Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

सजावटी माछाः गोल्ड फिस – एक जानकारी

krishireview
२०७८ भदौ ५ , शनिबार ०८:०८ मा प्रकाशित | ८५२ पटक पढिएको

परिचय: नेपालमा हाल विभिन्न शहरहरुमा सौखिन मानिसहरुले मनोरन्जनको लागि विभिन्न जातका रंगीन माछाहरु पालन गर्दै आएको पाईन्छ । यी सजावटी माछाहरुलाई सगुनको रुपमा, मानसिक तनाव कम गर्न, मनोवैज्ञानिक उपचारको रुपमा, सवै उमेरका मानिसहरुको मन वहलाउन, आनन्द लिन,मानिसहरु माछा पालनको लागि आकर्षित भएको पाईन्छ । विश्वमा रंगीन माछा पालन व्यवसाय प्रत्येक वर्ष बढ्दै गएको पाईन्छ। रंगीन माछाको व्यवसाय गरी निर्यात गर्ने प्रमुख राष्ट्रहरुमा चीन (हङ्गकङ्ग), मलेशिया, ईन्डोनेसिया, थाईलैण्ड, ताईवान, फिलिपिन्स, श्रीलंका र भारत पर्दछन्। नेपालमा रंगीन माछाहरु सजाउने प्रचलन राणाकाल देखि नै शुरु भएको पाईन्छ । विदेश भ्रमणमा जाँदा देखे अनुसार स्वदेशमा भित्राइ सजाउने कामको थालनी भएता पनि रंगीन माछा स्वदेशमा नै व्यवसायिक उत्पादन भने शुरु भैसकेको छैन । विदेशबाट आयात गरी विक्रि वितरण गर्ने व्यवसायीहरु भने निकै लोकप्रिय हुँदै गएका छन् । काठमाडौ उपत्यकाबाट शुरु भएको यो व्यवसाय हाल अधिराज्यका विभिन्न शहरहरु पोखरा, भैरहवा, विरगंज, विराटनगर, धरान, नारायणगढ, बुटबल, नेपालगंज,धनगढी आदि स्थानहरुमा वैठक कोठा, स्कूल, कलेज, रेष्टुरेन्ट, होटल, बगैंचा पोखरी तथा धार्मिक स्थलहरुमा पालन गरी मनोरन्जनको लागि सजाउने चलन आएको छ । विभिन्न जातका रंगीन माछाहरु मध्ये करीव ८०% जति भारतबाट आउने गरेको र २०% जती अन्य देशहरुबाट आएको पाईन्छ । नेपालमा पाईने २०० भन्दा बढी स्थानीय जातको माछाहरु मध्ये केही माछाका जातहरु सजावटी माछाको रुपमा प्रयोग गर्न सकिने देखिएका छन् । कोलिसा जातको स्थानीय माछालाई कैलाली जिल्लाको घोडाघोडी तालबाट संकलन गरी पालन तथा प्रजननको लागि मत्स्य अनुसन्धान केन्द्र, पोखरामा अध्ययन भैरहेको छ ।

गोल्ड फिस (Goldfish)
साधारण नामः गोल्डफिस
वैज्ञानिक नामः Carassius auratus

गोल्डफिस माछा आकर्षक र विभिन्न आकार प्रकारमा पाईन्छ । यो माछा धेरै पहिले देखि पालन गर्ने प्रचलनमा आएको पाईन्छ तापनि आजकल धेरै मानिसहरुले सबभन्दा बढी मन पराउने र आक्वारीयममा बढी पालीने माछा भएको छ । शुरुमा यो माछाको रंग खैरो पहेलो भएको कोईकार्प,क्रुसियन कार्प परिवारबाट छनौट भएको र बर्णसंकर प्रविधिबाट आजकल विभिन्न प्रकारका रंगहरुमा पाईन्छन् । यसको विकासको क्रम चीनबाट सत्रौ शताब्दि तिरबाट सुनौला/सुन्तला रंगभएको कार्प माछाबाट शुरुआत भएको पाईन्छ । यो माछामा एक पुच्छरको जातहरु कमन गोल्डफिस, शुबनकिन, कमेट बलियो खालका हुन भने दुई पुच्छर भएका गोल्डफिसहरुमा फनटेल, भेलटेल,लायनहेड, ओरण्डा, सिलेष्टियल, पर्लस्केल, पमपन, ववल आई, ब्ल्याक मुर आदि प्रचलनमा आएको छ र यिनीहरु बढी नरम कमलो खालको हुन्छन्। यसको जीवन चक्र १२ बर्षसम्म बाच्न सक्ने र राम्रो वातावरण मिलेमा २० बर्षसम्म पनि बाच्न सक्ने उल्लेख भएको पाईन्छ ।

