Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

बीउमा परनिर्भरता कायमै

krishireview
२०७७ भदौ ४ , बिहीबार ०५:०८ मा प्रकाशित | १०५१ पटक पढिएको

५ बालीका १८ जात दर्ता, प्रायः आयात गर्नुपर्ने

 नेपालमै धान, मुसुरो र प्याजको बीउको दर्ता भए पनि आयातकै भर

धनुषा – हाइब्रिड धान, मुसुरो, प्याज, मकै र पालुंगो गरी पाँच बालीका १८ वटा जात दर्ता भएका छन् । धान, मुसुरो र प्याजको बीउ भने नेपालमै बनेको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी रमेश हुमागाईंले जानकारी दिए । मकै र पालुंगो भने आयातित जात नेपालमा दर्ता गरिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अर्न्तगत रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषाले धानको हाइब्रिड जात बनाएको थियो । उक्त जात राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएपछि ०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भइसकेको छ । त्यसपछि कार्यान्वयनमा आएको हुमागाईंले बताए ।

हर्दिनाथ हाइब्रिड–१ एफ १ र हर्दिनाथ हाइब्रिड–३ एफ ३ नामकरण गरिएको उक्त धानको जात समुद्री सतहदेखि १ हजार मिटर उचाइसम्मको तराई, भित्री मधेस तथा नदी किनारका फाँटका लागि सिफारिस गरिएको छ । हाइब्रिड (वर्णशंकर) ३ लाइन सिस्टम (‘ए’ लाइन, ‘आर’ लाइन र ‘बी’ लाइन) बाट बनाइन्छ । धानको यो लाइन २०१३ मा अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमबाट ल्याइएको राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक सुशील सुवेदीले जानकारी दिए । करिब ७ वर्षको परीक्षणपछि हाइब्रिड धानमा सफलता मिलेको हो । यो नेपालको पहिलो हाइब्रिड धानको जात हो । यसको दाना लामो हुन्छ । उत्पादन क्षेत्र क्षमता प्रतिहेक्टर औसतमा ६.५ मेट्रिक टन रहेको जनाइएको छ ।

नेपालमा मकैको मात्रै हाइब्रिड थियो । यसबाहेक अन्य जातको हाइब्रिड बीउ उत्पादन हुन सकेको थिएन । अहिले धान पनि थपिएको हो । हाइब्रिडका लागि प्यारेन्ट भने आयात गर्नुपर्छ । हाइब्रिडसँगै धानका चार उन्नत जात पनि दर्ता भएका छन् । राजपत्रअनुसार हर्दिनाथ बोरो धान–१ नामकरण गरिएको रैथाने जात समुद्री सतहदेखि ५ सय मिटर उचाइसम्म तराईदेखि पूर्वी तराईका क्षेत्रका लागि सिफारिस गरिएको छ ।

शुद्धोधन हालामक नाम दिइएको धानको जात समुद्री सतहदेखि ५ सय मिटर उचाइसम्मको तराई तथा भित्री मधेसको सिञ्चित एवं आंशिक सिँचाइ सुविधा भएको क्षेत्र, हर्दिननाथ सावा मन्सुली नाम दिइएको जातका लागि समुद्री सतहदेखि ७ सय मिटर उचाइसम्मको तराई तथा भित्री मधेस र नदी किनाराका बेसीहरूको सिञ्चित एवं आंशिक सिञ्चित सुविधा भएको क्षेत्र उचित मानिएको छ । कालोनुनिया (उन्नत) जातको धान पनि दर्ता भएको छ । यो जात समुद्री सतहदेखि २ सय मिटर उचाइसम्मको झापा, मोरङ र सुनसरी जिल्लाको सिञ्चित एवं आंशिक सिञ्चित सुविधा भएको क्षेत्रमा लगाउन सकिने केन्द्रले जनाएको छ ।

मुसुरो बालीका दुई जात पनि दर्ता भएका छन् । यी दुवै जात रैथाने हुन् । श्रद्धा कालो मुसुरो तराई भित्री मधेस र मध्य पहाडका लागि सिफारिस गरिएको छ । रसुवा कालो मुसुरो (स्थानीय) रसुवा र नुवाकोटमा समुद्री सतहदेखि १८ सयदेखि २५ सय मिटर उचाइसम्मका लागि सिफारिस गरिएको छ । नेपालमै विकास गरिएको प्याजको ‘बैतडी स्थानीय प्याज’ पनि दर्ता गरिएको छ । यो जातको प्याज सुदूरपश्चिम प्रदेशको एक हजारदेखि दुई हजार मिटर उचाइसम्मको क्षेत्रका लागि उपयुक्त हुनेछ । यो प्याज आधादेखि एक किलोसम्मको हुने वैज्ञानिक सुवेदीले बताए । ‘विशेषतः होटलका लागि यो उपयोगी हुन्छ,’ उनले भने । केन्द्रका अनुसार बैतडी प्याजको बजार मुख्यतः भारत हो । भारतमा पहाडको प्याज भनेर यो प्रख्यात छ ।

नेपालमा ७७ बालीका करिब ६ सय ७१ जात सूचीकृत रहेको केन्द्रले जनाएको छ । तिनमा ३ सय २२ हाइब्रिड छन् । हाइब्रिड धेरै फल्ने भएकाले किसानले बढी रुचाउँछन् । यसले पनि आयातमै परनिर्भर हुनुपरेको केन्द्रको दाबी छ । बर्सेनि करिब डेढ अर्ब रुपैयाँको बीउ आयात भइरहेको छ । अनौपचारिक रूपमा पनि अत्यधिक मात्रामा आयात भइरहेको जानकार बताउँछन् । बीउ आयात गर्नकै लागि करिब ४० कम्पनी केन्द्रमा छन् । बीउ भारत, चीन, थाइल्यान्ड, कोरिया, जापानलगायत मुलुकबाट आयात गरिन्छ । ती कम्पनीले मकै, धान र तरकारीका हाइब्रिड बीउ आयात गर्छन् ।

स्वदेशी हाइब्रिड प्रणाली बलियो छैन । किसानको माग पूर्ति गर्नकै लागि सरकारले भारतमा विकास गरिएको मकैका ८ जातका दर्ता/आयात स्वीकृति दिएको छ । एनएमएच ३३५५ एफ १ नाम गरिएको मकैको जात दर्ता भइसकेको छ । उक्त जात नारायणी नदी पूर्वका तराई तथा भित्री मधेस (हिउँदे सिजनका लागि कात्तिक दोस्रो सातासम्म), मकैको एनएमएच ५८९ एफ १ जात नारायणी नदीपूर्वका तराई तथा भित्री मधेस (हिउँदे सिजनका लागि कात्तिक दोस्रो सातासम्म) सिफारिस गरिएको छ । पी–३३५५ एफ १, एमएम–२५६२ एफ १, बिस्को कनक–५१ एफ १, केएमएच १३११ एफ १, स्टार–९ एफ १ र टीएमएमएच–८०६ एफ १ नामक जात पनि सोही क्षेत्रका लागि सिफारिस गरिएको छ । थाइल्यान्डमा विकास गरिएको पालुंगोको जात पनि दर्ता गरिएको छ ।

(यो लेख कान्तिपुर दैनिकबाट उधृत गरिएको हो।)

प्रतिक्रिया

बिउमा आत्मनिर्भरता अझै

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?