Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

तिते फापर-१ र तिते फापर-२ को जातीय विशेषताहरू र उन्नत खेती प्रविधि

सुबोध पौडेल
२०७८ असार १३ , आईतबार ०२:०६ मा प्रकाशित | १३५९ पटक पढिएको

परिचय-नेपालमा अन्नबालीहरु मध्ये, फापर बाली क्षेत्रफल, उत्पादन, उत्पादकत्व र उपभोगको हिसाबले छैटौ स्थान ओगटेको छ । आ. ब. २०१६ / ०१७ को कृषि तथ्यांक अनुसार नेपालमा यसको कुल क्षेत्रफल १२०१७ हेक्टर, कुल उत्पादन ११०७० मेट्रिक टन र उत्पादकत्व १.०९ टन प्रति हेक्टर भएको पाइन्छ । यो बाली उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरुका लागि प्रमुख अन्न बाली मानिन्छ। यसको खेती मध्य पहाडी क्षेत्र (६०० मि. १७००मि.) अन्तर्गतका जिल्लाहरु विशेष गरि रुकुम, रोल्पा, जाजरकोट, काभ्रेपलान्चोक, दोलखा, ओखलढुङ्गा आदिमा गरिन्छ भने उच्च पहाडी क्षेत्र (> १७०० ४५००मि.) का जिल्लाहरु मुस्ताङ्ग, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, सोलुखुम्बु, ताप्लेजुङ्ग आदि प्रमुख हुन । पहाडी बाली अनुसन्धान कार्यक्रम, काब्रेद्वारा हाल बिकाश गरिएका जातहरु दोलखा जिल्लाको मेलुंग गाउँपालिकाको मेलुंगबाट एक्सेसन #२२२३ र गौरीशंकर गाउँपालिकाको झ्याँकुबाट एक्सेसन #२२२७ सन् १९८६ मा सङ्कलन गरि सुरुमा चारीविकरण गरी राष्ट्रिय अवलोकन नर्सरीमा समावेश गरिएको थियो । जातीय सुधार तथा मूल्यांकनको क्रममा यी दुवैमा केही विविधता पाइएकोले छनौट गर्ने क्रममा अर्को छुट्टै लाइनको रुपमा विकाश गरी एक्सेसन#२२२३-१ र एक्सेसन #२२२७- १ नामबाट मध्य पहाडी र उच्च पहाडी क्षेत्रहरुमा धेरै वर्ष सम्म परीक्षण र मूल्यांकन गरी उत्पादन लगाएत अन्य गुणहरु र कृषकहरुको सकारात्मक प्रतिक्रियाको आधारमा छनौट गरिएका यी उन्मोचन योग्य जातहरु क्रमशः एक्सेसन #२२२३-१ लाई तितेफापर १ र एक्सेसन #२२२७-१ लाई तितेफापर-२ नामाकरण गरी जातीय उन्मोचन तथा दर्ताको लागि प्रस्ताब पेश गरी हाल सम्म छलफलको क्रममा तापनि निकट भविष्यमा मध्य पहाडी क्षेत्र र उच्च पहाडी क्षेत्रको लागि सिफारिस हुने क्रममा छन्।

