Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

नेपालमा कृषि र यस क्षेत्रमा यान्त्रिकरण

krishireview
२०७७ साउन ३० , शुक्रबार ११:०८ मा प्रकाशित | २०९६ पटक पढिएको

सुस्मा रेग्मी प्राकृतिक स्रोत ब्याबस्थापन कलेज,बर्दिबास
परिचय:
नेपाल कृषिप्रधान देश भएकाले कृषि क्षेत्रको विकाश प्रयासमा रास्ट्रले प्राथमिकताका साथ साधनस्राेतहरु परिचालन गर्दै आएको छ। सरकारको मुख्य सोच कृषिमा नयाँ नयाँ प्राविधि भित्र्याउदै जाने र प्रयोग गरेर कम क्षेत्रफलमा धेरै उत्पादन कसरी गर्न सकिन्छ भन्नेतर्फ छ। जस अन्तर्गत कृषि यान्त्रिकरण प्रबर्द्धन केन्द्र, नक्टाझिज जनकपुर पनि एक रहेकोे छ। २०२८ साल देखि सञ्चालन भएको यस केन्द्रले कृषक वर्गको हकहित तर्फ चिन्तनशील रहि सिञ्चित क्षेत्रको बिस्तार गरि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरि रोजगारको पनि अवसर सृजना गर्दै कृषी क्षेत्रमा अहम् भुमिका निर्वाह गरिरहेको छ। बास्तवमा भन्नूपर्दा कृषिमा यान्त्रीकरणको मध्यमबाट उत्पादकत्व १०-२० प्रतिशत सम्म बढ्छ। सर्बेक्षण अनूसार देशका २२.४% घरपरिवारले ट्र्याक्टर प्रयोग गरेका, २८.९% धारकहरुले फर्म टेक्नोलोजी अर्थात फलामको हलो प्रयोग गरीरहेकका र २०.९% ले फार्ममा थ्रेसर प्रयोग गरेको भेटिएको छ।

करिब ३ अर्ब २२ करोड बजेट बिनियोजन गरि सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना ल्याएको जस परियोजना भित्र मेशिनरी सामानहरू जस्तै ट्रयाक्टर, रोटाभेट र ह्यारो आदि खरिद गर्नुपरेमा ५०%, भण्डारण घर निर्माणका लागि ८५% र उन्नत बिउ मलको लागि ५०% अनुदान प्रदान गारिन्छ। यसरी नेपालमा यान्त्रिकरण विकासका लागि धेरै परियोजना, नीति तथा नियमहरूको विकास हुँदै गएका छन्।

नेपालमा यसको ईतिहास:
उपकरणहरुको चिनारी, उपयोग गर्ने तरिका, प्रमुख भागहरु तथा जगेडा यन्त्रहरू, पूर्व सावधानी तथा संचालन गर्दा ध्यान दिनपर्ने कुरा, चलाउने बिधि, समस्या तथा सामान्य मर्मत सम्हारको बारेमा जानकारी दिनु आवश्यक छ। यस पश्चात बर्तमान अबस्थामा हेर्दा अनुदानका रूपमा केहि मापदण्ड र प्रक्रिया पुरा गरेपछि किसानलाइ धुबानी साधन, थ्रेसर, प्लान्टर, हार्वेस्टर, laser land leveler, ग्रीन हाउस, थोपा सिचाइ, अर्गानिक मल तथा बिसादी, कोकोपिट, बेर्ना राख्नका लागी चहिने ट्रेयहरु, ह्यान्ड स्प्रेय पम्पहरु, साथै ट्रयाक्टरहरु दिनुपर्छ। उत्पादनलाई वढावा दिन र कृषकहरुलाई नोक्सानीबाट बचाउन कृषि पेशालाई लाभदायक र ब्यवसायिक रूपमा विकास गर्न कृषि क्षेत्रमा आधुनिकीकरणलाई जोड दिनुपर्छ।