उत्पतिः एसीयाको दक्षिण चीन ।

अधिकतम साईजः यसको शारीरिक लम्वाई जात अनुसार फरक फरक हुन सक्दछ तापनि १५–२० से.मी.सम्मको पोखरीमा हुन्छ ।

तापक्रमः पानीको तापक्रम १०० सेल्सियस देखी २८० सेल्सियससम्म सहन सक्दछ तापनि २०–२१० सेल्सियससम्म उपयुक्त मानिन्छ । पानीको पि.एच.७.० उपयुक्त हुन्छ । यो माछा चिसो पानीमा भन्दा न्यानो पानीमा बढी पाल्ने गरिएको पाईन्छ । आक्वारियममा माछा पालन गर्दा न्यानो पानी नै उपयुक्त मानिन्छ ।

हेरचाहः गोल्डफिस माछा सरल स्वभाव भएको आक्वारियमको लागि उपयुक्त जातको माछा हो ।आक्वारियम तथा बगैचा पोखरीमा यो माछा पालन गर्ने हो भने हावा पम्प, फिल्टर पम्म वा पानीबगि रहने र कुनै भागमा जलिय विरुवा व्यावस्थपन भएको हुनु पर्दछ । आक्वारियमको पानी फोहर भएमा हप्तामा १ पल्ट २५% पानी हटाएर नया पानी थप गर्नु पर्दछ ।

आहाराः गोल्डफिस माछाले जीवजन्य र प्राणीजन्य वस्तुहरु खाने गर्छ । माछालाई मसिनो कुड्का दानाहरु पनि प्रयोग गर्न सकिन्छ । बजारमा पाईने सुक्खा दानाहरुमा ट्रोपीकल माछा आहारा, टोक्यु वेवी प्यालेट, मसिना दानाहरु खुवाउन सकिन्छ साथै अन्य मसिना किराहरु, माईक्रो दाना, पेलेट दाना पनि आहाराको लागि प्रयोग गर्न सकिन्छ ।

प्रजननः गोल्डफिस माछाको परिपक्कको उमेर १ देखि २ बर्ष सम्ममा हुन्छ । परिपक्क माउहरुमा भालेको गिल कभरमा टियुवरक्लिजका गिर्खाहरु आएको देखिन्छ र पेट थिच्दा विर्य आउँछ भने पोथीको पेट भालेको भन्दा ठुलो वेली आकारको र पेट थिच्दा अण्डा निस्कन्छ । यो माछालाई आक्वारीयम, खुल्ला मुख भएको टैंक तथा सानो बगैचा पोखरी आदिमा प्रजनन गराउन सकिन्छ । प्रजनन गराउने स्थानमा नरीवलको जटा, नाईलनको धागोबाट काकावान बनाएर पिंध तथा चारैतिर अण्डा टासिन सक्ने गरी पानीको सतह भन्दा तल मिलाएर राख्नु पर्दछ । परिपक्क भएको माउहरुलाई १ पोथीलाई २ गोटा भाले एकैसाथ एकै ठाउँमा राख्नु पर्दछ । यो माछालाई प्राकृतिक वा कृतिम हर्मोन प्रयोग गरी दुवै थरी तरीकाले प्रजनन गराउन सकिन्छ । तापनि कमन कार्प माछालाई जस्तै गरी ओभाप्रिम हर्मोन दिएर सजिलो संग प्रजनन गराउन सकिन्छ । अण्डा दिएपछि माउहरुले खान पनि सक्ने भएकोले माउहरु प्रजनन गराएको स्थानबाट हटाउनु पर्दछ ।एकचोटीमा बयस्क पोथीले ५०० गोटा भन्दा बढी अण्डा दिन सक्छ ।

जातहरुः कमन गोल्डफिस, कोमेट, मुर, सुबुनकिन, पर्लस्केल, रायुकिन, लायनहेड, रेडक्याप ओरण्डाा, रन्चु, भेलटेल, फनटेल, बटरफ्लाई, सेलेस्टियल, बबल आई, टेलेस्कोप आई, पमपन आदी जातका प्रचलनमा आएका छन्।

प्रतिक्रिया

goldfish ornamental

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?