महत्व तथा उपयोगः

तितेफापरलाई उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरुको लागि खाध्य तथा पोषण सुरक्षाको हिसाबले अत्यन्त महत्व पूर्ण मानिन्छ यो बालीलाई जलवायु परिवर्तन अनुकुल, सिमान्तकृत र कम मलिलो जग्गामा कम हेरचाहमा पनि खेती गर्न सकिन्छ । यसको दाना, पात, काण्ड र जरा प्रयोग गरिन्छ । यसको प्रयोग उच्च रक्त चाप, मुटु, कोलेस्टेरोल, मधुमेह आदि रोगीहरुका लागि अत्यन्त उपयोगी मानिन्छ । यसमा प्रशस्त मात्रामा फलाम तत्व पाइने हुँदा गर्भवती महिला र बाल बालिकाहरुका लागि अत्यन्त उपयोगी मानिन्छ । नेपालमा फापरबाट करिब ३४ प्रकारका खानाका परिकार बन्दछन । यसलाई रोटी, दोर्पा (दाल), फुरौला, जाँड रक्सि, हरियो साग तथा सुकेको पातको तरकारी अचार, सुप आदिको रुपमा प्रयोग गरिन्छ । यसको वृद्धि र विकाश छिटो हुने हुँदा झारपातको वृद्धि र विकास हुन् दिदैन त्यसैगरी यसको दाना र पराल गाईबस्तुलाई खुवाउनको, समान प्याकिंग गर्न, दानाको बोक्राबाट तकिया बनाउन, हरियो बिरुवा मलको रुपमा र भूक्षय रोकथामको लागि कुनै कारणबस पहिलो बाली असफल भएमा अर्को मुख्य बाली लगाउनु भन्दा पहिले यो बाली लगाएर सजिलै उत्पादन लिन सकिन्छ । आजकल यसलाई नगदे बालीको रुपमा र स्वास्थ्य सम्बन्धि जनचेतनाको कारणले खाना तथा औषधीको रुपमा प्रयोग गरिने हुँदा यस बालीको महत्व दिन प्रति दिन बढ्दै गएको पाइन्छ । यस बालीलाई भविष्यको प्रमुख खाद्यन्न बाली पनि भनिएको छ ।

पौष्टिक तत्वहरु:

खाद्य अनुसन्धान महाशाखा, खुमलटार द्वारा गरिएको पोषक तत्व विश्लेषणको नतिजा अनुसार तिते फापर १ र तिते फापर २ मा पाइने पौष्टिक तत्वहरु निम्नानुसार छन ।

तालिकान. १ तिते फापार-१ र तिते फापार-२ मा पाइने पौष्टिक तत्वहरु

जातको नामकार्बोहाईड्रेट (%)dbप्रोटिन (%)dbखरानी (%)dbचिल्लो (%)dbफाइबर (%) dbक्याल्सियम (%) मि.ग्रा./ १०० ग्रामफोस्फोरस (%) मि.ग्रा./ १०० ग्रामफलाम (%) मि.ग्रा./ १०० ग्रामरुटिन मि.ग्रा. / १०० ग्राम
तिते
फापर १
६५.९८१३.०६२.३७३.५१२.१७४.०५१८४.२९२.४५७६१.४
तिते
फापर २
६४.११५.४१२.३७३.४११.३५५३.३६१०८.२१.०४६४९.२

जातीय विशेषताहरु:

तिते फापर-१

विभिन्न समयमा गरिएका परीक्षणहरुको आकंडा अनुसार यसको बोटको औषत उचाई ८३ से.मी., काण्डको रंग सुरुमा हरियो र पाक्ने समयमा गुलाबी रंगको, पातको भेट्नो हल्का गुलाबी रंगको, एउटा बोटमा ५-७ वटा मुख्य हागाहरु लाग्ने, पातको संख्या ८ वटा प्रति काण्ड, ४५ (४०-५१) दिनमा फूल फुल्ने, एउटा बिरुवामा फूलको झुप्पा १२ (११-२३) वटा, औषत पाक्ने अवधि ७७ (७३-८१) दिन, दानाको आकार गोलो र दानाको टुप्पो तिर केहि तिखो परेको हुन्छ । हजार दानाको तौल १८.२ ग्राम र उत्पादकत्व १५२० (११४०-१७६०) कि.ग्रा. प्रति हेक्टर पाइएको छ । यसले धुले ढुसी (पाउडर मिल्ड्यू) र सेते ढुसी (डाउनी मिल्ड्यू) रोगहरु सहन सक्दछ।

तिते फापर-२

यस जातको बोटको औषत उचाई ८५ (५०-१३६ से.मि. ५-९ वटा मुख्य हाँगाहरु प्रति बोट लाग्ने गर्दछन । यसको डाठको रंग सुरुमा हरियो र पाक्ने समयमा गुलाबी रंगको, पातको भेट्नो हल्का गुलाबी रंगको, पातको संख्या ८ ११ प्रति काण्ड, औषत ४४ (४०-४९) दिनमा फूल फुल्ने, फूलको रंग हरियो / सेतो, प्रति बिरुवा फूलको झुप्पा १५ वटा लाग्ने, ७७ (७२-८५) दिनमा पाक्ने, पाक्ने समयमा वा पाके पछि दानाको रंग हल्का खैरो वा कालो हुने, दानाको आकार हल्का गोलो र दानाको टुप्पो तिर केही बोधो परेको, हजार दानाको तौल १८.३ ग्राम र उत्पादकत्व १६२० (११२०-२.०४०) कि.ग्रा. प्रति हेक्टर रहेको छ । यो जातले धुले ढुसी (पाउडर मिल्ड्यू) र सेते ढुसी (डाउनी मिल्ड्यू) रोगहरु सहन सक्दछ।

