Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

२० मे अर्थात  विश्व मौरी दिवस

Raju khatri
२०७९ जेठ ६ , शुक्रबार ११:०५ मा प्रकाशित | ३४२ पटक पढिएको

सरकारले केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ‘मौरी जोन’ मार्फत अनुदान तथा प्राविधिक सहयोग गरेपछि किसान मौरीपालनमा उत्साही भएका उनको भनाइ छ ।  गुणस्तरीय रानीको विकाससँगै चरनक्षेत्रको विस्तार गर्ने हो भने महको उत्पादन बढाउन सकिने सरोकारवाला बताउँछन् ।

गोठगाउँ, ६ जेठ । आज ‘२० मे’ अर्थात विश्व मौरी दिवस । आधुनिक मौरीपालनका पिता स्लोभेनियन मौरीपालक एन्टोन जान्सको जन्म दिनको उपलक्ष्यमा विश्व मौरी दिवस मनाइदै आएको छ । ‘मौरीमा संलग्नता : मौरीका लागि राम्रो व्यवस्था’, यस वर्षको नारा रहेको छ । विगत चार वर्षदेखि विश्व मौरी दिवस मनाउन थालिएको छ ।

मौरीबाट प्राप्त हुने मह मानव स्वास्थ तथा हिन्दु धर्ममा पनि महको महत्व उद्धृत गरेको पाइन्छ । यद्यपि, मानव जातिले मौरीप्रति गरेको अप्रत्यक्ष अत्याचारको विरुदमा पनि यस दिवसलाई मनाइदै आएको छ । पृथ्वीमा अस्तित्वमा रहनेका ९० प्रतिशत बोटविरुवा माहुरीको परागसेचनका कारण बाँचेका छन् । माहुरी हराउँदै जाँदा परागसेचनमा समस्या आउँछ र बोट विरुवाको अस्तित्व हराउँदै जान्छ ।

मौरी भन्नेवित्तिकै गुलियो महको सम्झना आउँछ । महको सम्झनाले मुख रसाउनु स्वाभाविक मानिन्छ । तर, जलवायु परिवर्तनका कारण विश्वबाट मौरीको संख्या भने घट्दो क्रममा देखिन्छ । अहिलेकै अनुपातमा माहुरी कम हुँदै जाने हो भने मह खानमात्र हैन खाद्यान्न नै खान नपाएर मानव जाति नै समाप्त हुनेजस्तो हृदयस्पर्शी रहस्य पनि मौरीसँगै जोडिएको छ ।

प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइस्टाइनले भनेका छन्, “यदि पृथ्वीबाट माहुरी लोप हुन्छन् भने त्यसको चार वर्षपछि अस्तित्व रहने छैन ।” आइस्टाइनले यो भनाइ यत्तिकै भनेका भने होइनन् । पृथ्वीमा अस्तित्वमा रहनेका ९० प्रतिशत बोटविरुवा माहुरीको परागसेचनका कारण बाँचेका छन् । माहुरी हराउँदै जाँदा परागसेचनमा समस्या आउँछ र बोट विरुवाको अस्तित्व हराउँदै जान्छ । यसो हुँदा खाद्यसंकट र प्राकृतिक विपत्तिको कारण मानव जाति संकटमा पर्छ भन्ने सन्देश आइन्स्टाइनको छ । र, यस विषयमा मानव जाति कम गम्भीर रहनुले मौरी र मानव दुवै खतरामा परेको तथ्यहरूले बताइरहेका छन् ।

जनवायु परिवर्तन र बढ्दो विषादीको प्रयोगले खतरामा परको मौरी बचाउन सकिएन भने जनवायुमा थप उथलपुथल आइलाग्ने विज्ञको चेतावनी छ । “हिमाल, पहाडमा रहेको लालीगुुँरास बचाउन मौरीको भूमिका बढी छ, भीरमाहुरी जलाएर मह काढ्ने प्रवृत्तिले माहुरी सकिँदा ३६ प्रतिशत लालीगुँरास यसै मरेर जान्छन्,” मौरी विज्ञ डा. रत्न थापा भन्छन्, “हामीले खाने हरेक तीन चम्चामा एक चम्चामा मौरीको परागसेचनको हिस्सा छ, मौरी बचाएनौं भने खाद्य संकट मात्र हैन वातावरण नै उथलपुथल हुन्छ ।” नेपालमा मौरी मासिँदा गुराँस र अन्य बनस्पति मासिने र बनस्पति मासिँदा भूक्षय र हिउँ पग्लँदै जाने भएकाले विश्वलाई बचाउन नेपालको मौरी बचानउपर्ने तर्क उनको छ ।