कृषि क्षेत्रको दीगो विकासका लागि ग्रामीण क्षेत्रको कृषि आय तथा खाद्य सुरक्षा सुनिश्चित गर्न भूमि तथा श्रम उत्पादकत्व वृद्धि गर्न आवश्यक छ। यसका लागि कृषिमा व्यावसायिकरण, कृषि बजारमा सहज पहुँच तथा कृषि ईन्जिनियरिङ्ग साथै जैविक प्रविधिहरूको बिकास गर्नलाइ संयुक्त प्रयासको आवश्यकता पर्दछ । कृषिलाई बैज्ञानिक ढंगले यान्त्रीकरण गरेर व्यावसायीकता तर्फ लैजाने र बिस्तारै तरकारी, फलफूल, खाद्यान्न उत्पादनमा जोड दिइ व्याबसायिकता तर्फ द्रुत रुपमा अघि बढाउनुपर्छ। व्यावसायिक कृषिको कारणले रोजगारीको अवसर र आम्दानीमा बृद्धि भई कृषकहरुको जीवन पद्धतीमा सुधारात्मक परिवर्तन ल्याउन सहयोग पुग्छ।

साथै, बिदेश पलायन हुने सोचाइमा रहेका, विदेशको जुठ्यानमा हात कुहाई रहेका र नारकीय पीडा भोगिरहेका युवायुबतिहरूलाई कृषि पेशामा आकर्षित र सम्लग्न गराउन एकीकृत रूपमा समयसापेक्ष यान्त्रिकरण कृषि सामाग्री, प्राविधि र येन्त्रहरु प्रदान गर्ने र सबल बाताबरण सृजना गर्न सकेमा देशको लागी सुनौलो अवसर हुन सक्छ।

-धान रोप्ने यन्त्र

प्रयोग:
सन् १९८० देखि नै जापानिज र कोरियाली पावर टिलरहरु जस्ता उपकरण भित्रिएका हुन् तर प्रारम्भिक पुँजी लागतका कारण सफलता हासिल गर्न सकेनन्। यसैगरि पहिला चीनबाट सानो हर्स पावर, ह्याण्ड ट्रयाक्टर(२ WT अर्थात् मिनी टिलर) पनि ल्याइन्थ्यो। यसै क्रममा सन् २०१२ मा करिब ४२००० ट्रयाक्टरहरु देशभित्र रहेको र CSISA को रिपोर्ट अनुसार नेपालको मध्य पहाडि क्षेत्रमा १०,००० भन्दा बढी मिनी टीलरहरुको प्रयोग भएको भेटियो। मुलुकमा उपलब्ध मेकानिकल पावर २३% मात्र हो, जसको अधिकांश पावर (९२%) तराईमा नै केन्द्रित रहेको छ। अझै पनि पहाडि र हिमाली क्षेत्रको साघुरो गाउँहरूमा भौतिक सुविधाहरूको अभाव(जस्तै सडक नेटवर्क र बिजुली) को अभावले गर्दा मुख्यतः मानवमा ३६.३% र जनावरमा ४०.५% निर्भर रहेको छ। अहिले सामान्यतः परम्परागत काठको हलो, फलामको मोल्ड बोर्ड हलो, डिस्क ह्यारो , मिलिंग मोरटार, कुटो, हँसिया ट्रयाक्टर, ह्याण्ड स्प्रेयर, धान सेलर, पोलिसर, grinding mills हरुलाई बहुमतको रूपमा प्रयोगमा रहेको देखिन्छ।

अवस्था:
कृषिप्रधान भनेर चिनिएको हाम्रो देशमा उत्पादन वृद्धि गर्न नसक्दा सामान्य चामल, गहुँ, दाल, आलु समेत अपुग भएर अहिले झन्डै १ खर्ब ६ अर्बको कृषि उपज आयात भएको तथ्यांकबाट हामी सबै अबगत नै छौ। मुख्य शहरमा घना बस्ती, जग्गा घडेरिकरण तथा गाउँ स्तरमा देखिएको बढ्दो बाँझोकरणले गर्दा कृषि उत्पादन तथा वितरणमा समस्या देखापरेको छ । दैनिक उपभोग्य बस्तुमा बढदै गएको परनिर्भरताका कारण बाह्य क्षेत्रबाट आयत गरिरहनु परेको छ ।
कृषि कार्यालयमा केहि पहुचवाला किसानको पकड जमेका कारण रातदिन खट्ने किसानले राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुबिधाबाट बन्चित भएका छन्। कृषकलाई दिने भनेको सेवा र सुबिधा पनि कृषि क्षेत्रका बिचौलिया र नेताहरूका अगाडि पछाडि लाग्नेले मात्र उपभोग गरिरहेको तर बास्तबिक कृषिक भने बीउ बिजन समेत किन्न नसक्ने अवस्थामा रहेको र अलिकति अनुदानमा पाइहाले पनि कमिसन दिनुपर्ने गुनासो पोख्छन्।

