Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

राष्ट्रिय जिन बैंक: सयौ वर्षसम्म बीउहरू संरक्षण गर्न सकिने प्रविधि

सुबोध पौडेल
२०७८ साउन ६ , बुधबार ०८:०७ मा प्रकाशित | १२३० पटक पढिएको

कृषि तथा विज्ञानको विकाससँगै कृषि बालीका स्थानीय जातहरु हराउँदै गएका छन्। हाम्रा पुर्खाले लगाउँदै आएका धेरै स्थानीय जातहरु लोप भैसकेको अवस्था छ । कृषि बालीका आनुवांशिक स्रोतहरु जसले कृषि जैविक विविधता भनिन्छ, जातीय विकास तथा दिगो कृषि विकासको लागि अपरिहार्य छन्।

नेपालमा तराई देखि हिमालसम्म करिब २०० किसिमका कृषि वनस्पतिहरुको प्रजाति ३०,००० हजार जति स्थानीय जातहरुको खेती गरेको पाइन्छ । उक्त जातहरुको बीउ सामान्यता एक वर्ष भन्दा बढी संरक्षण गर्न सकिन्न कृषि बालीका सबै जातहरु सयौ वर्षसम्म संरक्षण गरी अनुसन्धानकर्ता तथा भावीपिढीको लागि उपलब्ध गराउने उद्देश्यले वि.सं. २०६७ सालमा खुमलटारमा राष्ट्रिय जिन बैंक, जसलाई (राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र) स्थापना भएको छ। उक्त जिन बैंकले नेपालको कृषि जैविक विविधताको संरक्षण गर्नुको साथै अन्तराष्ट्रिय जैविक विविधतामा पहुँच पुर्याउन सहयोग गरी रहेको छ। जातहरुको संरक्षण संगसंगै उक्त जातहरुको पासपोर्ट, चरित्र चित्रण तथा मूल्यांकन गरि आँकडाहरुको व्यवस्था गर्दै आएको छ ।

संरक्षण प्रविधि

राष्ट्रिय जिन बैंकले सम्पूर्ण कृषि बालीका जातहरु संरक्षण गर्नको लागि पाँच किसिमको उप-बैंकहरु कार्यान्वयनमा ल्याएको छ ।

बीउ बैंक

बीउ सुकाउन सकिने बालीका बीउहरु जस्तै (धान, तोरी) मध्यमकालिन र दीर्घकालिन संरक्षण कक्षहरुमा राखिन्छ जसलाई बीउ बैंक भनिन्छ । यसको लागि प्रयोग गरिने दीर्घकालिन कक्ष -२० डिग्री सेल्सियस अति चिसो तापक्रमको छ जसमा बीउ राखे पछि १०० वर्षसम्म जीवित रहिरहन्छ । मध्यमकालिन कक्षमा करिब -१० डिग्री सेल्सियस तापक्रमको व्यवस्था गरिएको हुन्छ र उक्त कक्षमा बीउ १५ वर्षसम्म राख्न सकिन्छ ।

फिल्ड जिनबैंक

बीउ सुकाउन नसकिने जस्तै आप, कफी र बीउ नै उत्पादन नहुने जस्तै केरा, आलुलाई उपलब्ध स्थानमा नै संरक्षण गरी राखिने प्रणाली फिल्ड जिनबैंक हो। नेपाल कृषि अनुसन्धान परिषद्को विभिन्न केन्द्रहरुमा फिल्ड जिनबैंक संगसगै बाली विशेष पार्क जस्तै उखु पार्क, आलु पार्क आदिको स्थापना गरी संरक्षण कार्य शुरू गरिएको छ।

तन्तु बैंक

रोग कीरा रहित टेस्ट ट्युबमा विभिन्न बालीका बेर्नाहरु कोठा भित्र राखेर संरक्षण गरिन्छ । बीउ नै उत्पादन नहुने तथा बीउ सुकाएर राख्न नसकिने वनस्पतिमा जातहरुलाई यस्ता बैंकमा राखिएको छ ।

डी एन ए बैंक

विभिन्न बालीका डी एन ए (-४० डिग्री सेल्सियस) फ्रिजमा राखिएको हुन्छ । उक्त डी.एन.ए. को नमूना अनुसन्धान गर्न तथा डी.एन.ए फिंगर प्रिन्ट गर्न प्रयोग गरिन्छ ।

सामुदायिक बीउ बैंक र सामुदायिक फिल्ड जिन बैंक

खेती स्थलीय संरक्षण अन्तर्गत विभिन्न ठाउँहरुमा कृषकहरुको अगुवाइमा कृषककै स्थानमा विभिन्न लाभदायक वनस्पतिहरुका जातहरु संरक्षणमा सहयोग गरी कृषकहरुको सहज पहुंचको सुनिश्चित गरिएको हुन्छ ।

राष्ट्रिय जिन बैंकमा संरक्षण गरी राखिएको जातहरु सदाको लागि र सबैको लागि भनेर व्यवस्था गरिएको छ । माथि उल्लेखित बैंकहरुमा जोसान वा संस्थाले दिएको हो उसको नाम, ठेगाना आदि पनि राखिने हुदा जो कोहिले पछिसम्म उक्त जात पाउन सक्छन् । आफूसँग भएको जातहरु संरक्षण गरी देशकै खाद्य सुरक्षा तथा भावी पिढीलाई उपलब्ध गराउन सकिन्छ ।

प्रतिक्रिया

#genebank

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?