अमेरिकामा मात्र मौरीको संख्या ४० देखि ५० प्रतिशतले हराउदै गइरहेको तथ्यांक छ । युरोपमा पनि मौरीको संख्या बर्सेनि घट्दो क्रममा देखिन्छ । विश्वभर विषादीको बढ्दो प्रयोग र अनियन्त्रित भीरमाहुरी सिकारका कारण विश्वभर नै संख्या घटिरहेको फोब्र्सलगायत विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा समेत उल्लेख छ । विश्वभर २० हजार प्रजातिका मौरीले १ लाख ७० हजार प्रजातिका बिरुवालाई परागसेचन गर्छन् । माहुरीहरू मर्दै गएमा यी प्रजातिका विरुवा पनि हराउँदै जान्छन् ।

नेपालमा करिव २ लाख गोला माहुरी रहेको अनुमान छ । एउटा गोलामा ३० देखि ४० हजार माहुरी हुन्छन् । नेपालमा लोकल जातका सेरेना माहुरी र विकासे जातका मेलिफेरा माहुरी घर पालुवा माहुरी हुन् भने भीर माहुरी र कठौरी जातका जंगली माहुरी जंगलमा पाइन्छन् । करिब १ लाख २० हजार सेरेना र ५० हजारको संख्यामा मेलिफेरा रहेको र भीरमौरीको संख्या १० देखि १२ हजारको संख्यामा रहेको तथ्यांक छ । यद्यपि, यस विषयमा नेपालमा कम मात्र अध्ययन हुने गरेको र सरकारी लगानी समेत न्युन हुने गरेको देखिन्छ ।

मौरी प्रवद्र्धन गर्न सरकारको भने कम प्राथमिकता रहेको पाइएको छ । कृषि विभागका महानिर्देशक डा. सूर्य पौडेलसँग यससम्बन्धमा प्रश्न गर्दा अनविज्ञता व्यक्त गर्दै कुरा गर्न नै मानेनन् । उनले हरिहरभवनमा गएर व्यावसायीक किट विकासमा बुझ्न सुझाए । विभागकै मातहतमा रहने व्यावसायिक किट विकास केन्द्र भने प्रमुख भेटिएनन् ।

मौरी विज्ञ थापा सरकारले नै पहलकदमी लिएर नेपाल मात्र हैन विश्व बचाउने अभियानको नेतृत्व गर्नुपर्नेमा जोड दिन्छन् । विषादीका कारण मौरी तुरुन्त मर्ने भएकाले विषादी बन्द गर्नुपर्ने, मौरी बढाएमा ३० प्रतिशत अन्न उत्पादन बढ्ने भएकाले उत्पादन मौरी संख्या बढाउन लाग्नुपर्ने, भीर मौरी मारेर हैन हेर्नमात्र पर्यटनको विकास गर्नुपर्ने लगायतका विषमा सरकारले स्पष्ट नीति बनाएर लाग्नुपर्नेमा उनको जोड छ । “हामीले बोलेर मात्र पुग्दैन, सरकारले लगानी गर्नुपर्छ, जनतामा यस सम्बन्धि जनचेतना जगाउनुपर्छ,” उनले थपे ।

मौरी बारे केही रोचक जानकारी

  • विश्वभर करिब २० हजार मौरीका प्रजातिहरू पाइन्छ ।
  • औसतमा एउटा मौरी आफ्नो जीवनकालमा १२ चम्चा बराबरको मह उत्पादन गर्छ ।
  • मौरीहरू समूहमा बस्न रुचाउँछन् । प्रत्येक गोलामा एक रानी मौरी हुन्छ । भने, बाँकी कामदार मौरी हुन् । कामदार पोथी मौरीले घार वरपर सफा गर्ने, परागसेचन तथा मह बनाउने काम गर्छन् । भने, भाले मौरीको काम प्रजननको हुन्छ ।
  • रानी मौरीले भने अण्डा पार्ने र बच्चा जन्माउने काम मात्र गर्छिन् ।

स्रोत -विभिन्न अन्लाईन खबर,पत्रपत्रिका र लेखहरुबाट

प्रतिक्रिया

मौरी संरक्षण विश्व बचाउ विश्व मौरी दिवस

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?