Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

तिउरी : औषधीय गुण, सौन्दर्य चेत र संस्कृति

krishireview
२०७७ साउन १० , शनिबार ११:०७ मा प्रकाशित | १०३० पटक पढिएको

मोरङ– नेपाली परम्परा अनुसार लुतो फाल्ने र तिउरीको बोट लगाउने चलन निकै पहिलेदेखि चलिआएको पाइन्छ । असारमहिनामा हिलोका कारण शरीरमा आउने एक किसिमको रोगलाई साउन १ गते विधिपूर्वक विभिन्न वनस्पतिको प्रयोग गरी लुतो फाल्ने गरिन्छ ।

यही दिन एउटा पुरानो संस्कारको रूपमा तिउरीको बिरुवा लगाउने चलन समेत रहेको छ । यस परम्पराको पछिको वैज्ञानिक कारणको खोजी गर्ने हो भने यो एक किसिमको बहुउपयोगी बिरुवा बिस्तारै विश्वभरि फैलिएको कुरा देख्न सकिन्छ । विशेषगरी दक्षिण एसियाली मुलुकबाट सुरुभएको तिउरीको विश्वयात्रा कसरी भयो ? किन त विश्वले यसलाई मनपराए ?

तिउरीको सामान्य चिनारी

तिउरीको बिरुवाको उचाई २० देखि ७५ सेन्टिमिटरसम्मको हुन्छ । यसको लम्बाइ साढे २ देखि ९ सेन्टिमिटरसम्म हुन्छ भने यसको फूलहरू हल्का गुलाबी, रातो र सेतो रंगमा समेत देख्न सकिन्छ । तिउरीको उत्पत्ति दक्षिण एसियाली मुलुक र त्यसमा पनि नेपाल र भारतमा नै भएको हो भन्ने धेरैको मान्यता छ । तर, यसलाई चिनियाँहरूले पूर्वी दक्षिण एसियामा यसको उत्पत्ति भएको भनेर दाबी गर्छन् । यद्यपि अहिले यसको फैलावट एकाधबाहेक विश्वका धेरै देशमा पुगिसकेको छ ।

देख्दा सुन्दर, प्रयोगको हिसाबले अत्यन्त गुनिलो यो वनस्पतिका धेरै प्रजातिमध्ये एकाध प्रजातिमात्रै प्रयोगमा आउने गरेको वनस्पति विज्ञहरु बताउँछन् । यसको फूलले दिने सुन्दरताका कारण यसका केही प्रजातिलाई आफ्नो बगैँचाको शोभा बढाउनको लागि समेत प्रयोग गर्ने गरिन्छ । यद्यपि नेपालमा पाइने झण्डै ५१ प्रकारका प्रजातिमध्ये मुस्किलले तीन वटा प्रजातिलाई मात्रै बगैचामा लगाउने गरिएको छ । बाँकी सबै प्रजातिहरूलाई जंगलबाट घरको बगैँचासम्म ल्याउन सकिएको छैन ।

उत्पत्ति

उत्पत्तिको हिसाबले यो प्राचीनकालदेखि नै नेपालमा यसको प्रयोग हुँदै आएको पाइन्छ । वनस्पतिविद् कमल मादेनका अनुसार यसको प्रयोग आजभन्दा ४ हजार वर्ष पहिले नै भारत वर्षमा भएको वैज्ञानिक प्रमाणहरू पाइन्छ । यसको उत्पत्ति दक्षिण एसियाली मुलुकहरू नेपाल, भारतलगायतमा नै भएको देखिन्छ । तर यसलाई चिनियाँहरूले दक्षिण पूर्वी एसियामा उत्पत्ति भएको भनेर समेत दाबी गर्ने गरेका छन् ।

यसरी एसियाली मुलुकमा उत्पत्ति भएको यस वनस्पति अहिले विश्वका अधिकांश देशहरूमा पुगिसकेको छ । जतात्यतै यसलाई बगैँचामा सुन्दरता र यसको प्रयोगबाट हुने फाइदाको लागि लगाउने गरिन्छ । मादेनका अनुसार अस्ट्रेलिया, उत्तर अमेरिकाको उत्तरी भेग र उत्तर एसियाबाहेक विश्वका सबै मुलुकहरूमा यो फैलिएको छ ।