सिफारिस क्षेत्र:

यी दुवै जातहरु मध्य पहाडी (६० मि. १७०० मि.) र उच्च पहाडी क्षेत्रको (> १७०० ४५०० मि.) सम्म खेती गर्न सकिन्छ ।

हावापानी:

यसको खेती १६° से.- ३०° से. सम्मको तापक्रममा उपयुक्त मानिए तापनि उचित वानस्पतिक वृद्धिको लागि १७° से. २०° से. सम्मको तापक्रम साथै ६० ८०% सापेक्षिक आद्रताको आवश्यकता पर्दछ । फापरको बीउ उम्रनको लागि कम्तिमा पनि ६-८° से. तापक्रम चाहिन्छ तापनि १६९-२२° से. तापक्रम उपयुक्त मानिन्छ । फापरको वृद्धि र विकासको लागि २° से. भन्दा कम तापक्रम हानिकारक मानिन्छ । फूल फुल्ने अवस्थामा तातो हावा चलेमा वा हावाको गति बढी माटोमा चिस्यानको मात्रा कम तापक्रम बढी, तुषारो र बढी सुख्खा परेमा उत्पादनमा निकै हास आँउछ फापरको सफल खेतीका लागि कम्तिमा पनि औषत वार्षिक वर्षा १०० मि.लि. हुनु राम्रो मानिन्छ।

बाली प्रणाली:

(१) उच्च पहाडी क्षेत्र

  • जौ-फापर
  • गहु-फापर
  • फापर-खाली
  • फापर-गहु-फापर
  • फापर-खाली-कोदो

(२) मध्य पहाडी क्षेत्र

  • मकै-फापर
  • धान-फापर
  • मकै-फापर-खाली
  • मकै-कोदो-फापर
  • धान-फापर-खाली
  • मकै-भट्टमास-फापर-खाली
  • मकै-भट्टमास-फापर-तोरी

बाली लगाउने समयः

( १ ) उच्च पहाडी क्षेत्र

लगाउने समय

  • जेष्ठ (मे-जुन)
  • आषाढ (जुन-जुलाई)
  • श्रावण (जुलाई-अगस्त)

भित्र्याउने समय

  • भाद्र ( अगस्त सेप्टेम्बर)
  • भाद्र-असोज (सेप्टेम्बर अक्टुबर )
  • असोज -कार्तिक (अक्टुबर)

(२) मध्य पहाडी क्षेत्र

बाली लगाउने समय

  • भाद्र अन्तिम (सेप्टेम्बर)
  • असोज दोस्रो हप्ता सम्म (सेप्टेम्बर अन्तिम )
  • फाल्गुन (फेब्रुअरी-मार्च)
  • चैत्र (मार्च अप्रिल)

बाली भित्र्याउने समय

  • कार्तिक (अक्टुबर-नोवेम्बर)
  • मंसिर ( नोवेम्बर)
  • बैशाख (अप्रिल-मे )
  • जेष्ठ (मे-जुन)

माटोः

फापरलाई कम उर्बर माटो देखि बढी उर्वरता भएको माटोमा खेती गर्न सकिन्छ तर बढी उर्बरसिल माटोमा धेरै वानस्पतिक बृद्धि भै बोट ढल्दछ । यसको उचित वृद्धि र विकासको लागी ५-६ पी. एच. भएको माटो उपयुक्त मानिन्छ तिते फपरले अन्य बालीहरु भन्दा केही बढी अम्लियपना सहन सक्दछ यसको उपयुक्त खेतीको लागि हल्का बलौटे वा बलौटे दोमट माटो उपयूक्त मानिन्छ । धेरै बजनदार, चिम्ट्याईलो, पानी जम्ने माटोमा फापरको खेती राम्रोसँग गर्न सकिदैन । बढी चिम्टाइलो माटोमा एकनासले बीउ उम्रन नसकी बिरुवाको घनत्व कम हुन्छ । भर्खरै मात्र फडान गरिएको जग्गा, पानीको निकास भएको खेतमा पनि यसको खेती सफलतापूर्वक गर्न सकिन्छ।

