Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

फैलँदै विषाक्त ‘ काँडे झार ’

krishireview
२०७९ जेठ ३ , मंगलबार ११:०५ मा प्रकाशित | २८५ पटक पढिएको

कटान रोक्न भित्र्याइएको झार धेरै छिटो फैलने र हानिकारक रसायनयुक्त हुने भएकाले चौपायालाई जोखिम

मोरङ – उर्लाबारी–९ भोटेपुलका कृषक टेकबहादुर कटवालले पालेका ५ वटा खसी अचानक मरे । राम्रो दाम आउने बनाएर बेच्न पालेका खसी अचानक मर्नुको कारण थाहा पाउँदा कटवाल चकित भए । नगरपालिकाको कृषि शाखा प्रतिनिधिले अनुसन्धान गर्दा खसीले ‘उल्टी झार’ खाएका कारण मरेको पुष्टि भयो ।

२०७७ भदौको उक्त घटनापछि पनि छिटपुटबाहेक धेरै खसीबाख्रा एकै पटक मरेका घटना नभएको कृषि शाखाका प्रमुख विष्णुप्रसाद भट्टराईले बताए । नगरपालिकाले हाल ‘पशुलाई काँडे झार नखुवाउनू’ भन्दै कृषकहरूलाई सचेत गराउँदै आएको उनले बताए ।

दुई वर्षयता झापा र मोरङमा ठूला लज्जावती झार खाएर ५ सयभन्दा बढी बाख्राहरू मरेको अनुसन्धानकर्ताहरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागका प्राध्यापक भरतबाबु श्रेष्ठका अनुसार काँडे झार खाएर झापा र मोरङमा बाख्रा मरेका हुन् । गत साता विभागका इमिरेट्स प्रोफेसर पीके झासहितका प्राध्यापक तथा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंसहितको टोलीले उक्त झारबारे ती जिल्लाका स्थानीय तहहरूमा चेतनामूलक कार्यक्रम गरेको थियो । कार्यक्रमसँगै तथ्यांक संकलन गर्ने क्रममा उक्त झार खाँदा मारिएका बाख्राहरूको संख्या थाहा भएको हो ।

लज्जावती जस्तै देखिने यो झारलाई स्थानीयस्तरमा ठूलो लज्जावती झार, उल्टी झार, काँडे झार वा आरा काँडे झार पनि भनिन्छ । यो झारमा विशेष प्रकारको रसायन पाइन्छ । ‘मिमोसिन’ नामक विषालु रसायन यो झारमा पाइने प्राध्यापक श्रेष्ठले जानकारी दिए । झारको मुन्टामा यसको मात्रा अत्यधिक हुन्छ । बाख्रा, चौपायाहरूले झारको कलिलो भाग बढी रुचाउँछन् ।

यो झार हेर्दा लज्जावती झार जस्तै देखिन्छ तर ठूलो हुन्छ । यसका दुई उपप्रजातिहरू भेटिएको वनस्पतिविद्हरूले बताएका छन् । काँडा भएका र नभएका । काँडा भएको उपप्रजाति झापा र मोरङमा मात्रै भेटिएको छ भने काँडा नभएको उपप्रजाति सिन्धुलीमा पनि भेटिएको छ । काँडा भएकोमा विषाक्त रसायन पाइएको छ । अमेरिकाको रैथाने प्रजातिको यो झार समयमा नै नियन्त्रण गर्न नसके वनमाराले गर्ने क्षतिभन्दा बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् । ‘पालुवा धेरै खाँदा रसायनको मात्रा पनि बढी भएपछि असर देखियो,’ श्रेष्ठले भने । यो नेपालका लागि नयाँ मिचाहा झार हो । रैथाने क्षेत्रमा पाइने यो झार नेपालसहित ४५ वटा विभिन्न देशहरूमा पाइएको छ ।

‘यो नवप्रवेशी मिचाहा झार हो । यसले विकराल रूप लिनुअघि नै नियन्त्रण गर्न सकिन्छ,’ प्राडा झाले भने, ‘यो झारलाई व्यवस्थापन गर्ने अवस्थामा छौं । सम्बन्धित निकायको ध्यान बेलैमा नपुगे भविष्यमो ठूलो मूल्य चुकाउनुपर्ने अवस्था हुन्छ ।’

