बिचौलियाले बढाए मूल्य
खुद्रामा ५० देखि १ सय रुपैयाँसम्म बढी लिएको पाइयो
कालीमाटी समितिको मूल्य हेरफेर स्राेतमा पनि बढाइयो
काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले होलसेलमा तरकारीको मूल्य ठीकै रहे पनि खुद्रामा अत्यधिक बढाउने गरेको निष्कर्ष निकालेको छ । तीनकुने, जडीबुटी, भक्तपुरको चारदोबाटोलगायत क्षेत्रमा तरकारीको होलसेल पसल निरीक्षणपछि विभागको अनुगमन टोलीले यस्तो निष्कर्ष निकालेको हो ।
मंगलबार चार टोलीले चार स्थानका १४ पसलमा अनुगमन गरेको विभागका प्रवक्ता रवीन्द्र आचार्यले जानकारी दिए । ‘होलसेलमा टमाटर प्रतिकिलो ६० देखि ८० रुपैयाँ नै छ, तर खुद्रामा आइपुग्दा महँगो भएको पाइयो,’ उनले भने । खुद्राले होलसेलमा अर्डर गरेपछि होलसेलबाट गाडीमा ढुवानी हुन्छ । गाडीवालाले मनोमानी मूल्य तोक्दा खुद्रामा पनि मूल्य बढ्ने गरेको विभागको दाबी छ । ‘व्यवसायीले किसानसँग सीधै सम्पर्क गर्न सके सस्तो हुने थियो । किसानले उचित मूल्य पाउँथे । उपभोक्ताले पनि सस्तोमा पाउँथे,’ प्रवक्ता आचार्यले भने, ‘अहिले मूल किसानबाट बिचौलियाले उठाए । होलसेलबाट पुनः बजारसम्म आइपुग्दा थप बदमासी भयो ।’
अहिले निषेधाज्ञा थप मूल्य असुल्ने बहाना भएको जानकार बताउँछन् । एक महिनाको अवधिमा गोलभेंडाको मूल्य प्रतिकिलो साढे २ सय प्रतिशतसम्म बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विवरण छ । अन्य तरकारीको मूल्य पनि आचाक्ली बढेको छ । होलसेलमा मूल्य बढेपछि खुद्रा व्यापारीले पनि सोही बहानामा मूल्य बढाएका छन् ।
केही किसानले तरकारी आफैं होलसेलमा ल्याएकाले कुनै क्षेत्रमा समस्या नरहेको विभागको भनाइ छ । निरीक्षणका क्रममा किसानबाट प्रतिकिलो बन्दा २९ रुपैयाँसम्म खरिद गरी होलसेलमा ५० रुपैयाँमा बिक्री भएको देखिएको थियो । गोलभेंडाको मूल्य स्रोतमै बढेको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले बताए । बोडीलगायत केही तरकारी होलसेलमा सामान्य बढे पनि खुद्रामा बढी मूल्य लिएको उनको भनाइ छ । होलसेलबाट खुद्रा र उपभोक्तासम्म आइपुग्दा तरकारीअनुसार ५० देखि एक सय रुपैयाँसम्म बढी लिने गरेको उनले बताए ।
‘काठमाडौंमा भित्रिने दोलखा, धादिङ, मकवानपुरलगायत क्षेत्रमा गोलभेंडा टनेलको मात्रै छ । चैत पहिलो साता गोलभेंडाले मूल्य पाएन । त्यही भएर किसानले गोलभेंडा खेती गरेनन्, अरू खेतीतिर लागे,’ मिश्रले भने, ‘त्यसैले गोलभेंडा कम उत्पादन हुँदा यसको मूल्य बढ्यो ।’ तरकारी उत्पादन गर्ने स्रोतमा कालीमाटी तरकारी बजारमा राखिएको मूल्यका आधारमा पनि मूल्य तोक्ने गरिएको छ ।
निषेधाज्ञाका कारण पनि केही स्थानमा ढुवानीको समस्या भएकाले मूल्य बढेको हो । सहज रूपमा आपूर्ति नहुँदा त्रासका कारण तरकारीको माग उच्च छ । तर अफसिजनका कारण पर्याप्त उत्पादन छैन । भारतबाट पनि आयात हुन सकेको छैन । जसले गर्दा पनि बजार भाउ महँगिएको जानकारहरू बताउँछन् ।
यता खुद्रा व्यवसायीको दुखेसो भने छुट्टै छ । बिक्रीका लागि सीमित समय हुँदा तरकारी बिग्रिने समस्या छ । सटर भाडा पनि महँगो हुँदा व्यवसाय गर्न समस्या परेको उनीहरूको भनाइ छ । ‘खुद्रा व्यापारीसँग बुझ्दा ७ देखि ९ बजेसम्म मात्रै बिक्री गर्ने समय भएकाले दिउँसो घामले तरकारी बिग्रने र खेर जाँदा त्यसलार्ई उपभोक्ता मूल्यमा जोड्ने गरेको बताएका छन्,’ आचार्यले भने ।
(यो लेख कान्तिपुरको पोर्टलबाट लिएको हो ।)