘वास्तविक खाद्यनायकको निधन भएको र उनले दशौं लाख मानिसलाई भोकमरीबाट ज्यान जोगाएको’ उल्लेख गरेको छ। 

लोङपिङको योगदानपछि भोकमरीग्रस्त चीन तीन दशकमै खाद्य सुरक्षाको दिशामा हिँड्न सकेको भनी सन् २००४ मा उनलाई विश्व खाद्य पुरस्कारले सम्मान गरिएको थियो। सन् २०१९ मा उनलाई चीनको सर्वोच्च सम्मान ‘मेडल अफ द रिपब्लिक’ ले सम्मान गरिएको थियो। 

अन्तर्राष्ट्रिय धानबाली केन्द्र (इरी) का नेपाल प्रतिनिधि डा. कृष्णदेव जोशी लोङपिङले धान उत्पादकत्वको वृद्धिमा लगाएको गुण अतुलनीय भएको बताउँछन्। “गरीब देशका नागरिकको भातले पेट भर्नमा उनको योगदान छ, खासगरी धान उत्पादन हुने खेत थोरै भएका नेपाल जस्ता देशका लागि यो निकै महत्त्वपूर्ण योगदान हो,” उनी भन्छन्। 

लोङपिङको योगदानपछि भोकमरीग्रस्त चीन तीन दशकमै खाद्य सुरक्षाको दिशामा हिँड्न सकेको भनी सन् २००४ मा उनलाई विश्व खाद्य पुरस्कारले सम्मान गरिएको थियो। सन् २०१९ मा उनलाई चीनको सर्वोच्च सम्मान ‘मेडल अफ द रिपब्लिक’ ले सम्मान गरिएको थियो। 

‘हरित क्रान्ति’का लागि उनको योगदान नोबेल शान्ति पुरस्कार विजेता अमेरिकी वैज्ञानिक नोर्मन बोर्लागसरह मानिन्छ। बोर्लागले सन् १९५० र ६० को दशकमा गहुँको उत्पादकत्व बढाएर संसारका करोडौं मानिसलाई भोकमरीबाट जोगाएका थिए। 

-धान खेतमा रमाउदै युआन लोङपिङ

अहिले संसारको कुल धान उत्पादनको एकतिहाइ हिस्सासहित चीन संसारमै धान फलाउने अग्रणी देश बन्न पुगेको छ। तर, हाइब्रिड धान उत्पादनअघि संसारभरि धानको उत्पादकत्व प्रायः उस्तै थियो। सन् १९६० मा चीनमा प्रतिहेक्टर दुई टन धान फल्थ्यो। 

त्यतिबेला नेपालमा पनि धानको उत्पादकत्व प्रतिहेक्टर १.९ टन थियो। भारतमा त अझ प्रतिहेक्टरमा १.५ टन मात्रै धान फल्थ्यो। अहिले धेरै धान फलाउने इन्डोनेसियादेखि बाङ्लादेश, भियतनामदेखि थाइल्यान्डसम्मको धानको उत्पादकत्व त्योबेला उस्तै थियो।

लोङफिङको नेतृत्वमा हाइब्रिड जातको विकास भएपछि सन् १९७६ पछि चीनमा हाइब्रिड धानको व्यावसायिक उत्पादन शुरू भएको थियो। चीनसहित दक्षिण पूर्वी एसियाका अन्य देशहरूले पनि हाइब्रिड बीउको प्रयोग गरेर धानको उत्पादकत्व क्रमशः बढाउँदै लगे। चीनले शुरूआतमा यो प्रविधि अमेरिका, फिलिपिन्स, पाकिस्तान, मडागास्कर जस्ता देशमा पुर्‍याउन समझदारी गरेको थियो, जसलाई ‘चिनियाँ धान कूटनीति’ पनि भनिन्छ। 

चीनमा अहिले कुल धान खेती हुने क्षेत्रफलको आधाभन्दा धेरैमा हाइब्रिड धान लगाइन्छ। प्रतिहेक्टर औसतमा ७ मेट्रिक टन धान फल्छ। यो नेपालको तुलनामा झन्डै दोब्बर हो। नेपालमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.८ मेट्रिक टन छ। 

लोङफिङको नेतृत्वमा हाइब्रिड जातको विकास भएपछि सन् १९७६ पछि चीनमा हाइब्रिड धानको व्यावसायिक उत्पादन शुरू भएको थियो। चीनसहित दक्षिण पूर्वी एसियाका अन्य देशहरूले पनि हाइब्रिड बीउको प्रयोग गरेर धानको उत्पादकत्व क्रमशः बढाउँदै लगे। चीनले शुरूआतमा यो प्रविधि अमेरिका, फिलिपिन्स, पाकिस्तान, मडागास्कर जस्ता देशमा पुर्‍याउन समझदारी गरेको थियो, जसलाई ‘चिनियाँ धान कूटनीति’ पनि भनिन्छ। 

बाङ्लादेशले पनि हाइब्रिड धानको बीउ मार्फत उत्पादनमा ठूलो छलाङ मारेर आफ्ना नागरिकको पेट भरिरहेको छ। बाङ्लादेशको धानको उत्पादकत्व प्रतिहेक्टर करीब ५ मेट्रिक टन पुगिसकेको छ। नेपालमा बाङ्लादेशकै जति अर्थात् प्रतिहेक्टर ५ मेट्रिक टन धान फलाउन सक्ने हो भने यसले पूरै नागरिक अघाउन सक्छन्। 

