Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

नेपालमा प्राङ्गारिक खेती:एक नज़र

सुबोध पौडेल
२०७७ साउन २ , शुक्रबार १०:०७ मा प्रकाशित | २०८५ पटक पढिएको

अविनय कुमार मनसापुरिया

प्राकृतिक स्रोत व्यवस्थापन कलेज , बर्दिबास

पृष्ठभूमि

नेपालको कुल भु:उपयोगको ४१लाख २१ हजार हेक्टर अर्थात २७% जमिन मध्य ३० लाख ९१हजार अर्थात १८% जमिनमा मात्र खेती गरिदै आइरहेको छ भने झण्डै करिब २५% खेतीयोग्य जमिन विविध कारणले त्यतिकै बाझो रह्दै आइरहेको तथ्य हाम्रो सामु छ।

नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार कुल जनसंख्याको ६६.५% जनताहरु कृषि क्षेत्रसङ प्रत्यक्ष सम्बन्धित छन र कुल ग्राहस्थ  उत्पादनको ४०% हिसा कृषि र कृषिजन्य वस्तुको उत्पादन मार्फत टेवा पुर्याइरहेको तथ्यले यो कृषि क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भको रुपमा प्रमाणित सिद्ध भईसकेको छ।

आजको विज्ञान र प्रविधी विकास संग संगै संसारको हरेक क्षेत्रमा त्यस्ले ल्याएको आमूल परिवर्तनले कृषि क्षेत्रको विकासमा पनि उल्लेखनीय प्रगति भएको छ।यसको प्रभावबाट हाम्रो कृषिप्रधान देश नेपाल भने अछुतो हुन सक्दैन ,समयको माँग र आमूल परिवर्तन अनुसार कृषिका प्रविधिहरु नेपाल भित्रिरहेको र कृषि आधुनिकिकरण तर्फ उन्मुख भइरहेको अवस्था छ। तर आवश्यक दक्ष जनशक्ति, उपयुुक्त लगानी र अवसरका अभावका कारण कृषि क्षेत्रमा अपेक्षाकृत फड्को मार्न सकिरहेको अवस्था भने नरहेको तितो यथार्थता छ । नेपालको कृषि क्षेत्रको आधुनिकरण गर्ने क्रममा केहि बर्षयता स्थानीय तह,प्रदेश,केन्द्र सरकारको नीति तथा कार्यक्रमहरुमा यस क्षेत्रलाई प्राथमिकता राखी योजना तर्जुमाका लागी गरिरहेका प्रोत्साहन र प्रयासहरु भने संतोषजनक रहेको पाउन सकिन्छ।


अबको कृषिक्षेत्र निर्वाहमुखी मात्र नभई उत्पादनमा गुणाात्मक वृद्धि गर्दै निर्यातमुखी व्यावसाहिकीकरणमा जोड दिनु पर्छ । यसको लागि हाम्रो परम्परागत बिध्यमान खेती प्रणालीलाई क्रमशः बिस्थापन गर्दै प्रविधियुक्त कृषि प्रणालीको विकास गर्न तर्फ उन्मुख हुनुपर्छ।नेपाल र नेपालिको समृद्धिको मुख्य आधार कृषि भएकाले देशको भु:बनौट हावा पानी र प्राथमिकता अनुसार कृषिको विशिस्ट क्षेत्र निर्धारण गरि सोही अनुसारको बाली प्रवर्द्धन गर्दै उत्पादनमा जोड दिइनुपर्छ ।

नेपाल कृषि प्रधान देश हो,तर बिडम्बना हजारौं मेट्रीक टन खाद्यान्न बिदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । जीविकोपार्जनको माध्यम पुर्ख्यौली पेशा कृषिलाई राज्यले एक व्यवस्थित, प्रोत्साहित र मार्यादित पेशा बनाउदै आकर्षक रोजगारीको अवसर केन्द्रको रूपमा विकास गर्न सके देशका अपार श्रमशक्ती बिदेशिनुवाट रोक्न सकिन्छ र उर्जाशिल जनशक्तिलाइ स्वदेशमै लगानी र रोजगारको अवसरको सृजना गर्न सकिन्छ।

