विशाल भट्टराई /राजु खत्री
बर्दिबास-बोटबिरूवाको बृध्दि र विकासका लागि १६ प्रकारका बिभिन्न तत्वहरूको आवश्यकता पर्दछ । नेपालमा लगाइने बालीनाली विशेषगरी अन्नबालीमा नाइट्रोजन, फस्फाेरस र पोटासको परिपूर्तिका लागि गाेबरमलका अतिरिक्त युरिया, डी.ए.पी. र पोटासको प्रयोग गर्ने चलन छ । यस मलखादको अत्याधिक प्रयोगले माटो र वातावरणमा नकारात्मक असर पार्ने र कम प्रयोगले उत्पादनमा कमी आउने हुनाले यसलाई व्यवस्थित गर्ने विभिन्न प्रयासहरू गरिएको पाइन्छन्, जसमध्ये लिफ कलर चार्ट (Leaf Color Chart) अर्थात एल.सी.सी. (L.C.C.) पनि एक हो ।
लिफ कलर चार्टको प्रयोग र विकास सर्बप्रथम अन्तरास्ट्रीय धान अध्य्यन संस्थान (International Rice Research Institute, IRRI) र फिलिपिन्स धान अध्ययन संस्थानको सहकार्यमा भएको हो। छिटो छरितो, सहज प्रयोग प्रबिधि, सस्तो एबम भरपर्दो र बैज्ञानिक अध्ययनले बिकास गरेको लिफ कलर चार्टले किसानलाई धानको बिकास अवस्था र पातको रंग हेरेर बिरुवाको अवस्था अनुरुप बिरुवामा हालिनुपर्ने युरिया मलको उचित मात्राबारे समेत जानकारी दिन मद्दत गर्दछ।
बिरुवालाई आवश्यक नाइट्रोजन पुर्याउनका लागि युरिया मलको प्रयोग व्यापक हुने गरेको छ। तर प्रयोग गर्ने सही विधि तथा समय नमिलेको कारण, बढिभन्दा बढि नाइट्रोजन वाफको रुपमा (volatilization), एनएरोबिक ब्याक्टेरियाले डिनाइट्रिफिकेसनको (Denitrification) माध्यमबाट सिधै नाइट्रोजन ग्यासमा परिणत भएर, माटोको तल्लो भागबाट चुहावट(percolation) भएर र पानीसँग घुलिएर (leaching) बाट हराएर जान्छ ।
बाली लगाउने समयमा नै सबै युरिया प्रयोग गरेमा बिरुवालाई अति आवश्यक समय ; गाँज लाग्ने(Active Tillering) र सेरा हाल्ने (Panical initiation stage) बेलामा माटोमा नाइट्रोजन उपलब्ध हुँदैन, त्यसैले युरिया मल ३ भाग लगाएर ; रोप्ने ,गाँज लाग्ने र बाला हाल्ने समयमा split doses मा प्रयोग गरिन्छ ।यसरी प्रयोग गर्दा पनि मलको बढी खपत र कम प्रभावकारिता हुने भएकाले लिफ कलर चार्ट को प्रयोग अझ प्रभावकारी मानिन्छ ।
लिफ कलर चार्टको प्रयोग गरि युरिया प्रयोग गर्दा, सर्वप्रथम कम युरियाको प्रयोग भइ लागत खर्छ कम हुन जान्छ, अत्याधिक मात्रा भएर विभिन्न रोग र ढल्ने समस्याको समाधान स्वत: आउँदछ र बाली राम्रो हुन गई अत्याधिक मात्रामा अन्न उब्जाउन सकिन्छ । यसरी लिफ कलर चार्टको प्रयोग गर्दा सहि समयमा, सहि मात्रामा, सहि ढंगले प्रयोग गरिएको युरियाले कम लागत खर्चमा स्वास्थ बाली उत्पादन गर्न मद्दत गर्नुका साथै हरितगृह ग्याँसको उत्सर्जनमा कमि ल्याउँदछ र वातावरण जोगाउनमा समेत मद्दत गर्दछ।