अहिले नेपालमा बर्सेनि करीब ५६ लाख मेट्रिक टन धान उत्पादन हुन्छ। तर, यसले देशभरिको मागलाई नथेगेपछि हरेक वर्ष अर्बौं रुपैयाँको धान-चामल आयात हुँदै आएको छ। चालू आर्थिक वर्षको नौ महीना (चैतसम्म) मा मात्रै नेपालले रू.३९ अर्बभन्दा धेरै मूल्यको धान–चामल आयात गरेको तथ्यांक छ। 

बढ्दो जनसंख्या र बजारको माग थेग्न संसारभरि स्वीकार्य विकल्पका रूपमा हाइब्रिड जातको प्रयोगलाई मानिन्छ। तर, नेपालमा भने हाइब्रिड धानको खेती न्यून छ। अहिले बढीमा १० प्रतिशत खेतमा मात्रै हाइब्रिड बीउको प्रयोग मार्फत धान खेती हुने गरेको अनुमान छ। 

नेपाल कृषि अनुसन्धान परिषद्ले हाइब्रिड बीउको प्रयोग बढाउन हर्दीनाथ १ र हर्दीनाथ ३ गरी दुई धानका हाइब्रिड जातको अध्ययन गरी किसानहरूलाई खेतीका लागि सिफारिश गरेको छ। कृषि वैज्ञानिकहरू हाइब्रिड बीउको प्रयोगबाट धान खेती गर्ने हो भने देशको चामलको माग अनुसारको उत्पादन सजिलै हुने तर्क गर्ने गर्छन्। बुद्ध एअरका सञ्चालक व्यवसायी वीरेन्द्रबहादुर बस्नेतको पहलमा पूर्वी तराईमा गरिएको धान खेतीमा हाइब्रिड बीउको प्रयोगबाट प्रतिहेक्टर करीब ७ टन धान फलिरहेको छ। 

तर, हाइब्रिड बीउ खोटरहित भने छैन। यस्तो बीउ एक पुस्तालाई मात्र काम लाग्ने भएकाले यस्तो बालीको बीउ मार्फत फेरि उत्पादन गर्न सकिँदैन। त्यसपछि हरेक वर्ष बीउ किन्नैपर्ने बाध्यता हुनजान्छ। 

हाइब्रिड बीउ प्रयोग गर्दा दोस्रो पुस्ताबाट राम्रो उत्पादन नहुने र अधिकांश यस्ता बीउ विदेशबाट आयात गर्नुपर्ने कारणले नेपाल जस्ता अनुसन्धानको कमजोर क्षमता भएका देश थप हाइब्रीड बीउ आयातको दुश्चक्रमा पर्नसक्नेमा कतिपय जानकारहरूले सचेत गराउने गरेका छन्। त्यस्तै, हाइब्रिड बीउमा मात्र भरपर्दा जैविक विविधताको पनि नाश हुनसक्ने जोखिम हुन्छ। 

बढ्दो जनसंख्या र बजारको माग थेग्न संसारभरि स्वीकार्य विकल्पका रूपमा हाइब्रिड जातको प्रयोगलाई मानिन्छ। तर, नेपालमा भने हाइब्रिड धानको खेती न्यून छ। अहिले बढीमा १० प्रतिशत खेतमा मात्रै हाइब्रिड बीउको प्रयोग मार्फत धान खेती हुने गरेको अनुमान छ। 

-मुस्कान सहित धानखेतमा युआन लोङपिङ

अन्तर्राष्ट्रिय धानबाली केन्द्रका नेपाल प्रतिनिधि डा. जोशी देशभरिका खेतमा हाइब्रिड लगाउनु उपयुक्त नभए पनि नेपालीको पेटलाई भर्ने गरी एकतिहाइसम्म खेतमा हाइब्रिड र बाँकी क्षेत्रमा उन्नत तथा रैथाने जातका बालीको खेती गर्नुपर्ने बताउँछन्। “नागरिकको खाद्य सुरक्षाका लागि हाइब्रिड धानको फाइदा लिनुपर्छ, बाँकी ठाउँमा रैथाने र उन्नत जातका धानबाली लगाउन सकिन्छ,” जोशी भन्छन्। 

जीवनको उत्तरार्धसम्म धानसम्बन्धी अनुसन्धानमा खटिएका लोङफिङकै नेतृत्वमा केही महीना मात्र अघि तेस्रो पुस्ताको हाइब्रिड धानको बीउबाट प्रतिहेक्टर २२ टनभन्दा धेरै धान फलाएको समाचार चिनियाँ सञ्चारमाध्यम सिन्ह्‍वाले प्रकाशित गरेको थियो। 

आफ्ना अन्तर्वार्ताहरूमा लोङफिङ अक्सर भन्ने गर्थे, “सबै मानिसलाई भोकमरीबाट टाढा राख्नु मेरो खोजको प्रयत्न हो।”

मानवीयता धनी ‘अन्नदाता’ लोङफिङको निधन पनि संयोगले त्यही दिन भयो, जुन दिन (शनिबार) विश्वले अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइरहेको थियो।

(स्रोत -मुख्य हिमालखबर तथा अन्य द न्यू योर्क टाइम्स, द वाशिङ्टन पोस्ट, चाइना डेली, साउथ चाइना मर्निङ पोस्ट, सिन्ह्‍वा न्यूजसहितको सहयोगमा।)

प्रतिक्रिया


Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?