Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

बेसार खेती-भान्साको ओखती!

krishireview
२०७७ असार १२ , शुक्रबार ०४:०६ मा प्रकाशित | २२०४ पटक पढिएको

परिचय;
बेसार जिन्जिबेरसी (Zingiberaceae)  परिवारको एक कन्दमूल हो। यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’  हो। यो वाली मुख्यतया मसलावालीको रुपमा चिनिने भएता पनि यसको गानो र धुलो औषधिको रुपमा तथा कपडा, टायलहरुमा रंगाउने कामको लागि पनि प्रयोग हुने गर्दछ । थोरै मात्रामा भएपनि दैनिक रुपमा अत्यावश्यक पर्ने वेसारको धार्मिक उत्सव वा पुजापाठ आदिमा पनि उक्तिकै महत्व रहेको पाईन्छ । यसको गानोलाई हलेदो भनिन्छ भने पाउडरलाई वेसार भनिन्छ ।नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ। विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ।बेसार्मा पाईने प्रमुख तत्व कुरकुमिन, एक प्रकारको रङ हो। बेसार्को गानोमा सरदर १.८ देखी ५.४% कुरकुमिन पाईन्छ। भारत, पाकिस्तान, हाईटी जमाइका, चाइना र पेरु बेसारका प्रमुख उत्पादक देश हुन।

जात;
नेपालको स्थान विशेषको आधारमा केहि खास गुण भएका स्थानिय जातहरुको खेति गरिने भएता पनि अनुसन्धानका क्रममा रहेका CI (९८०१), CI (९८०३), CI (९८०४), CI (०२०९) जातहरु
उत्पादन तथा गुणस्तरका दृष्टिकोणले उत्कृष्ट पाईएका छन् जसमध्ये CI (१८०१) जात उन्मोचनको अन्तिम प्रकृयामा रहेको छ । CI (१८०१) (कपुरकोट हलेदो १) को।

बेसारको उन्नत जातहरु ;
बेसारको उन्नत जातहरुमा सि.आ–१, सगुन, सुवर्ण आदी ।

हावापानी र माटो ;
बेसार मुख्यतया उस्ण हावापानिमा हुने बाली हो र समुन्द्र सतह देखी करीब १२०० मिटर उचाई सम्म यसको खेती गर्न सकिन्छ। यसको खेती सिंचित एवं असिंचित हल्का कालो देखी दोमट र रातो माटोमा गर्न सकिने भए पनि पानी नजम्ने बलौटो दोमट माटो यसको लागि उपयुक्त हुन्छ। पि एच ५.५ देखी ६.५ उपयुक्त हुने यस बालीलाई तुसारोले खासै असर गर्दैन।

जग्गाको तयारी;
चैत्र बैशाख तिर पानी परीसकेपछी खनजोत गरी बेसार लगाउन सकिन्छ। लगाउदा हलोले स्थानिय हलोले कुलेसोमा १५-२० सेमिको फरकमा बिउ राखिन्छ। सामान्तया १ रोपनी जग्गको लागि कारीब १२० केजी बिउ आबश्यक्ता पर्दछ।

बिउ छनोट ;
बिउ छनोट गर्दा कम्तिमा दुईवटा उम्रने मुन भएको ३०-५० ग्रामको बिउ छान्नु पर्दछ। यसरी छनिएको बिउलाई २५ ग्राम म्यन्कोजेब र १० ग्राम कार्बोन्डाजिम १० लिटर पानीमा घोली त्यसमा आधा घण्टासम्म डुबाउने र त्यसपछी छाँयामा सुकाएर रोप्नु पर्दछ।

मलखादको प्रयोग ;
अधिक मल चाहिने यसबालीलाई प्रसस्त प्राङगारिक मलको साथइ रसायनिक मलको पनि आबश्यक्ता पर्दछ। सामान्यतया १ रोपनी जग्गामा ५०-६० डोको (१५००) केजी राम्ररी पाकेको गोबरमा राख्नु पर्दछ। यसको अलबा जग्गा तयारीको क्रममा ८ केजी डिएपी, ३ केजी युरिया तथा ४ केजी म्युरेट अफ पोटास प्रती रोपनी हाल्नु पर्दछ। २.५ केजी युरिया रोपेको ३ महिनापछी गोडमेल गर्ने बेलामा टपड्रेस गर्नु पर्दछ।

बेसार खेतीको लागी मलखानको मात्रा कति हो ?
२०० के.जी. निमको पात
२५ के.जी. नाइट्रोजन
६० के.जी. फसफोरस
६० के.जी. पोटास प्रति रोपनीका दरले दिनु पर्छ ।

