Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

नेपालमा रासायनिक मलको बढ्दो प्रयोग र यसका असरहरु

krishireview
२०७८ भदौ ४ , शुक्रबार ०८:०८ मा प्रकाशित | १५८८ पटक पढिएको

नाममा मात्र होइन, काममा पनि नेपाल एक कृषि प्रधान मुलुक हो। यहाँका करिब ६०.४ प्रतिशत मानिस प्रत्यक्ष रुपले कृषिमा संलग्न भएका छन्। बढ्दो जनसंख्या र घट्दो उत्पादन अहिले नेपालका लागि खाद्य सुरक्षाको जल्दोबल्दो चुनौती हो। जमिनको असमान वितरण, उर्वर भूमिको खण्डीकरण, अव्यवस्थित सहरीकरण, अवैज्ञानिक विकास र यसले निम्त्याउने विनाश, परम्परागत कृषि प्रणाली, योजना र अनुदान को असमान वितरण साथै रासायनिक मलको जथाभावी प्रयोगले कृषि क्षेत्रको उत्पादकत्व दिनानुदिन घट्दो क्रममा छ।

हिजो अस्ति भर्खर सम्म रासायनिक मल छुन डराउने गाउँघरका किसानहरु आजभोली बिना माटो जाच, बिना प्राविधिक सल्लाह बोराका बोरा रासायनिक मल प्रयोग गर्न थालेका छन्, जसका कारण दिनानुदिन माटोको स्वास्थ्य बिग्रदो अवस्थामा छ। प्रांगारिक कृषि र यसका आयमहरुको पुनरुत्थान र प्रचारप्रसारको सट्टामा सरकार आफै रासायनिक मलको आयात र अनुदानमा व्यस्त छ। बढ्दो रासायनिक मलको प्रयोग र यसका भावी असरहरु बारे सामान्य चेतना भए पनि प्राङ्गारिक कृषिको अस्ताउँदोपनाले कृषकहरु रासायनिक मल खोजीखोजी प्रयोग गर्न विवश छन्। रासायनिक मलको बढ्दो प्रयोग र मागलाई प्राङ्गरिक मल हरुले विस्तारै विस्तापित गर्ने विषयमा सरकार, कृषि मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषद्का गतिविधीहरु खासै प्रशंसनीय छैनन्। प्रदेश तथा स्थानीय सरकारहरू पनि यो प्रतिको चिन्तनमा खासै सक्रिय देखिँदैनन्। रासायनिक मलले कुनै एक वालिको  उत्पादनमा  तुलनात्मक फरक ल्याएता पनि दीर्घकालीन उत्पादनमा प्राङ्गरिक मल सँग कुनै हालतमा प्रतिस्पर्धा गर्नै सक्दैनन्। रासायनिक मल माटो लाई मात्र हैन समग्र पारिस्थितिक पद्धतिलाई नै हानिकारक छ। नेपालमा बढ्दो रासायनिक मलको प्रयोगले निम्ति रहेका र निम्त्याउन सक्ने असर हरुलाई यसप्रकारको टिपोट गरिएको छ।