तिउरीको प्रजाति र यसको प्रयोग

यसलाई अँग्रेजीमा गार्डेन वाल्साम नामले चिनिन्छ । यो इम्पार्सियल बाल्सामिना भन्ने जातिमा पर्दछ । यस जातिसँग जोडिएका करिब १००० प्रजाति छन् । जसमध्ये चीनमा मात्रै २०६ वटा प्रजाति रहेको छ । भारतमा २५१ प्रजाति र नेपालमा कुल ५१ किसिमका प्रजाति रहेका छन् । मादेनका अनुसार नेपालमा पनि कुल ५१ मध्ये एकदर्जनभन्दा धेरै प्रजातिको पहिचान भइसकेको छ । प्रयोगमा रहेका प्रजातिहरू १२ महिना नै फूल्ने प्रकृतिका हुन् भने हावाले पनि ती बिरुवाका परागहरूलाई उडाएर लैजाँदा सजिलै  अर्काे ठाउँमा बिरुवा उम्रिने स्वभावका हुन्छन् । जसका कारण यी बगैँचाका लागि उपयुक्त देखिन्छ । बाँकी रहेका प्रजातिहरू यसरी धेरै समय फुलिनरहने भएकोले यसलाई बगैँचामा प्रयोगमा नल्याइएको हुनसक्ने उनी बताउँछन् ।

यो प्रजातिका फूल ३००० देखि ४००० मिटरसम्मको उचाइमा पाइन्छ । दुई प्रजातिबाहेक अरू भने एक महिना फुल्ने तर बाँकी ११ महिना फूल्न नसक्ने स्वभावको भएकाले पनि यसलाई प्रयोगमा नल्याइएको हुन सक्छ ।

तिउरीको परम्परागत प्रयोग

परम्परागत समयदेखि तिउरीलाई विशेष महत्वका साथ प्रयोगमा ल्याउने गरिन्थ्यो । जसलाई बुँदागत रुपमा तल  प्रस्तुत गरिएको छ ।

-भोजन र छालाका समस्याहरूको उपचारमा प्रयोग ।

-यसको पातबाट निकालेको रस सर्पदंशको उपचारमा उपयोगी रहेको मानिन्छ ।

– यसका फूलहरू आगोले पोलेको ठाउँमा लगाउनको लागि समेत प्रयोग गरिन्छ ।

– एसियामा यो फ्याक्चर र अन्य स्वास्थ्य समस्याहरूका लागि प्रयोग गरिन्छ ।

-कोरियालीमा यसलाई लौकिक औषधिको रूपमा ग्यास्ट्रिटिक र कब्जियतको उपचारका लागि प्रयोग गरिन्छ ।

-चीनमा यो बिरुवा सर्पले टोकेको उपचारका लागि प्रयोग गरिन्छ ।

-यसलाई भियतनामीहरूले कपालको विकासका लागि समेत प्रयोग गर्ने गर्छन् ।

– यसलाई घाँटीको दुखाइ कम गर्न पनि प्रयोग गरिन्छ । जसका लागि यसको बिउ र काण्ड समेत प्रयोग हुन्छ ।

-यसले रक्तसञ्चारलाई समेत बढावा दिने काम गर्छ ।

-यसको काँडालाई अनियमित मासिक धर्मको समस्या समाधानमा समेत प्रयोग गर्ने गरिन्छ ।

अपनाउनु पर्ने सावधानी

-एलर्जीको समस्या हुनेहरूले यसको प्रयोगबाट अलग रहनुपर्छ ।

-यसलाई जोकोहीले पनि मध्यम मात्रामा प्रयोग गर्नुपर्छ ।

– यसको प्रयोगपूर्व स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ ।

कसरी प्रयोग गर्ने ?

यसलाई विभिन्न किसिमले प्रयोग गर्न सकिन्छ । जसमध्ये निम्न प्रकृयालाई धेरैले अपनाउने गरेका छन् ।

-यसको पातलाई गोलो बनाएर यसलाई पिठोमा डुबाएर पनि यसलाई पकाएर सेवन गर्न सकिन्छ ।

-यसको बिउलाई पाउडरको रुपमा चियामा मिसाएर खान पनि सकिन्छ ।
-यसको बिउलाई पकाएर वा काँचै पनि खान सकिन्छ ।

-चीनमा भने यसका पातहरू नै पकाएर पनि खाने चलन छ ।

( यो लेख अन्लाईन खबरबाट साभार गरिएको हो।)

प्रतिक्रिया

तिउरी फूल

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?