फापरको जात र बीउको छनौटः

फापरबाली बाट बढी उब्जनी लिनको लागि उपयुक्त जातको शुद्ध र स्वस्थ बीउ लगाउन अत्यन्त आवश्यक हुन्छ । त्यसैले बीउको छनोट गर्दा ठूलो, पोटिलो, कीराले नखाएको, रोगको नलागेको, अन्य झारपातको बीउ र बेजातको बीउ नमिसिएको, ८०% भन्दा बढी उमारशक्ति भएको बीउ छान्नु पर्दछ । राम्रो बीउको छनोटले मात्र पनि साधारणतया २०% देखि २५% सम्म उत्पादनमा वृद्धि गर्न सकिन्छ ।

जमिनको तयारीः

फापरको बीउ एकनासले उम्रन र उपयुक्त घनत्व कायम गर्न जमिनको तयारी राम्रोसँग गर्नु पर्दछ पहिलो बाली काट्ना साथ एक पटक वा बढीमा दुई पटक राम्रो संग हलो वा ट्याक्टरले जोतेर डल्ला फोरी झारपातहरु हटाई माटो बुरबुराउदो बनाउनु पर्दछ । माटोलाई धेरै मसिनो र मिहिन बनाउनु हुदैन । जमिन तयार गर्दा पानीको निकासको राम्रो प्रबन्ध गर्नु पर्दछ।

मलखादको मात्रा र व्यवस्थापनः

यस बालीबाट राम्रो उत्पादन लिनको लागि गोठेमल ५ देखि ८ टन प्रति हेक्टर बीउ छर्नु भन्दा १५-२० दिन अगावै प्रयोग गर्नु पर्दछ वा पहिलो जोताइमा राम्रोसंग माटोमा मिलाउनु पर्दछ । प्रशस्त मात्रामा गोठे मलको प्रयोग गरेमा रासायनिक मलको खासै आवश्यकता पर्दैन । यदि रासायनिक मल प्रयोग गर्नु पर्ने अवस्थामा रोप्ने समयमा एक रोपनी क्षेत्रफलको लागि युरियामल २ कि.ग्रा. र डी.ए.पी.मल ३.३ कि.ग्रा. का दरले प्रयेग गर्नु पर्दछ फापर छर्ने समयमा युरियामलको आधा मात्रा र डी.ए.पी. मलको पुरै मात्रा माटोमा मिलाउनु पर्दछ । युरियामलको बाँकी आधा मात्रा फूल फुल्नु भन्दा केही दिन पहिले प्रयोग गर्नु पर्दछ ।

बीउको दरः

बीउको मात्रा, वीउको आकार प्रकार, छर्ने तरिका, माटोमा चिस्यानको मात्रा साथै बीउको सुद्दता, उमारशक्ति आदि कुरामा निर्भर गर्दछ । साधारणतया प्रति रोपनी २.५-३ कि.ग्रा. बीउको आवश्यकता पर्दछ ।

लगाउने तरिका:

नेपालमा प्रायजसो फापर छरेर लगाईने गरिन्छ तापनि यदि २५ से.मी. को फरकमा हार बनाई लगाएमा बढी उत्पादन लिन सकिन्छ । यसको बीउ ४-५ से.मि. भन्दा गहिरो गरि रोप्नु हुँदैन । फापर छरेपछि तुरुन्तै बढी पानी परेमा फापरको बीउ उम्रदैन । त्यसैले फापर छरेको तुरुन्तै वा २४ घण्टा सम्म पानी नपरेमा राम्रोसंग उम्रन्छ ।

