बेलबारी।मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाट ल्याएर किसानलाई वितरण गरेको बोयर जातका बाख्राको नश्लमाथि प्रश्न उठेपछि नगरपालिकामाथि अनियमितताको आरोप लागेको छ । कोरोना कहरकाबीच नगरपालिकाले कृषक समूह तथा व्यावसायिक फर्महरुलाई बाख्राका पाठापाठी वितरण गरेको भोलिपल्टै बोयर जातको नभएको पाइएपछि बाख्रापालक किसान निराससँगै आक्रोसितबनेका छन् भने नगरपालिकाले गरेको यस कामको छानबिन गर्नुपर्ने आवाज उठेको छ ।
अष्ट्रेलियाबाट ल्याइएका भनिएका बोयर जातका बाख्रा लिएपछि उत्साहित देखिएका यी किसानको खुसी एक दिन पनि बित्न पाएन । नगरपालिकाले किसानका लागि यसै साता बितरण गरेको ५२ वटा पाठी र ३८ वटा बोका बोयर जातको नभएको खुलेको हो । नगरपालिकाले २०७७ चैत्र ११ गते विद्युतीय खरिद प्रक्रियाबाट बोयर जातको बाख्रा ल्याउन प्रस्ताव आव्हान गरेको थियो । सोही प्रस्तावअनुसार परेका निवेदनमध्ये संखुवासभाको ग्रो आर्गानिक प्रालि छानिएपछि जेठ ३ गते नगरपालिका र सो कम्पनीबिच सम्झौता भएको थियो । एक करोड २५ लाख मूल्यमा अष्ट्रेलियाबाट ल्याएर पाठापाठी वितरण गरिएको भनिए पनि ती बोयर जातका नभएको र पश्चिम नेपालको बिभिन्न जिल्लाबाट संकलन गरेर ल्याएको आशंका गरी सप्लाइ गर्ने र्फमले बदमासी गरेको भनेर जनप्रतिनिधि पानीमाथिको ओभानो बन्न खोजेका छन् ।
अनुदानमा दिएका बाख्रा बिक्री गर्न नपाउने शर्त राखेर विभिन्न र्फमलाई वितरण गरिएको थियो । तिनै बाख्राका पाठापाठीबाट उत्पादन बढाउने लक्ष्यलिएर नगरपालिकाले बोयर बाख्राका पाठापाठी अनुदानमा दिनका लागि कार्यविधि नै बनाएको थियो । निषेधाज्ञाको समयमा भीडभाड बढ्ने भएकाले नगरपालिकाले तत्कालै समूह तथा र्फममा लगेर बाखा्रका पाठापाठी बितरण गरेको थियो ।