Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

लम्पी स्किन डिजिज ( Lumpy Skin Disease )

krishireview
२०७७ भदौ १ , सोमबार ०७:०८ मा प्रकाशित | २०८७ पटक पढिएको

मोरङ- हाल नेपालमा पहिलोपटक केही स्थानहरु विशेष गरि झापा , मोरङ्ग , चितवन , र रौतहट जिल्लाका गाईहरुमा नयाँ प्रकारको रोग देखापरेको छ र यो रोग अन्य स्थानहरुमा पनि फैलिने क्रम जारी छ । यस रोगलाई लम्पी स्किन डिजिज Lumpy Skin Disease ) भनेर यकिन गरिसकिएको छ । यो रोग पशुहरुबाट मानिसमा हालसम्म सरेको भेटिएको छैन ।

यो रोग एक विषाणु ( Virus ) जन्य रोग हो । लामखुट्टे , किर्ना र भुसुना जस्ता कीराहरुले यो रोगको विषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । यसको अलावा रोगी पशुहरुको सिंगान , दूध , र घाउबाट निस्केको पीप , रगत , जस्ता जैविक रसहरुको प्रत्यक्ष संसर्गबाट पनि यो रोग सर्न सक्छ ।

यो रोगका लक्षणहरु साधारण र हल्का रुपका देखि निकै कडा खालको पनि देखिन सक्छ । साना पशुहरुमा यो रोग कडारुपमा लाग्दछ भने वयस्क पशुहरुमा लक्षणहरु देखिन सक्छन । रोगी तस्विर सौजन्यः सागर पौडेल , रामपुर पशुहरुमा ज्वरो १०४-१०५ डिग्री फरेनहाईट आउने , अरुचि हुने र झोकाउने लक्षण देखिन्छ । त्यसको २-३ दिनमा पशुको शरीरभरि नै , छालामा गिर्खा र गाँठाहरू देखिन शुरू गर्छ । यस्ता गिर्खा र गाँठाहरूमा पिप जम्मा भई यो घाउमा परिणत हुन्छ र यसमा जिवाणुजन्य संक्रमण भई समस्या झन् बढ्दै जान्छ । बिस्तारै शरीरका भित्री अङ्गहरु जस्तै फोक्सो ,पेट , श्वासनलीमा पनि यस्ता गिर्खा र गाँठाहरू बढ्न गई निमोनिया हुन्छ । खुट्टा र शरीरको तल्लो भागमा भएका यस्ता संक्रमणले गर्दा पशुहरू हिड्न नसक्ने भई बसिरहने ( Downer ) हुनसक्छ जसले गर्दा समस्या झनै विकराल बन्दै जान्छ । थुन र कल्चौडोमा भएका यस्ता गिर्खा र गाँठाहरुमा जिवाणुजन्य संक्रमण हुन गएमा थुनेलो हुने देखि थुन नै झर्ने सम्म हुनसक्छ । कुनै पशुहरुमा गर्भ तुहिने , पाठेघरमा समस्या देखिने र गर्भ नअडिने समस्या पनि देखिनुका साथै बाँझोपन पनि हुन्छ ।

यो रोगको हाल कुनै उपचार नभएकाले आफ्ना पशुहरुलाई नियमित रुपमा बिषेश गरि छालामा हुने गिर्खा र गाँठाहरुको निगरानी गर्नुहोस् । किनेर ल्याईएका नयाँ पशुहरुलाई तीन हप्तासम्म छुट्टै क्वारन्टिनमा राखेर मात्र आफ्नो गोठमा हुल्नुहोस् । पशुहरुलाई टोक्ने कीराहरु जस्तै- लामखुट्टे , किर्ना र भुसुनाहरुबाट सुरक्षित राखका लागि सम्भव हुने सम्मका उपायहरु अपनाउनुहोस् । रोगी पशुहरुलाई आवतजावत नगराउनुहोस् , यसले रोग फैलिने क्रम अझ बढ्छ ।
यदि पशुहरुमा रोग देखा परेमा पशु चिकित्सक वा प्राविधिकलाई सम्पर्क गरि लक्षण अनुसारको उपचार गरि जिम्मेवार निकायहरुलाई यो रोगबारे जानकारी गराउनुहोस् । रोगी पशुहरुलाइ राम्रो हेरविचार गरि संतुलित पौष्टिक आहारा खुवाई सेकेण्डरी ब्याक्टेरियल ईन्फेक्सनहरुबाट जोगाउन ३-४ दिनसम्म एन्टिबायोटिकले उपचार गरेमा पशु निको हुने सम्भावना बढि हुन्छ ।

यो रोग नेपालमा पहिलोपटक देखिएको र यसको उपचार पनि नभएकाले जैविक सुरक्षा र सावधानी अपनाउनु नै यसबाट पशुहरुलाई जोगाउने प्रमुख उपाय हो । अन्य देशहरुमा यसको खोप उपलब्ध भएता पनि नेपालमा हालसम्म खोप ल्याईएको छैन ।

प्रतिक्रिया

लम्पी स्किन डिजिज

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?