लगाउने दुरी ;
बिरुवा देखी बिरुवा २५ सेमी, हार देखी हार बिचमा ३० सेमी

छापो हाल्ने ;
माटोको चिश्यान जोगाई राख्न चाडै सड्ने पातहरु बेसारको रोपाई पछी पूर्णरुपले माटो ढाकिने गरी ४-६ सेमी बाक्लो गरी हाल्नु पर्दछ।

सिंचाई तथा गोडमेल ;
बेसारलाई माटो र मौसम अनुसार १०-१२ पटक सम्म सिंचाई गर्नुपर्दछ। झारको मात्रा अनुसार बेलाबेलामा गोडमेल एवं माटो खुकुलो पार्ने काम गर्नुपर्दछ।

बाली लिने ;
लगाएको करीब ९ महिनामा बाली लिन सकिन्छ। प्रती रोपनी २-२.५ मेट काँचो बेसारको उत्पादन लिन सकिन्छ।

बाली संरक्षण-
रोगहरु;
बेसारमा विभिन्न किसिमका रोगहरुले आक्रमण गर्ने भएतापनि नेपालमा मुख्य गरि पातको खटिरा (Leaf spot), खैरो थोप्ले/डढुवा रोग (Leaf blotch), गानो कुहिने (Rhizome rot) रोगहरुले आक्रमण गरेको पाईन्छ यसको रोथामका लागि लक्षण देखिनु भन्दा पहिले श्रावणको पहिलो हप्तामा १.० ٪ बोर्डेक्स मिश्रण वा २ ٪ क्याप्टान, जिनेव अथवा डाईथेन जेड ७८ (०.२ ٪ — ०.३٪ ) १५ दिनको फरमा छर्कनु पर्दछ । यसका साथै रोगमुक्त क्षेत्रको स्वस्थ विउ मात्र प्रयोग गर्ने र बिउ उपचार गरेर मात्र प्रयोग गर्नु पर्ने र रोगी बोटहरु र संक्रमित पातहरुलाई जम्मा गरी जलाउनु पर्दछ ।

किराहरु;
नेपालको सन्दर्भमा हेर्दा कुनैपनि किराले ठुलो मात्रामा आर्थिक क्षती गरेको नपाईएको भएता पनि डाठको गवारो, पात बेरुवा किरा, कत्ले किरा आदिले आक्रमण गर्ने गरेको पाईएको छ । यसको व्यवस्थापनको लागि मालाथिएन, रोगर अथवा डेसिसको ०.१٪ प्रतिशत घोलले किराको आक्रमण हेरी २१ दिनको फरकमा छर्न सकिन्छ ।

प्रशोधन;

विशेष गरेर बेसारलाई धुलो बनाई मसलाको रुपमा प्रयोग गरिन्छ । धुलो बेसार बनाउने प्रविधि ठाँउ अनुसार फरक फरक हुन्छ, सामान्यतया बेसारको प्रशोधन गर्दा निम्न कुराहरुमा ध्यान पुर्याउनु पर्दछ :

बारीवाट खनेर ल्याईएका गानावाट पुराना तथा नयाँ गाना छुट्याई छुट्टा छुट्टै प्रशोधन गर्नु पर्दछ ।

हलेदोका गानाहरुवाट जराहरु हटाई पानीले राम्रोसंग धोई चक्कुको सहायताले स-साना टुक्राहरुमा छुट्याएर चाना बनाई सुकाउने सुकिसकेपछि उपलब्ध साधनमापिसी मसिनोधुलो वनाई भण्डारण गर्नुपर्दछ ।

अथवा, गानाहरुलाई तामा वा माटोको भाडामा पानीले डुब्ने गरी राखी उमाल्ने, जबसम्म सेतो वाफ र विशेष किसिमको गन्ध आउदैन तवसम्म उमाल्नु पर्दछ । सामान्यतया ४० — ६० मिनेट उमालेपछि यो नरम हुन्छ र यसलाई पानीवाट निकाल्नु पर्छ । यसरी बनाएका बेसारका चानाहरुलाई करीव १२— १५ दिन सम्म घाममा सुकाउनु पर्दछ, सुकेको बेसार भाच्दा धातुको जस्तो आवाज आउनु पर्दछ ।

चानामा चिस्यानको मात्रा १० ٪ भन्दा कम भएपछि यसलाई पिँधेर धुलो बनाउने काम गर्नुपर्दछ । बेसारमा राम्रो रङ्ग ल्याउनको लागि यसलाई २० ग्राम सोडियम बाइसल्फाइड र २० ग्राम हाइड्रोक्लोरिक एसिड प्रति ४४ के.जी. गानो पानीमा राखी उमाल्ने गरिन्छ ।