  • जलप्रदुषण – हामीले हाम्रो खेतबारीमा प्रयोग गरिने रासायनिक मल हरु बिभिन्न माध्यमबाट पानीका स्रोतहरूमा मिसिई पानीलाई प्रदूषित बनाइदिन्छन् । प्रदुषित पानीको प्रयोगले मानव स्वास्थ्य मात्र होइन, अन्य जलचर प्राणी हरुलाई समेत प्रतिकूल असर गर्दछ। खेतबारीमा प्रयोग गरिएको मलको मात्रा र विषालुपन बढी भएमा थुप्रै जलचर प्राणी हरु को मृत्यु समेत हुनसक्छ। तराईमा विशेषगरी पिउन तथा अन्य प्रयोजनको लागि जमिनमुनिको पानी प्रयोग गरिन्छ, जसमा माटोमा प्रयोग गरिएको रासायनिक मलको मात्रा मिसिएको हुन्छ। त्यसैले जल प्रदूषण मानव स्वास्थ्यमा प्रतिकूलता निम्ताउने महत्वपूर्ण अवयव हो ।
  • प्रायः सबै खाले रासायनिक मलहरु उपयुक्त मात्रामा मात्र प्रयोग गर्नुपर्दछ। यसको मात्रा  बढी भएमा बिरुवामा असामान्य लक्षणहरु देखा पर्दछन्। रासायनिक मलको मात्रा बढी भएमा बिरुवामा पातहरु पहेलिने, झर्ने, जल्ने तथा काण्डहरु खुइलिने र अन्तिममा बिरुवा नै मर्ने जस्ता लक्षणहरू देखिन्छन्। विशेषगरी नाइट्रोजन परिपूर्ति गर्न युरिया जस्ता मलको अनियन्त्रित प्रयोगले पातहरु जल्ने समस्या बढी हुन्छ।
  •  सुक्ष्म जीवाणुहरुलाई असर – स्वस्थ माटोमा थुप्रै उपयोगी र फाइदाजनक सुक्ष्म जिवाणुहरु रहेका हुन्छन्। प्राङ्गारिक मलको प्रयोगले त्यस्ता सूक्ष्म जीवाणु हरुलाई व्यापक फाइदा पुग्छ भने रासायनिक मलको प्रयोगले सूक्ष्म जीवाणुहरूका गतिविधिलाई निष्क्रिय पारिदिन्छ। माटोलाई स्वस्थ बनाउन र पोषकतत्वहरु लाई चलायमान बनाउन भरपुर सघाउने त्यस्ता उपयोगी सुक्ष्म जिवाणुहरु रासायनिक मलको प्रयोगले नष्ट भएमा वा तिनीहरूको गतिविधिमा प्रतिकूल असर परेमा उत्पादन र माटोको स्वास्थ्य दुवै जोखिममा पर्दछन्।
  • माटोको बुनोट परिवर्तन – रासायनिक मलको प्रयोगले माटोमा सल्फ्युरिक र हाइड्रोक्लोरिक अम्ल को मात्रा बढाइदिन्छ, जसले माटोलाई फुक्न दिँदैन साथै माटोका कणहरु लाई एकआपसमा बाँधेर माटोलाई नरम र खुकुलो हुनबाट पनि रोक्छ। माटोका कणहरु एकआपसमा कस्सिदा माटोको पानी धारण गरेर राख्ने क्षमता घटि पानीको निकास बढ्छ साथै माटोको सतह कडा भएर पानी र हावाको आवतजावतमा समेत असर पुग्छ। यसको कारणले गर्दा माटोको क्षयीकरण हुन्छ।
  • माटोको pH घटाउँछ – रासायनिक मल जस्तै युरियाको प्रयोगले माटोमा स्वतन्त्र हाइड्रोजन आयोनहरूको संख्या बढ्न जान्छ जसले गर्दा माटो अम्लीय हुन्छ साथै बिरुवाले माटोबाट अमोनियम आयोनहरुलाई लिँदा पनि हाइड्रोजन आयोन उत्सर्जन हुन्छ जसले माटोमा अम्लीयपन बढाउन सक्रिय भूमिका खेल्दछन। माटोको अम्लियपन बढ्यो भने उत्पादनमा प्रत्यक्ष असर पर्दछ।
  • उत्पादन लागत वृद्धि – सबैखाले रासायनिक मल हरुको खरिद गर्नका लागि किसानले व्यापारीलाई पैसा तिर्नुपर्छ। कुनै पनि कृषिजन्य वस्तु उत्पादनमा रासायनिक मलको खरिदले उक्त उत्पादनको लागत बढाइदिन्छ। केही हदसम्म सरकारी अनुदान भएतापनि सामान्य किसानको लागि रासायनिक मल किनेर खेतबारीमा प्रयोग गर्नु दिनानुदिन कठिन बन्दै छ।
  • वायु प्रदूषण – माटोमा प्रयोग गरिने रासायनिक मल हरुले अप्रत्यक्षरुपमा वायुमण्डल र हावामा प्रदूषण गरिरहेको छ। विशेषगरी नाइट्रोजन युक्त मलहरूको प्रयोगले वायुमण्डलमा nitrous oxide जस्ता हानिकारक ग्यासहरु को मात्रा बढाइरहेका छन् । यस्ता ग्याँसहरु को प्रत्यक्ष प्रभाव हरितगृहमा परिरहेको छ।
  • उबराशक्तिमा ह्रास निरन्तर रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति घटाइरहेको हुन्छ । क्षणिक रुपमा राम्रो उत्पादन देखिएता पनि अप्रत्यक्ष रूपमा रासायनिक मल माटोको उर्वराशक्ति घटाउने प्रमुख कारक नै हो ।

यसरी व्यापकरुपमा रासायनिक मलको प्रयोगले फाइदा भन्दा धेरै असरहरु सिर्जना गर्दछ। कुन रासायनिक मल, कुनकुन चरणहरूमा, कति कति मात्रामा प्रयोग गर्ने र माटोको अवस्था कस्तो छ भनि माटो जाच र प्राविधिक सरसल्लाह बिनाको प्रयोगले माटोको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ। यस्तो रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै हामी सबैले रासायनिक मलको विकल्प खोज्ने कि?

प्रतिक्रिया

प्रयोग र असरहरु रासायनिक मल

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?