शुसिला मरासिनी -बुटवल
बर्दिबास -नेपाल हिमाल,पहाड र तराई गरेर प्रमुख तीन भौगोलिक क्षेत्रमा बिभाजित छ।तराईमा उष्ण,पहाडमा चीसो तथा हिमालमा शुष्क वा अत्यन्त चिसो हुनु यी क्षेत्रको हावापानिको बिशेषता हो। हावापानिमा भएको विविधताले कृषि उत्पादनमा समेत विविधता ल्याउदछ।तराईमा धान,गहुँ पहाडमा मकै,कोदो,फापर तथा हिमाली क्षेत्रमा जडिबुटिजन्य वस्तुहरु उत्पादन हुने गरेको पाइन्छ।नेपालमा कृषि क्षेत्रमा पर्याप्त सम्भावना रहेको छ तर सोहि अनुरुप यथेष्ट उपलब्धि भने देख्न पाइएकोे छैन।देशको जनसङ्ख्याको झन्डै ८० प्रतिशत जनता ग्रामीण परिवेशमा बसोबास गर्दछ्न।उनिहरुको जिविकोपार्जन कृषि क्षेत्रसङ्ग जोडिएको छ र ग्रामीण क्षेत्रमा गरिबीको दर सहरी क्षेत्रको भन्दा तेब्बर बढी रहेको छ।यो कुराबाट पनि प्रष्ट हुन्छ कि नेपालमा कृषि क्षेत्रको व्यवसायिकता कस्तो छ र यसमा आर्थिक लाभदायकता कति छ।नेपालको वर्तमान कृषि क्षेत्रकोे अवस्था जे जस्तो भएतापनि नेपाली र समस्त मानव विकासमा आर्थिक वृद्धि,गरिबी उन्मूलन,उच्च जीवनस्तरका लागि एउटा प्रमुख मुद्दा कृषि क्षेत्र हो ।
यस सन्दर्भमा आर्थिक वृद्धि तथा गरिबी निवारणको माध्यमका रुपमा कृषिको व्यवसायीकरणलाई प्रस्तावित गरिएको छ।देशको आर्थिक वृद्धिदर बढ्दो उत्पादनमा निर्भर रहने हुनाले नेपालको हरेक बजेट,हरेक दीर्घकालीन योजनाहरुमा कृषि उच्च प्राथमिकतामा पर्ने गरेको छ।यसका साथै कृषि उत्पादनमा विविधता ल्याएर हरेक क्षेत्रलाइ कृषिजन्य भूमि र उत्पादनको आधारमा पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ।तर नेपालको बिडम्बना नै भन्नु पर्छ घोषण गरेका धेरै योजना तथा कार्यक्रमहरु पुर्णरुपमा कार्यान्वयन हुन सकेका छैनन।शुरु गरिएका कार्यक्रमहरु पनि पूर्वनिर्धारित समयमा नसकिनु अर्को जटिल समस्या हुन गएको छ।
नेपालको कृषि क्षेत्रमा जति सम्भावनाहरु रहेका छन्,त्यतिनै समस्याहरु पनि रहेका छन्।राज्यले युवावर्गलाई व्यवसायिक कृषितर्फ आकर्षित गर्न सकेको छैन।कृषि पेशामा लागेका कृषकहरुको कृषिमा रुचि देखिदैन,बरु यो बाध्यतात्मक पेशा जस्तो बनेको देखिन्छ।कृषकसँग कृषि सम्बन्धी आधुनिक शिप र प्रविधि छैन।बर्षमा दश दिन जोत्न ३६५ दिन गोरु पाल्नु पर्ने बाध्यता छ । सिंचाई छैन,लगानी गर्ने पैसा छैन,उन्नत बिउ छैन,मल छैन,बेच्ने बजार छैन,सरकारले दिने अनुदानमा लक्षित वर्गको पहुँच छैन।कृषिको अहिलेको यो अवस्थाबाट आत्मनिर्भरताको बाटो तय गर्नुपर्छ र यो कम चुनौतिपूर्ण छैन।