सामान्यतया कांचो वेसारवाट १५—२० प्रतिशत प्रशोधित बेसार पाउन सकिन्छ, र यसमा ५— ६ ٪ तेल हुन्छ । बेसारको धुलोको सुरक्षित भण्डारण गर्न सकिएन भने त्यसको पौष्टिकता र गुणस्तरमा ह्रास हुन जाने हुदा धुलो बेसारको उचित भण्डारण प्रक्रियामा ध्यान पुर्याउनु जरुरी हुन्छ । बेसारको धुलोलाई सामान्यतया माटोको भाडाहरु जस्तै भुर्कि, घैटा तथा प्लाष्टिकमा राखी भण्डारण गर्न सकिने भएता पनि प्लाष्टिक राख्दा चप्किएर
बिग्रन सक्ने हुदा माटाका भाडाहरुमा भण्डारण गर्नु उपयुक्त मानिन्छ ।

भण्डारण;
बेसारमा चिस्यानको मात्रा धेरै हुने हुँदा सुुरक्षित भण्डारण गर्नु अत्यावश्यक हुन्छ, अन्यथा भण्डारणमा सुक्ने, चाउरिने, कुहिने आदि समस्याहरु आई वेसारको गुणस्तर घट्न जान्छ । बेसारको भण्डारण गर्दा १२—१४ डि.से. तापक्रम र ६५—७० ٪ सापेक्षित आद्रता भएको वातावरण मिलाउन सकिने कोठामा सजिलै संग ५—६ महिना सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ । कृषक स्तरमा यस्तो किसिमको वातावरण नियन्त्रित कोठा वनाउन खर्चिलो हुने हुदा परम्परागत खाडलमा केहि सुधार गरी वा सेलार स्टोरको प्रयोग गरी स्वस्थ बिउ भण्डारण गर्न सकिन्छ ।

निम्न लिखित तरिकाहरु अपनाई कृषकहरुको स्तरमा बेसारको सुरक्षित तरिकाले खाडलमा भण्डारण गर्न सकिन्छ :
खाडल बनाउदा छाँया पर्ने, अलिकति भिरालो, पानी नजम्ने ठाँउको छनौट गर्नु पर्छ । विभिन्न क्षमताको खाडल वनाउन सकिने भएता पनि गहिराई १ मि. भन्दा वढि हुनु हुदैन । सामान्यतया १ मि. लामो, १ मि. चौडाई, १ मि गहिरो खाडल उपयुक्त मानिन्छ । एक घन मिटर खाडलमा ३५० किलो वेसारको गानो भण्डारण गर्न सकिने हुदा उत्पादन थोरै भएको अवस्थामा सानो आकारको खाडलमा राखे पनि हुन्छ ।

२५ ग्राम ईण्डोफिल एम—४५ र मालाथिएन २५ मि.ली. १० लि. पानीमा मिसाई वनाएको विषादि घोलमा बिउ गानोलाई १ घण्टा डुवाई छाँयामा सुकाउने, खाएन बेसार भण्डारण गर्दा उपचार गर्नु
हुदैन र खाडल पनि सोहि विषादिको घोल छरेर उपचार गरी सुक्न दिने अथवा खाडलमा आगो बालेर उपचार गर्ने ।

हाम्रो भान्साको अनिवार्य आवश्यक्ता हो, बेसार । दाल–तरकारीमा बेसार नभई हुन्न । किन बेसार नभई हुन्न ?
-के पाइन्छ बेसारमा ?
बेसारमा हुने ‘कुरकुरमिन’ नामक जैविक रसायनका कारण बेसार पहेंलो देखिएको हो । यसको रसायनमा विभिन्न औषधिय तत्व पाइन्छ ।

बेसारमा हाम्रो शरीरका लागि आवश्यक हुने भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलाम तत्व पाइन्छ ।

कस्तो समस्यामा उपयोगी ?
बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुण भएको वनस्पति मानिन्छ । श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग आदिमा यो निकै उपयोगी हुन्छ । दुधमा बेसार मिश्रण गरेर सेवन गर्दा रुघाखोकी निको हुन्छ । पेटमा ग्यास जम्ने समस्या भएमा बेसार पानी सेवन गर्नुपर्छ । मुखमा घाउ, खटिरा आएको बेला बेसारले कुल्ला गर्नुपर्छ ।

छालाको सौन्दर्य बढाउन पनि बेसार उपयोगी मानिन्छ । बेसारलाई सौन्दर्य प्रसाधनको रुपमा समेत प्रयोग गरिदै आएको छ ।

(नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय जलबायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली द्धारा प्रकाशित बेसार खेती नामक सामग्री बाट साभार तथा अन्य विभिन्न कृषि खबरबाट परिमार्जित गरिएको)

प्रतिक्रिया

बेसार खेती

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?