हो, यस्तो छ हाम्रो देशको दर्दनाक अवश्था!! त्यसैले भनिन्छ अहिले बिचौलिया वर्ग फस्टाउने अनि राष्ट्रसेवक मोटाउने तर रास्ट्र अनि किसानहरू दुब्लाउने जस्ताे महामारीको चपेटामा परेको छ, हाम्रो देश नेपाल। यस्ता विकृतिहरूको छिटो भन्दा छिटो शल्यक्रिया गर्न जरुरि छ।

समस्याहरु:
झन्डै ६५ प्रतिशत भन्दा बढी जनसंख्या आश्रित रहेको यस क्षेत्रका लागी नेपाल सरकारले उचित कदमहरु नचाल्दिदा देशका मेरुदण्ड मानिने किसानहरु मर्कामा परिरहेका छन। आर्थिक समृद्धिका नारा जताततै गुन्जिदा अधिकाङ्स जनता कृषिमा आश्रित रहेको अवस्थामा कृषिको यांत्रिकरण र कृषिकको सिप बिकासको लागि सरकारले र सरोकारवालाले महत्त्वपूर्ण कदम चाल्न सकेका छैनन। हरेक साल निति तथा कार्यक्रम निर्माण गरिदा तथा बजेट बिनियोजन गर्दा कृषिलाई उच्च प्राथमिकतामै राखेको भएता पनि अझै पर्याप्त मात्रामा यान्त्रिकरणको र प्राविधिको अभावमा मानवश्रम कै बर्चस्व र उपलब्धि सुन्यसरह देख्नुपरेको छ। अझ, यान्त्रिकरण विकास गर्ने भनेर बनाइएका कयौ योजनाका किताब त अहिले NARC को कुनै दराजभित्र धुलो खाएर मोटाइरहेका होलान्। त्यसैले, राष्ट्रिय अन्तराष्ट्रिय परिवेश विचार नगरी रोमाञ्चक योजनामात्रै तर्जुमा गर्दैमा र स्याबासि बटुल्दै नाक ठूलो पारेर गहकिलो भाषणमात्रै दिदैमा कार्यान्वयनको पक्ष न्युन रहेकाे सूक्ष्म देखि अति सुक्ष्म ज्ञान हुनुपर्छ भन्ने कुरा पनि बुझ्नु जरुरि छ।

अनि बर्षेनि अरबौ रुपैयाँको मेसिनरी सामान आयात गरेको छ सरकार तर, यान्त्रिकरण अनुसन्धानको पाटो कमजोर भैदिदा र परम्परागत कृषि प्रणालिका कारण कृषि क्षेत्र सोचेजत्तिको उपलब्धिमुलक बन्न सकेको छैन। तराई क्षेत्रमा येदाकदा स्थानमा खन्जोत्का लागी ट्याक्टर र सिचाइका लागि जेनेरेटरको प्रयोग गर्न सुरु गरेपनि व्यावसायिक रूपमा कृषिमा लाग्नेको संख्या नगन्य मात्रामा रहेको छ। कृषकहरुले चाहेजति प्राविधिको अनुभव गर्न पाएका छैनन्।

सामान्यतः असंगत सरकारी नीतिहरु, बढ्दो जनसांख्यिक दबाब, कृषी क्षेत्रको आकारमा गिरावट,किसानहरूको गरिबी, मेशिनरीको अपर्याप्त सुविधा, खराब स्थलाकृति, अपर्याप्त प्राविधिक जनशक्ति जस्ता समस्या देखा परिरहेका छन्। साथै, उत्पादनमा उच्च लागत लाग्ने अनि अधिक जोखिम पनि हुने तर कृषकलाई अन्तमा कम प्रतिफल मिल्दा किसानमा अस्थिरता देखिनु पनि स्वाभाविक नै मानिन्छ। अन्ततः आधुनिकीकरणको अभाव, कम ब्याजदरमा अपर्याप्त कृषि सुविधा, अनुदानको क्रममा अपारदर्शिता आदिलाई समस्याका रूपमा लिन सकिन्छ।