यो झारको बीउ लामो समयसम्म निष्क्रिय भएर बस्न सक्ने अनुसन्धानहरूले देखाएको छ । प्राडा श्रेष्ठ भन्छन्, ‘यो झारको बीउ ५० वर्षसम्म पनि नकुहिकन बच्न सक्छ र उम्रन सक्ने विशेषता भएको हामीले पाएका छौं ।’ यो झारको बीउको उत्पादन वृद्धिदर ९९ प्रतिशतसम्म पाइएको छ । वनस्पतिशास्त्र केन्द्रीय विभागमा यो झारबारे अहिले भइरहेको अनुसन्धानका क्रममा बीउ उम्रने दर ९९ प्रतिशत देखिएको हो ।

यसको बिरुवा एक वर्षको झाडीका रूपमा विकसित हुन्छ । कहिलेकाहीँ यसले बहुवर्षीय स्वभाव पनि देखाउने प्राध्यापक श्रेष्ठले जानकारी दिए । यो झारको अर्धलहरे स्वभाव हुन्छ । जसका कारण अन्य बिरुवाको माथि सहारा लिएर फैलन्छ । आद्र उष्ण प्रदेशीय हावापानी, मलिलो माटो र प्रशस्त सूर्यको प्रकाश भएको स्थानमा यो चाँडो फैलिने गरेको पाइएको छ । प्रायः वर्षात्को समयमा पानी परेपछि यिनीहरू उम्रन थाल्ने गरेको अनुसन्धानहरूले देखाएका छन् । यो प्रजाति असोज–कात्तिकमा फुल्ने र मंसिर–पुसमा बीउ उत्पादन गर्छ ।

कसरी भित्रियो ?
मुलुकमा मिचाहा प्रजातिका वनस्पतिहरू विभिन्न माध्यमबाट भित्रिएको रेकर्ड छ । काँडे झार नदी कटान रोक्नका लागि भनेर ल्याइएको थियो । प्राध्यापक श्रेष्ठसहितको टोलीले अध्ययन गर्दा यो झार मावा, रतुवा खोला किनारमा धेरै पाइएका थिए ।

प्राध्यापक श्रेष्ठ यो झार दुई कारणले नेपालमा भित्रिएको पाइएको बताउँछन् । एउटा, नदी नियन्त्रण र अर्को चौपाया नियन्त्रणका लागि । भुटानी शरणार्थी शिविर र सुकुम्बासी बस्तीहरूमा काम गर्ने एउटा गैरसरकारी संस्थाले डेढ दशकअघि नदी कटान रोक्नका लागि भन्दै झापामा यो झारको बीउ बाँडेको खुलेको छ । ‘यो झार छिटो फैलने र घना झाडीका रूपमा विकसित हुन्छ । नदी किनारमा रोपिएको पाइयो,’ श्रेष्ठले भने, ‘नदी नियन्त्रणका लागि भनेर झापाका स्थानीयलाई यसको बीउ दिइएको रहेछ ।’ नदी किनारबाट बालुवा ओसार्दा यो मिचाहा झार सडक, खेतबारी हुँदै धेरै ठाउँमा पुगेको छ ।

झापाका चियाबगानहरूले चौपायाबाट छुट्कारा पाउन तारबारमा काँडे झार रोपेको उनले सुनाए । ‘राम्रै उद्देश्यका लागि यो झार ल्याइएको रहेछ,’ प्राडा श्रेष्ठले भने, ‘यसको असरबारे कसैले थाहा पाएनन् । अब पनि समय छ, नियन्त्रण गर्न लागौं ।’

अनुसन्धानकर्ताहरूले यो झारको व्यवस्थापन तत्काल आवश्यक रहेको औंल्याएका छन् । तत्काल एकीकृत र समन्वयात्मक पहलकदमी गरेर निर्मूल पार्न सकिने उनीहरूको भनाइ छ । फूल फुलेर बीउ बन्न अगाडि नै नष्ट गरेमा यसको विस्तारलाई नियन्त्रण गर्न सकिने प्राडा झाले बताए । आन्तरिक क्वारेन्टिनको माध्यमबाट यस प्रजातिलाई अन्य स्थानमा विस्तार हुनबाट रोक्न सकिने उनले बताए । झारनाशक विषादीको पनि प्रयोग गर्न सकिने उनको भनाइ छ ।

विज्ञहरूले यो झार राष्ट्रियस्तरको मुद्दा भएकाले सचेत हुन आग्रह गरेका छन् । झापा र मोरङबाट अन्यत्र फैलन नदिनु आवश्यक रहेको बताएका छन् ।
स्रोत -कान्तिपुर दैनिक

प्रतिक्रिया

उल्टि झार काडेँ झार बिषाक्त

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?