असारको वर्षाले चैते धान लगाएका बारा र पर्साका किसान मारमा परेका छन् । लगातार परेको पानीले किसानलाई धान भित्र्याउन समस्या मात्र परेको छैन्, खेतमै धान भिजेकाले किसानले त्यसको उचित मूल्यसमेत पाउन सकेका छैनन् ।
गएको वर्ष चैते धानबालीले राम्रै उत्पादन दिएपछि हौसिएर यस वर्ष पनि चैते धान खेती गरेकी पर्सा बागवानाकी किसान मिरा तामाङ निकै समस्यामा परेकि छन् । बाली भित्र्याउने बेला असारमा परेको लगातारको पानीले धान बालीमा क्षति पुर्याएपछि यिनी समस्यामा परेकी हुन् ।
असारको दोश्रो सातादेखि तराईमा लगातार परेको पानीले पर्सा कोइलाभारका किसान भुपाल गिरीलाई पनि निकै समस्यामा पारेको छ । खेतमा लगाएको धानबाली पाकेर भित्र्याउने बेलामा परेको पानीले खेतको धान खेत मै कुहिएकाले यिनले मेशिन लगाएर केही धान भित्र्याउन सफल भए पनि भिजेको धानले राम्रो मूल्य नपाएपछि यस वर्षको लगानी समेत उठाउन समस्या परेको छ ।
मिरा र भुपालको जस्तै समस्या चैते धान लगाएका बारा र पर्साका किसानको छ । लगातारको पानीले प्रायः किसानको धानबालीमा क्षति पुर्याएको छ । बारामा झण्डै पाँच हजार हेक्टर र पर्सामा ३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा किसानले चैते धानबाली लगाउने गरेका छन् । कुलो, नहर वा भूमिगत सिँचाइको सुविधा भएको सिाचित क्षेत्रमा आफ्नो जग्गा भएको बारा र पर्साका किसानले हरेक वर्ष चैते धानबाली लगाउने गरेका छन् । पानी नपर्दा अनेक रोगको प्रकोपले बालीमा नोक्सानी झेल्दैआएका किसानलाई यस वर्ष भने बाली भित्र्याउने बेला लगातार परेको पानीले नै समस्यामा पारेको छ ।
स्रोत ;कान्तिपुर टिभि