वर्तमान अवस्थामा नेपालको कृषि क्षेत्रको विकास र प्रयासहरु संतोषजनक रूपमा देखिएपनी यस क्षेत्रको प्रमुख लक्ष्य भनेको तत्काल एकाई उत्पादनमा मात्र वृद्धि नगरी दिगो र दीर्घकालीन उत्पादन तर्फ लक्षित हुनुपर्छ । तर वर्तमान स्तिथिमा कृषकलाई आधुनिक प्राविधि, सीप र ज्ञानको अभाव साथै अरुहरुको अनुसरण गर्दै आवश्यक मात्रा र अनुपात भन्दा बढी रसायनिक मल र विषादीहरुको प्रयोगमा  होड नै चलेको देखिन्छ । तत्काल यसले एकाइ उत्पादनमा संतोषजनक वृद्धि गरेतापनी रासायनिक मल र विषादीको अनावश्यक प्रयोगले जमिनको उर्वरा शक्ति संगसंगै मानव स्वास्थमा प्रतिकूल असर पार्ने निश्चित देखिन्छ ।


यसर्थ कृषिलाई आधुनिकरण गर्दै दिगो उत्पादनमा वृद्धि गर्न प्राङ्गारिक खेती प्रणालीमा जोड दिनु आजको अपरिहार्यता बन्न पुगेको छ।

परिचय

कृषि क्षेत्रमा आत्मनिर्भर ,स्वास्थ कृषि उत्पादन र वर्तमान कृषि उपजको मागलाई पूर्ती गर्न सक्ने दिगो क्षमतावान सक्षम देशको रूपमा स्थापित गर्न कृषि क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ । यसको लागि कृषिमा क्रान्ती हुन जरुरी छ । यो क्रान्ती तब  सम्भब छ जब प्राङ्गारिक खेती प्रणालीको अवधारणालाई अंगिकार गरि यसको प्रभावकारी कार्यन्वयन हुनेछ । स्वस्थ्य जीवनको परिकल्पना, सन्तुलित संसारिक परिस्थिति प्रणाली , जैविक ,अजैविक संतुलन स्वच्छ वातावरण को आधार प्राङ्गारिक खेती नै हो भन्नुमा कुनै अतियोक्ति नहोला । यो प्राङ्गारिक खेती प्रणाली अन्तर्गत जैविक मल,प्राकृतिक रोग व्यवस्थापन, बालीमा विविधीकरण र स्थानीय श्रोत साधनको अधिकतम प्रयोग गर्दै कम लागतमा अपेक्षित उत्पादनमा जोड दिन्छ । यसले एकाई उत्पादनमा वृद्धि गर्नु भन्दा पनि दिगो उत्पादनमा बिश्वास गर्दछ । स्वास्थ माटो स्वास्थ बिरुवा पोषणयुक्त खाद्यान्न उत्पादन गर्न प्राङ्गारिक खेती प्रणालीको विशेषता हो।

रासायनिक मलखादको सट्टामा गोठेमल, कम्पोस्ट मल,पिना,हरियो मल,गडयौले मल,शुक्ष्म जैविक मल आदिको प्रयोग गरि गरिने उत्पादन लाई प्राङ्गारिक खेती भनिन्छ।यस प्रविधिमा विषादीको प्रयोग नगरी प्राङ्गारिक वस्तुहरुको मात्र प्रयोग तथा कृषि पर्यावरणलाई सन्तुलित राखी कृषिजन्य वस्तुहरुको उत्पादन गरिन्छ। वास्तवमा स्थानीय श्रोत साधनको अधिकतम परिचालन गरि प्रकृतिको सबै अंगहरुको उचित संरक्षण सम्बर्द्धन गर्दै मानवीय आवश्यकताको परिपुर्ति गर्ने एउटा दिगो भरपर्दो कृषि प्रणाली नै प्राङ्गारिक खेती हो । यो नेपालमा सन १९९० देखि यो खेती को सुरुवात भएको देखिन्छ । प्राङ्गारिक खेतिको उत्पादनको मागलाई ध्यानमा राखी नेपालमा यसको दायरा बढ्दै गएको देखिन्छ र हाल ९७८९ हेक्टरमा प्राङ्गारिक खेती गरिदै आईरहेको छ जो कुल खेतीयोग्य जमिनको ०.२३%  पर्नजान्छ। हाल,नेपालभरी जम्मा १४७० संघसंस्थाहरु र २५ निजि संस्थाहरु प्राङ्गारिक खेतिको विकास , प्रवर्द्धन र उत्पादनमा सक्रिय रहेका छन् । नेपालमा हाल इलामको अर्थोडक्स चिया र गुल्मीका कफिलाई प्राङ्गारिक उपज मानिसकेका छ्न। प्राङ्गारिक खेतीबाट उत्पादन भएका कृषिजन्य  वस्तुहरु जस्तै चिया, कफी, सनपाट(jute),अलैची र विभिन्न घरेलु फल तथा जंगली फलफूल निर्यात गरि वार्षिक ७० लाख अमेरिकी डलर आय आर्जन गर्न सफल रहेको देखिन्छ ।

