Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

विषादी रहित मकै भण्डारण प्रविधि

सुबोध पौडेल
२०७८ असार २३ , बुधबार ०६:०७ मा प्रकाशित | ७३७ पटक पढिएको

बोरा, भकारी, सूली आदिमा मकैको बीउ वा अनाजको भण्डारण गर्ने प्रचलन नेपालमा ज्यादै पहिले देखि नै हुँदै आएको पाइन्छ । यसरी बीउ भण्डारण गदा १२ महिनाभित्रै घुन, पुत्ला ढुसी आदिको कारण बीउको नोक्सान हुने गरेको छ । उपयुक्त बीउ भण्डारण गर्ने प्रविधि नहुँदा वर्षेनी कृषकहरुले खेती गर्ने सयममा गुणस्तरीय बीउको अभाव झेल्दै आइरहेका छन् । पहाडी क्षेत्रमा त भण्डारण गर्ने बेलामा बीउ वा अनाजमा चिस्यान प्रतिशत बढी हुने हुँदा चाडै रोग, कीराको समस्या देखा पर्दछ । उपयुक्त भण्डारण भाडाहरुको अभावका कारण वर्षेनी करिब १५-२०% सम्म बीउ अनाज नोक्सान हुने गरेको अनुसन्धानले देखाएको छ। यसरी भण्डारणमा हुने क्षति न्यूनिकरणको लागि सुपर ग्रेन व्याग र बिना विषादी बीउ तथा अनाज भण्डारण व्याग (PICS bag) को प्रयोग उत्तम विकल्प हुन आएको छ । यो हाल नेपालको बजारमा विभिन्न कम्पनी मार्फत उपलब्ध हुँदै आएको छ । तीन वर्षको अनुसन्धान परिक्षणबाट यी व्यागहरुले बीउ भण्डारणमा ६ महिनासम्म घुन पुत्लाबाट पुर्णरुपमा जोगाएको र गुणस्तर तथा उमारशक्तिमा पनि राम्रो नतिजा पाइएकोले यी व्यागहरु बीउ तथा अन्न भण्डारणमा ज्यादै उपयोगी देखिएका छन् । यी व्यागहरुमा कुनै किसिमको रासायनिक विषादी प्रयोग गरी रहनु पर्दैन । यस्ता सुरक्षित व्यागहरुलाई दुर्गम बस्तीका कृषक माझ पुर्याउन सके हाल देखिएको बीउ भण्डारणको समस्या सजिलै हल हुन सक्दछ । यी ब्यागहरुको प्रयोग विधि तल दिइएको छ।

सुपर ग्रेन व्याग (Super grain bag)

सुपर ग्रेन व्याग अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (IRRI) फिलिपिन्सले बजारमा ल्याएको एक प्रकारका प्लाष्टिकको थैला हो । यसमा बीउ अथवा अनाज भण्डारण गर्दा यसको भित्र अक्सिजनको मात्रा कम हुन गई कार्बनडाइअक्साइडको मात्रा बढ्न जान्छ र बीउ वा अनाजमा भएको कीरा वा ढुसीको संकाणु अक्सिजनको कमीका कारण बाँच्न सक्दैनन् । यो ब्याग बजारमा विभिन्न क्षमतामा उपलब्ध छन् ।

पिआईसीएस ब्याग PICS bag)

अमेरीकाको पोर्डुयु विश्वविद्यालयबाट प्रमाणित Purdue Improved Crop Storage (PICS) Bag साना तथा ठूला सबै किसिमका किसान दाजुभाइहरु, व्यापारीहरु र दैनिक प्रयोजनका लागि बीउ तथा खाद्यन्नलाई विना विषादी सुरक्षित भण्डारण गर्ने उपयुक्त सरल प्रविधि हो । यो ब्यागमा ३ वटा प्लाष्टिक तह हुन्छ जसले गर्दा प्वाल पर्ने सम्भावना सुपर ग्रेन व्यागको भन्दा कम हुन्छ । कुनै पनि जीवित वस्तुलाई श्वासप्रश्वासको लागि अक्सिजन चाहिन्छ । यो व्यागमा बीउ तथा खाद्यन्नलाई हावा नछिर्ने गरी बाध्ने वित्तिकै यदि कीरा लागेको बीउ तथा अनाज हो भने पनि अक्सिजनको मात्रा कमी भई त्यसमा भएका कीरा मर्न थाल्छन् । यदि संक्रमिक होइन भने कुनै प्रकारको कीरा नै लाग्न दिँदैन । यो व्याग नेपालमा NAF Seed कम्पनीले बजारमा ल्याएको छ । दुवै खाले व्यागको प्रयोग विधि समान छ ।

प्रयोग विधि

पहिला सुपर ग्रेन व्याग वा PICS bag लाई कहीं प्वाल छ की छैन भनि जाँच गरी सकेपछि यदि प्लाष्टिक थैला बाहिरी बोरामा पहिले नै जोडेर आएको छ भने केही गर्नु पर्दैन तर प्लाष्टिक मात्र हो भने अर्को जुटको वा प्लाष्टिकको बोरामा टम्म मिल्ने गरी राख्नु पर्दछ।

बीउ वा अनाज राम्ररी सुकाई करिब १२-१३% सम्म चिस्यान रहने गरी सुकाउनु पर्दछ । यसरी सुकेको बीउ वा अनाजलाई शितलमा राखी सेलाउने र आवश्यक मात्रामा प्लाष्टिकमा बीउ वा अनाजलाई खन्याउने । PICS व्यागको हकमा बीउ वा अनाज राख्दा प्लाष्टिक तह बीचमा बीउ अनाज पर्नु हुँदैन । बीउ वा अनाज राखिसकेपछि भित्र भएको हावालाई विस्तारै दुबै हातको सहायताले बाहिर निकाल्ने ।

पूर्ण रुपमा हावा बाहिर निकालेपछि प्लाष्टिकको मुखलाई २ ठाउंमा चित्रमा देखाए जसरी बाध्ने । यसो गर्दा बोरामा अक्सिजनको मात्र घट्दै जान्छ र कार्बनडाइअक्साइडको मात्रा बढ्न गई कीराहरू मर्दछन् ।

प्लाष्टिक च्यातिएमा वा प्वाल परेमा यस भित्र हावा छिर्न जान्छ जसले गर्दा भित्रको कीरालाई अक्सिजन उपलब्ध हुन जान्छ र मर्दैन, त्यसैले प्लाष्टिक प्रयोग गर्दा प्वाल नपरोस भनि होसियारी अपनाउनु पर्दछ । यी व्यागहरु पहिलो प्रयोग पछि राम्रोसंग राखेर आवश्यकता अनुसार पटक पटक प्रयोग गरी खाद्य तथा बीउ सुरक्षित गर्न सकिन्छ ।

कोकुन

यो एक प्रकारको त्रिपाल हो र यी कोकन धेरै मात्रामा बीज/अनाज भण्डारण गर्नको लागि प्रयोग गर्न सकिन्छ यो बजारमा एक टनदेखि २० टनसम्म क्षमतामा पाईन्छ । यसलाई खुला चौरमा राखेर पनि भण्डारण गर्न सकिन्छ ।

प्रतिक्रिया

maize storage
यो पनि हेर्नुहोस् : Community based seed production of maize in Nepal

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?