नेपालमा उत्पादनको मात्र होइन बजारीकरणको पनि उत्तिकै समस्या छ।नेपालमा उत्पादित टमाटर बजार नपाएर कुहिन परेको छ भने भारतबाट दैनिकी करोडौ रुपियाँको टमाटर आयात गरि बिक्रि गरिएको छ।काभ्रे र चितवनका किसानले बजार नपाएर सडकमा दुध पोखिरहदा कर्णालीका बालबालिकालाई पौष्टिक तत्व नपुगेर कुपोषण लागिरहेको छ।झापा, मोरङ र दाङमा उत्पादित धानले बजार पाउँदैन तर प्रत्येक बर्ष भारतबाट करिब ३० अर्बको चामल नेपाल आयात हुने गरेको छ।उखु उत्पादन गर्ने किसानहरुले उखुको उचित मुल्य नपाएको अवस्था छ।यी सबै कुराहरुले गर्दा राज्यको कृषि क्षेत्रप्रतिको उदासीनता र उपेक्षा प्रष्ट रुपमा देख्न सकिन्छ।
राज्यले खेतियोग्य जमिनको कम्तिमा ७० देखि ८० प्रतिशत जमिनमा उन्नत जातको बिउ र समयमा मल पुर्याउन सक्यो भने अहिलेकै अवस्थामा पनि खाद्यान्नको उत्पादन दोब्बर हुन सक्दछ।सहज कृषि कर्जा, सिंचाइ, यान्त्रिकिकरण, प्रविधि, सुनिश्चित बजारीकरण र व्यवसायीकरणमा ध्यान दिन सक्यो भने देश पाँच वर्ष भन्दा कम समयमै कृषिमा आत्मनिर्भर हुन सक्दछ।अहिलेको स्थितिमा र अहिलेकै कार्यान्वयनको अवस्थाले भने कृषिमा आत्मनिर्भर हुने बाटो अझ लामो हुने देखिन्छ।विश्वमा कृषिमा सफल देशहरु सफल हुनुको पछाडी उनिहरु उत्पादन,अनुसन्धान र कृषि उद्योगलाई एकअर्कासङ्ग जोड्न सक्नु हो।नेपालमा अनुसन्धान सिमित छ।स्थापित कृषि तथा बन विश्वविद्यालयको योगदान अनुकरणीय रहेता पनि पर्याप्त कृषि विज्ञहरु उत्पादन गर्न सकेको छैन।कृषि प्राविधिक उत्पादन गर्ने कृषि कलेज तथा अनुसन्धान हुने नार्क(NARC) जस्ता संस्थाहरु राजनीतिको चपेटामा परेको देखिन्छ।
सरकारको सहि कृषि नीति, नीति अनुसारको बजेट, नीतिलाई हासिल गर्ने योजना, सहि कार्यान्वयन र नियमित अनुगमनले मात्र कृषि पेशालाई सम्मानित र सफल बनाउन सकिन्छ।हाम्रा कतिपय कृषि नीतिहरु अत्यन्त राम्रा बन्ने गरेता पनि फितलो कार्यान्वयनले गर्दा कृषि क्षेत्रले सफलता हासिल गर्ने सकेको देखिदैन।एकातर्फ राज्यले कृषिको आधुनिकिकरण विना अब देश समृद्ध हुन सक्दैन भन्दैछन् भने कार्यान्वयन पक्ष अत्यन्त परम्पराग्त देखिन्छ ।एक पोका बिउ, पाँच वटा कागतीका बेर्ना,एक घार मौरी बाँडेर कृषिले फड्को मार्ने कल्पना गर्न सकिदैन।परम्पराग्त तरिका र मानसिकताले काम गरेर कृषिमा आधुनिकिकरण सम्भव छैन।नीति तथा कार्यक्रमका पानामा लेखेर मात्र पनि कृषिमा आधुनिकता र व्यवसायिकरण हुन सक्दैन।
कृषि क्षेत्रलाई आधुनिकिकरण गर्न कृषि विज्ञको उत्पादन गर्ने,युवा पुस्तालाई यो क्षेत्रमा ल्याउन आकर्षक प्याकेजहरु ल्याउने,कृषि कर्जा सरल र सहज बनाउने,कृषि उपजको सुरक्षाको प्रत्याभूति गर्ने,प्रविधि तथा यान्त्रिकरणमा जोड दिने र बजारीकरणको सुनिश्चितता गर्न सक्नु पर्दछ ।`नेपाल एक कृषि प्रधान देश हो’ बर्षौ देखि यो भन्दै र लेख्दै आएको कुरा हो।कृषि क्षेत्रमा यथेष्ट उपलब्धि हासिल गर्ने कि सधै लेखेर मात्र पुग्ला?