 सम्भावना

प्राङ्गारिक खेतीबाट उत्पादन गरिएका सबै कृषि उपजहरु मानवीय स्वास्थ्यका लागी महत्त्वपूर्ण भएकाले यसको माग दिन प्रतिदिन बढिरहेको अवस्था रहेको छ । बिध्यमान मागलाई पूर्ती गर्न यस प्राङ्गारिक खेतीको दायरालाई बढाउदै उत्पादनमा पनि अनुपातिक वृद्धि आवश्यक देखिन्छ । हावापानी, भुवनोट अनुसार कृषिपकेट क्षेत्रको घोषणा गरि त्यही अनुसार सुहाउँदो प्राङ्गारिक खेतीमा उपलब्ध श्रोत साधन लगानी गर्न सक्ने वातावरण प्रशस्त रहेको पाउन सकिन्छ । अपार जलश्रोतलाई व्यवस्थापन गरि बार्है महिना भूमिगत र सतह सिचाइको प्रबन्ध मिलाउन सकिन्छ । स्थानीय स्तरमा उपलब्ध हुने गोबर, स्याउला,झारपात कुहाएर,जैविक मल प्रशस्त बनाउन सकिन्छ भने शहरबजारमा फोहोरको रूपमा ठुलो राशिमा उत्पन्न हुने जैविक फोहोरलाई कम लागतमा प्रशोधन गरि आवश्यक जैविक मल,कम्पोस्ट मल उत्पादन भइ  रासायनिक मललाई सहजरूपमा बिस्थापन गर्न सकिन्छ । त्यसैगरी कृषि क्षेत्रमा हुने गरेको विभिन्न विषादीहरुको अत्याधिक प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय स्तरमा सहजै उपलब्ध हुने असुरो,नीम,तितेपाती तथा अन्य वनस्पति हरुको मिश्रणबाट झोलमोल तयार गरि बालिमा लाग्ने विभिन्न किराहरुलाई नियन्त्रण गर्न सकिन्छ।

प्राङ्गारिक खेती विकासका लागि सरकारका तिनै तहहरु(स्थानीय,प्रदेश र केन्द्र)ले निति तथा कार्यक्रमहरुमा प्राथमिकताका साथ राखी सोही अनुसार बजेट र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइरहेको अवस्था छ र व्यापक रुपमा यसको सम्भाव्य क्षेत्रको अध्ययन,
अनुसन्धानका लागी सम्बन्धित संयन्त्रहरुलाई परिचालन गरिएको छ।यसले कृषि पेशामा संलग्न कृषक समूह ,सरकारी तथा निजी कृषि फर्महरुलाई प्रोत्साहन गरेको छ । यसर्थ नेपालमा प्राङ्गारिक खेती विकासका सम्भावना निकै बढेर गएको मह्सुस गर्नसकिन्छ ।