बिरुवाको घनत्व कायम गर्नेः

बिरुवा संख्या धेरै बाक्लो भएमा मुख्य काण्डबाट हंगाहरुको विकास नसकी उत्पादनमा निकै ह्रास आउछ । बीउ उम्रेको १०-१५ दिन पछि बाक्लो बिरुवा हटाइ एक बोट देखि अर्को बोटको दूरी ५ से.मि. कायम गर्नु पर्दछ । यसरी हटाइएको बिरुवा हरियो तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।

सिंचाईको व्यबस्था:

साधारणतया फापर बालीले सुक्खा सहने भएकोले यसको खेती पहिलो बाली कटानी पछि तुरुन्तै लगाईने हुँदा सिंचाई गरिदैन तर सिंचाईको सुबिधा छ भने छर्ने समयमा सुक्खा खडेरी परेमा सिंचाई गरेर मात्र छर्नु पर्दछ फूल फुल्ने वा दाना लाग्ने समयमा एकपटक सिंचाई गर्नाले बढी उत्पादन लिन सकिन्छ ।

झारपात नियन्त्रणः

फापर बाली छिटै हलक्क बढ्ने, पातहरु चौडा हुने हुँदा सजिलै झारपातको नियन्त्रण हुन्छ । यसको काण्डले रसायन (डाइइथाइल पथलेट कम्पाउन्ड) उत्पादन गर्दछ । जसले झारपातको वृद्धि र विकास हुन् दिदैन । तसर्थ फापर बालीमा गोडमेल र झार नाशक विषादि सिफारिस गरिएको छैन।

रोग र कीराको नियन्त्रणः

फापर बालीमा रोग र कीराहरुको प्रकोप अत्यन्त न्यून हुने गर्दछ । फापर बालीमा लाग्ने प्रमुख कीराहरुमा लाही, खुम्रे, फौजी, थ्रिप्स, झुसिलकीरा, फट्याङ्ग्रा आदि मुख्य हुन भने प्रमुख रोगहरुमा धुले ढुसी, सेते ढुसी, पात डढुवा, जरा कुहिने आदि हुन् । तर यी कीराहरु र रोगहरुको प्रकोपले उत्पादनमा खासै हास नपाइएकोले कुनै पनि विषादी प्रयोग गर्न सिफारिस गरिएको छैन ।

बाली काट्ने र चुट्ने:

स्थान विशेष र लगाउने मौसम अनुसार यी दुवै जातहरु बीउ छरेको ८०-९० दिन भित्रमा पाक्दछन् । जब बोटको तल्ला पातहरु क्रमशः सुकेर झर्न थालेपछि र ७५-९०% दानाहरुको रंग खैरो वा कालो रंगमा परिणत भई ग्रोट कडा हुन्छ तब बाली कटानी गर्न उपयुक्त मानिन्छ । बाली काट्दा सकेसम्म बिहानीपख काटेमा दाना झर्नबाट रोक्न सकिन्छ । फापरलाई जमिनको सतह नजिक २-३ ईन्च छोडेर हसियाँले काट्ने र त्यसलाई पातलो हुनेगरी करिब २ ३ दिनसम्म खेत बारीमा सुकाउनु पर्छ त्यस पछि स-साना मुठा बनाएर लट्टिले चुटी दानालाई बोटबाट छुट्याउनु पर्दछ । आजकल फापर चुट्ने यन्त्रबाट दाना छुट्याउने गरिन्छ ।

उत्पादनः

नेपालमा फापरको औसत उत्पादकत्व १०४७ किलो ग्राम प्रति हेक्टर भएको पाइन्छ भने उन्नत प्रविधि अपनाइ खेती गरेमा तिते फापर १ को औसत उत्पादन १५२६ (१०८३-२२४२) किलो ग्राम प्रति हेक्टर र तिते फापर २ को औसत उत्पादन १५८८ (१०००-२२८० ) किलो ग्राम प्रति हेक्टर भएको पाइन्छ ।

भण्डारण:

फापरको दाना भन्डारण गर्न दानको तापक्रम ५-८° से. सापेक्षिक आद्रता ४०-४५% र बीउको चिस्यानको मात्रा १३% भन्दा कम भएमा भन्डारणको लागि उपयुक्त मानिन्छ । फापरको भन्डारण क्षमता अन्य बालीको तुलनामा कम हुन्छ ।

प्रतिक्रिया

buckwheat

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?