हेटौंडा : सामान्यतः स्याउलाई आवश्यक हावापानी हिमाली भेगमा हुन्छ। तर हिमाल र पहाड क्षेत्रमा फल्ने स्याउ भित्रीमधेसको मकवानपुरको हेटौंडामा पनि फल्न थालेको छ।
हेटौंडा–८ कमानेका किशोर पौडेलको बारीमा यतिबेला स्याउ फुल्न र फल्न थालेका छन्। चिसो ठाउँमा मात्रै फस्टाउँदै आएको स्याउ एक वर्षअघि गर्मी ठाउँमा पनि लगाएका पौडेल अहिले चिचिला लागेको स्याउको बोट हेर्दै मक्ख छन्। १४ कठ्ठामा ८ सय बिरुवा रोपेर पौडेलले हेटौंडामा सम्भवतः पहिलोपटक व्यवसायिक रुपमा स्याउ खेतीको सुरुवात गरेका हुन्।
विदेशतिर गर्मी ठाउँमा पनि स्याउ फलेको देखेका पौडेलले नेपालमा भने चिसो ठाउँमा मात्रै लगाएको देखेपछि हेटौंडामा परीक्षणका लागि स्याउ खेतीको सुरुवात गरेको बताए।
सर्लाहीको हरिवनबाट तीन सय प्रतिगोटामा बिरुवा ल्याएर रोपेका उनको हालसम्म २० लाख लगानी भइसकेको छ। यस वर्ष स्याउ खेतीलाई परीक्षणका रुपमा मात्रै सुरुवात गरेका उनले अब दीर्घकालीन रुपमा व्यवसायिक बनाउने योजना बनाएको बताए।
अहिले २०/२५ बोटमा मात्रै फल लागेको छ भने बाँकी केहीमा फुल्दै छन्। पौडेलको अनुसार बारीमा भएको केही बोट २ वर्षमा फल्ने खालको भएकोले पनि यस वर्ष सबैमा फलेनन्।
फलेका स्याउहरुमा पनि साना साना कालो दाग देखिएका छन्। स्याउलाई आवश्यक पर्ने मल समयमा नपाउँदा फलेको पहिलो वर्षमा नै स्याउमा कालो दाग देखिएको पौडेलको भनाइ छ।
‘खासमा स्याउलाई उपयुक्त माटो पनि भएन होला। फेरि स्याउलाई आवश्यक मलजन्य सामान पनि पर्याप्त मात्रामा पाइएन। त्यसैले स्याउका दानामा दाग लागेको हुन सक्छ,’ उनले भने।
पौडेलले हेटौंडा–१८ हर्नामाडीमा जग्गा भाडामा लिएर स्याउ र आँप खेती गर्ने योजना रहेको पनि सुनाए।