 चुनौती / समस्या

नेपालमा प्राङ्गारिक कृषि विकासका सन्दर्भमा अवसर र सम्भावनाहरु प्रयाप्त हुदाहुदै चुनौतीहरु पनि त्यतिकै देख्न सकिन्छ । विषम परिस्थितिको भु:वनोट र हावा पानीको विविधीकरण अनुरुप कृषिका सबै सुबिधाहरु सहज उपलब्ध हुने कुरामा शंका गर्न सकिन्छ । कृषि पेशामा संलग्न अधिकांश कृषकहरुलाई आवश्यक सीप ,ज्ञानको अभाव साथै कृषि क्षेत्रमा प्राप्त हुने सरकारी सेवा सुबिधा, प्रविधिहरुको पहुच बाट निकै टाढा रहेका छ्न । वर्तमान स्तिथिमा नेपालको कुल भु:उपयोग लाखौं खण्डहरुमा विभाजन भएको सन्दर्भमा र विषम भु:वनोटका कारण चक्लाबन्दी खेती प्रणालीको अवधारणामा निकै चुनौती देखिन्छ । साथै सो खेतीयोग्य जमिनमा सिचाइ र आवश्यक लगानीको समेत अभाव देखिएको छ । सरकारका नीति तथा कार्यक्रममा कृषिक्षेत्रको समग्र विकासका लागि बिनियोजित हुँदै आएको बजेट अपर्याप्त,सरल, सहज र फितलो कार्यान्वयनका कारण कृषिलाई प्रविधिमैत्री र समयसापेक्ष परम्परागत खेती प्रणालीलाई बिस्थापन गर्दै कृषिमा आधुनिकिकरण गरि कृषि क्षेत्रलाई आकर्षक रोजगारको केन्द्रको रूपमा रुपान्तरण गर्न नसकिरहेको अवस्था छ फलस्वरुप देशका उर्जाशील जनशक्तिहरु वैदेशिक रोजगारीका लागि अन्यत्र पलायन भइरहेको तितो यथार्थ छ। यति मात्र हैन उत्पादित कृषि उपज प्राङ्गारिक प्रामाणिकरण वा गुणस्तर मापनका लागि भरपर्दो प्रविधियुक्त निकाय र प्रभावकारी अनुगमनको अभावमा उत्पादन हुने विशुद्ध प्राङ्गारिक कृषि उपजका क्षेत्र तथा उत्पादनहरु हतोत्साहित भएको अवस्था छ र रासायनयुक्त कृषि उपजले व्यापक प्रस्न लिइरहेको छ जसले वातावरण प्रदुषित बनाई मानव स्वास्थमा प्रतिकूल असर पारिरहेको अवस्था छ।
             
 निष्कर्ष

देशको मेरुदण्डको रूपमा रहेको यस कृषि क्षेत्रलाई स्थानीय स्तरमा उपलब्ध हुने श्रोत साधनको अधिकतम परिचालनमा जोड दिई कृषिको वर्तमान मौजुदा स्तिथिलाइ परिमार्जन र व्यवस्थापन गर्दै कृषि पेशालाई अझ मर्यादित, सर्वस्वीकार्य बनाउन सरकारका कृषि नीति तथा कार्यक्रमहरुलाइ यश क्षेत्रमा परिलक्षित गर्नु जरुरि रहेको छ । कृषीमा स्वरोजगारको वातावरण  सृजना साथै उत्पादित प्राङ्गारिक कृषि उपजको भरपर्दो यसको बजार व्यवस्थापन र उचित वितरण प्रणालीमा सुदृढ गर्दै बजार माग र निर्यातमुखी व्यवसायीकरण को माध्यमबाट यस पेशासंग सम्बधित कृषक र सरोकारवाला सबै  निकायहरु आर्थिक स्थितिमा सबल भै स्वास्थ सम्मुन्नत र समृद्ध  समाज र देश बन्ने  निश्चित छ ।

(यो लेख विभिन्न पत्रपत्रीका ,पुस्तक र अन्य अन्लाईन खोजमा आधारित रहेको छ र यस लेखका लेखक अविनय कुमार मनसापुरिया प्राकृतिक स्रोत व्यवस्थापन कलेज बर्दिबासमा अध्यायन गर्दै हुनुहुन्छ)

प्रतिक्रिया

प्राङ्गारिक खेती

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?