लिफ कलर चार्ट (Leaf Colour Chart, LCC) एक विशेष प्रकारको रंगिन चार्ट हो , र धानको पातमा जस्तै यस चार्टमा पनि हल्का हरियो(Yellowish Green), देखि बढ्दो क्रममा गाढा हरियो (Dark Green) रंग हुन्छ। लिफ कलर चार्टमा भएको (Yellowish Green Colour) हल्का हरियो रंग , धानको पातसँग दाँज्दा उस्तै देखियो र मिल्न गएमा धानमा नाइट्रोजनको मात्रा ज्यादै कम छ भन्ने बुज्न सकिन्छ भने (Dark Green) गाढा हरियो रंगले धानमा नाइट्रोजन पर्याप्त मात्रामा रहेको छ भन्ने बुझिन्छ र थप युरियाको प्रयोग गर्न नपर्ने जनाउँछ। ४ वा ६ वटा रङका पाटा भएका लिफ कलर चार्टमा पहिलो पाटामा हल्का हरियो(Yellowish Green) र चौथो वा छैठो पाटामा गाढा हरियो (Dark Green) रङ्ग हुन्छन् , २-५ पाटामा बढ्दो क्रममा गाढा रंग फैलिएको हुन्छ।
प्रयोग गर्ने तरीका ;
१.नाप लिनका लागि बिरुवा छान्ने
२.पातसङ पाता मिलाउने
३.लिफ कलर (पातको रङ) को नाप लिने
४.एल.सि.सि.को औसत नाप पत्ता लगाउने
प्रयोग गर्दा ख्याल गर्नुपर्ने केही बुँदाहरु:
विभिन्न संबेदनसिल मापन(critical value) अनुसार सिफारिस गरिएको युरिया (नाइट्रोजन) को मात्रा यस प्रकार रहेको छ:
१) सिंचित क्षेत्रको वर्षे धानको पात मापन गर्दा यदि संबेदनसिल मापन (critical value) ४ अथवा सो भन्दा कम आएमा ६१ किलो युरिया (२८ केजी नाइट्रोजन) प्रती हेक्टरका दरले प्रयोग गर्ने।
२) सिंचित क्षेत्रको छरुवा धानको पात मापन गर्दा यदि संबेदनसिल मापन ३ अथवा सो भन्दा कम आएमा ५० किलो युरिया (२३ केजी नाइट्रोजन) प्रती हेक्टरका दरले प्रयोग गर्ने।
३)हिउँदे धानको पात मापन गर्दा यदि संबेदनसिल मापन ४ अथवा सो भन्दा कम आएमा ७६ किलो युरिया (३५ केजी नाइट्रोजन) प्रती हेक्टरका दरले प्रयोग गर्ने।
बजारमा युरियाको चरम अभाव भएको कुरा हामी सबैलाई अवगत नै छ। उपलब्ध भएको ठाउँमा समेत उचित मात्रामा र सन्तुलित ढंगका साथ साथै बालीको आवश्यकता अनुरुप प्रयोग नगर्नाले युरियाबाट प्राप्त हुने ४०-६०% नाइट्रोजन क्षती भैरहेको पाइन्छ । जसले गर्दा किसानले जनतन गरेर हलेको युरियाले समेत चाहे अनुरुपको नतिजामा दिएको पाइदैन । दुःखको कुरा अझै पनि LCC प्रयोग केवल अनुसन्धान केन्द्रमा मात्र सिमित रहेको पाइन्छन् ।किसानको कुरै छाडौं अधिकांश कृषि विशेषज्ञ समेत यसको प्रयोग बारे जानकारमा छैनन त्यसैले युरियाबाट उपलब्ध हुने नाइट्रोजनको आर्थिक रुपमा लाभ लिन र बालीमा (भोक अनुरुपको खाना ) प्रणाली लागु गर्नु अहिलेको आवश्यकता हो। त्यसैले विभिन्न कृषि निकाय, कृषि बिश्व बिद्यालयहरुले अनुसन्धान गरि धानका जात अनुसार लिफ कलर चार्टको प्रयोग सम्बन्धी प्राबिधिक ज्ञान प्रत्येक किसान माझ पुर्याउनु जरुरी देखिन्छ।
(यो लेख लिबर्ड सस्थाको लेखको सहयोग,अन्तर्राष्ट्रिय धान अध्ययन सस्थाको ज्ञान कोश,विभिन्न खोज पत्रपत्रीकालाई आधारित मानेर बिशाल भट्टराई प्राकृतिक स्रोत ब्याबस्थापन कलेज पुरुन्चौर चौथो सेमिस्टरमा अध्यायनरत बिध्यार्थी र कृषिरिभ्यु टिमको सहकार्यतामा तयार गरिएको हो।)