हेटौडा/ सलह(Schistocerca gregaria) समूहमा बस्न मनपराउने एक फट्याङ्ग्रा जातको किरा हो । यसले रातमा थकाइ मार्छ भने दिनमा यो सक्रिय हुन्छ।अहिले देखिएको सलह ७० वर्ष पहिले देखिएकोभन्दा २० गुणा ठूलो रहेको पाइएको छ। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले प्लेगको संज्ञा दिइसकेको छ। बिरुवाका पातहरू खाएर यसले पुरै बालीलाई सखाप पार्न सक्छ।
सलहको झुण्डहरु दिनको समयमा हावाको बहावसंगै प्रतिदिन १५० किलोमिटर सम्म उड्न सक्छन्। १ वर्ग किलोमिटर को हुल मा ४ देखि ८ करोड सङ्ख्या हुन्छन् जसले ३५००० मानिसलाई पुग्ने खाना १ दिनमै खाएर ठूलो क्षति गर्ने गर्दछन।
आफ्नो बारीमा सलह आएमा किसानद्वारा तत्काल गर्न सकिने काम: १. तत्काल आफ्नो बालीमा विषादी छर्कने २. खेतमा थाल , ड्रम वा ठूलो आवाजमा गीत बजाउने ३. धानको रोप्न बाँकी रहेका बेर्नालाई बचाउनका लागि झुलको व्यवस्था गर्ने
सलहको व्यवस्थापन
१. हुललाई तितरबितर पार्न आगो बाल्ने वा धुवाँ गराउने २. प्राकृतिक सिकारी जस्तै हाँस, माकुरा, छेपारो को प्रयोग गर्ने ३. कीटनाशकको प्रयोग : मालाथियन ५०% ई.सी ३ मि.ली प्रति लिटर पानी वा क्लोरपाइरिफोस २०% ई. सी १.८८ मि.ली प्रतिलिटर वा डेल्टामेल्थ्रिन २८% ई. सी ०.७५ मि.ली प्रतिलिटर पानीका दरले बनाएको मिश्रण बारीमा छर्ने
नोट: विषादीको प्रयोग पछि सलहहरु खाना वा दानाको रूपमा प्रयोग गर्नु हुँदैन।