समस्याको समाधान:
युरोप, अमेरिका, भारत,चीन जस्ता विकसित राष्ट्रले त दिनप्रतिदिन नयाँ नयाँ यन्त्रहरु भित्र्याएर कृषि क्षेत्र संरक्षण गरिरहेका, अनुदान दिईरहेका छन् भने हामी किन संरक्षण नगर्ने, किन किसानलाई सहयोग नगर्ने? त्यसका लागि केहि समाधानहरु तल रहेका छन्:
• निर्वाहमुखी कृषि प्रणालीलाई बजारमुखी, प्रतिस्पर्धि र ब्यवसायिक प्रणालिको रूपमा बिकास गर्नका लागी कृषी यान्त्रिकरण प्रबर्द्धन नीति, २०७१ अनुसार कार्यक्रमहरु गरि बिकास साथै नयाँ नयाँ प्राविधि देशमा भित्र्याउनु पर्छ।
• नेपालको कृषि क्षेत्रलाई व्यावसायिक र उच्च प्राविधियुक्त बनाउन, पुर्ण यांत्रिकरण खेती प्रणाली (fully mechanized farm) हरुको प्रबर्द्धनात्मक कार्यगरि सरकारले आफुले दिएको अनुदान पारदर्सि ढंगले अगाडि बढाउनुपर्छ।
• किसान तथा युवाहरूलाई आकर्सित गर्न र कृषि पेशालाई बढी मर्यादित बनाउनेतर्फ समयसापेक्षित बनाई बैज्ञानिक तथा यान्त्रिकरण बनाउन सरोकारवालाले ध्यानाकर्षण गर्न जरुरी छ।
• खण्डिकृत जमीनमा परम्परागत तथा निर्बाहमुखी खेती प्रणालिको अवलम्बन गरिएको तर ति सरकारी प्रयासहरु सीमित स्रोत साधनहरुका कारण एकीकृत नभई छरिएर जाने अनि प्रतिफलमुखि हुन नसकेकोले जमीनको समेकन, विभिन्न प्रजातिहरूको अवस्थित विविधतामा नै संरक्षण गर्न पहाडि क्षेत्रमा साना जमीन पार्सल खेती गर्न कृषि यान्त्रिकरणको बिकास गर्न जरुरि छ।
• उत्पादनलाई वढावा दिन र कृषकहरुलाई नोक्सानीबाट बचाउन कृषि पेशालाई लाभदायक र ब्यवसायिक रूपमा विकास गर्न कृषि क्षेत्रमा आधुनिकीकरणलाई जोड दिनुपर्छ। यस्तै प्रविधि स्मार्ट अन्तर्गत परम्परागत ज्ञान र प्रविधिहरुलाई प्रोत्साहन गर्दै कृषिमा आधुनिक प्रविधि अवलम्बन, दीगो कृषि यान्त्रीकरणका लागि कस्टम हायरिंग सेन्टर, करार खेती,जग्गा चक्लाबन्दी अभ्यासलगायतका क्रियाकलापमा जोड दिइ बालीको उत्पादकत्व वृद्धि गरिने छ।
• विगतमा पहाडि तथा हिमाली क्षेत्रमा यान्त्रिकरणलाई बढावा दिन नसक्दा र नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा धेरै हस्तक्षेप खेप्नु परेको छ, जसका कारण सुधारिएको यान्त्रिकरण नीति तथा नियमको नीति तथा नियमहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्छ।
• साथै, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यावसायिक संघको संयुक्त आयोजनामा विभिन्न कार्यक्रमहरु संचालन हुनुपर्छ।
• कृषि उपज उत्पादनमा यान्त्रिकरण अवलम्बन हुन नसकेको कुरा मध्यनजर गर्दै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न स्पष्ट मार्गचित्र का साथ उत्पादनका लागि चा हिने आवश्यक प्रविधि तथा सामग्रीको व्यवस्था हुनुपर्छ।

साथै कोरोना, फौजी किरा तथा सलह कीराले अर्थतन्त्रमा निम्त्याएको सङ्कटको यस घडीमा देशको कृषि क्षेत्रलाई व्यावसायिकरण र आधुनिकीकरणको दिसामा डोर्याउन बिद्धमान बिकृती बिसङगतीका ग्रन्थहरुको चिरफार गर्दै विभिन्न यन्त्र उपकरणको प्रयोगले उत्पादन बढाउने कुरामा धेरै बिलम्भ गरिनुहुदैन।

(यो लेख विभिन्न खोज ,पत्रपत्रिकामार्फत परिमार्जित गरि थप तथ्यांक अनि अनुसन्धानमा रहेर प्राकृतिक स्रोत ब्याबस्थापन कलेज बर्दिबासमा अध्यनरत बिद्यार्थी सुस्मा रेग्मीले लेख्नु भएको हो।)

प्रतिक्रिया

कृषिमा यान्त्रिकरण

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?