Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

पहिलोपटक डिजिटल कृषि सम्मेलन २०२१ आयोजना हुँदै

krishireview
२०७८ साउन २२ , शुक्रबार ०९:०८ मा प्रकाशित | ८६५ पटक पढिएको

चितवन / प्राविधिक विद्यार्थी संघ नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय र युथ थिङ्कर्स सोसाइटीको सहकार्यमा डिजिटल कृषि सम्मेलन हुने भएको छ। कोरोना महामारीले पारेको प्रतिकूल अवस्थाका कारण सम्मेलन भर्चुअल रूपमा नै सञ्चालन गरिने भएको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरूद्वारा अन्तर्राष्ट्रिय स्तरको कृषि सम्मेलन आयोजना हुन लागेको यो पहिलो पटक हो । उक्त सम्मेलन आउँदो असोज २ र ३ गते जुममार्फत सञ्चालन हुने छ ।

‘रिलायबल डीजी कल्चर, रेसिलियन्ट एग्रीकल्चर’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको सम्मेलनलाई ‘फरफ्रन्ट इन सस्टेनेबल एग्रीकल्चर–डिजिटाइजेसन एन्ट क्लाइमेट चेन्ज रेसिलियनट’ नाम दिइएको छ । कृषि प्रविधिमा युवावर्गको ज्ञानको क्षितिज फराकिलो बनाउने अभिप्रायका साथ युवाहरूद्वारा नै सञ्चालन गर्न लागेको यस सम्मेलन देशभरीका युवा क्षमतालाई जोड्ने एउटा भरपर्दो माध्यम बन्ने विश्वास रहेको आयोजना समितिले जनाएको छ।यो युवाहरुको सञ्जालबाट गर्न लागिएको हो जस्ले युवापुस्तालाइ समाज,कृषि तथा विश्व परिवर्तन गर्न उत्प्रेरित गर्छ।

यस सम्मेलनले सहभागी र कृषि प्राविधिकहरूलाई आधुनिक कृषि उपकरणका बारेमा जानकारी दिनुकासाथै कृषक र प्रविधि बिचको दूरी घटाउने अपेक्षा गरिएको छ । कृषि विज्ञको भूमिकाबारे सचेत बनाउनु, अव्यवस्थित प्रविधिले किसान र कृषि प्रणालीमा पार्ने असरका बारेमा जानकारी गराउनु र उद्यमीहरूबाट दिगो रूपमा आधुनिक कृषि सञ्चालन गर्न सल्लाह सुझाव प्रदान गर्ने जस्ता लक्ष्य राखेको आयोजकले जनाएको छ । साथै, नवीनतम् प्रविधि र डिजिटल कृषि सम्बन्धि बिषयलाई सामेल गर्नेगरि कृषि विश्वविद्यालयहरूका पाठ्यक्रमलाई परिमार्जनका लागि प्रेरित गर्नु पनि यस सम्मेलनको उद्धेश्य रहेको आयोजकले बताएको छ ।

केही हप्ता अगाडी मात्रै विभिन्न नेपालका बिश्वबिद्धालयबाट फर्म र इन्टरभिउबाट क्याम्पस एमबासडरहरुको चयन भैसकेको जानकारी आयोजक टोलिबाट भएको छ।यसरी हरेक ठाउँबाट प्रतिनिधिहरु जोड्दै कन्फरेन्सलाई अझ ससक्त रुपमा प्रचारप्रासार गर्दै संचालन गर्न तर्फ जोड दिइरहेको आयोजकले बताएको छ।यसरी कन्फरेन्सको तयारीमा लागेको आयोजक समूहले विभिन्न data sampling जस्ता pre-event हरु पनि संचालन गर्ने तयारीमा पनि जोडतोडले लागि परेको छ।

दुई दिनसम्म चल्ने उक्त अन्लाईन सम्मेलनमा देश तथा विदेशबाट सम्बन्धित क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्नुभएका बिद्यार्थी तथा बैज्ञानिक, विभिन्न बिश्वबिद्धालयका पदाधिकारी तथा प्राध्यापक , सरकारका प्रतिनिधि, कृषक तथा यस पेसामा लाग्नुभएका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहने छ ।

जहाँ कृषिमा प्रविधि र आविस्कारको दिगो तथा उचित प्रयोगका बारेमा सहभागीहरूसँग प्रत्यक्ष कुराकानी गर्दै आफ्ना अनुभव, ज्ञान, दृष्टिकोण र विचारहरू व्यक्त हुनेछन् । दुई दिने यस सम्मेलनलाई भिन्नभिन्न कार्यक्रममा सञ्चालन गरिने छ । जसमा अन्तरक्रियात्मक कार्यक्रम, भिडियो प्रस्तुतीकरण र नयाँ विषयमा भएका अनुसन्धानका बारेमा चर्चा हुनेछ । विशेषतः कृषि क्षेत्रमा आधुनिकीकरणको अवस्था तथा आवश्यकतालाई मध्यनजर गरी कार्यक्रमहरू सञ्चालन गरिनेछन। यसको अतिरिक्त, कार्यक्रमलाई मनोरञ्जनसँग जोड्नका लागि सहभागीहरूको बौद्धिक क्षमता वृद्धि गर्ने खालका खेलहरू पनि खेलाइने बताइएको छ ।

विद्यार्थीहरुको यस किसिमको उत्साह तथा कार्यक्रम गर्ने जमर्कोबाट आफू एकदमै खुसी भएको र आफ्नो ठाउँबाट गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको  कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले बताए । त्यस्तै विश्वविद्यालयकी रजिस्ट्रार प्राडा शारदा थपलियाले यस किसिमको सम्मेलनले विद्यार्थीहरुको व्यक्तित्व विकास गर्ने र यसबाट देशभरिका कृषिकर्मीले फाइदा उठाउन सक्ने कुरामा जोड दिएकी छन् । साथै बिद्यार्थीहरुको जागरुकताबाट आफू हर्षित भएको र सम्मेलनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाइन । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत विधार्थीहरूद्वारा आयोजन हुन लागेको यस सम्मेलनलाई उक्त विश्वविद्यालयको पूर्ण साथ र सहयोग रहेको आयोजकले जनाएका छन्। त्यस्तै राष्ट्रिय युवा परिषद् र कृषि विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयको पनि सहयोग रहेको आयोजना समितिले जानकारी दिएको छ।

नेपालको कृषि क्षेत्रमा भएका नवीन आविष्कार र डिजिटल प्रविधिको वर्तमान अवस्था , यसको समुचित तथा दिगो प्रयोग र आगामी दिनहरूका कदमबारे  छलफल तथा चर्चा गरिने यस कृषि सम्मेलनमा सम्पूर्ण कृषि विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, कृषि उद्दमी तथा सरकारी निकायहरूको उपस्थितिको अपेक्षा रहेको आयोजकले बताएको छ। यस सम्मेलन नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको डिजिटल कृषि सम्मेलन हुनेछ । आयोजक समुह भन्छन्, ‘अन्तर्राष्ट्रिय  सम्मेलन गराउनु बहुत कठिनको काम हो । हामी सबै युवाहरुले आयोजना गर्न लागेका छौँ । यद्दपी उक्त सम्मेलनका लागि हामी सम्पूर्ण टिम निकै उत्साहित छौँ ।’

प्रतिक्रिया

AgriCon2021 डिजिटल कृषि सम्मेलन २०२१

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?