Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

तरबारेलिली (Gladiolus) को खेती प्रविधि

krishireview
२०७८ साउन ३० , शनिबार ०७:०८ मा प्रकाशित | १३०८ पटक पढिएको

ग्लाडीओलस एक परिचय

कट फ्लावर भनेका यस्ता फूलहरू हुन् जसलाई उसको माउबोट बाट काटिन्छ। यी फूलहरुको डाँठ लामो हुने गर्दछ र यिनीहरुलाई पानीमा डुबाइ लामो समयसम्म नओईलाइकन राख्न सकिन्छ।पुष्प खेतीको प्रवद्र्धनमा कट फ्लावरले धेरै महत्वपूर्ण भूमिका खेल्दछ त्यसमध्ये तरबारे फुल एक महत्वपूर्ण कट फ्लावरको रुपमा परिचित हुनुका साथै विभिन्न प्रयोजनको लागि प्रयोग हुने हुँदा बजारको माग पनि उच्च रहेको छ्र । काठमाण्डौमा मात्रै हरेक दिन यसको ६०००–८००० गोटा सम्म माग रहेको छ, जुन कट फ्लावर मध्ये ७०% सम्म बिक्री हुनेमा पर्दछ । प्रशस्त मात्रामा आयात भईरहेको यो फूल नेपालमा पनि उत्पादन गर्न सके विदेशबाट हुने आयातमा कमी भई आर्थिक लाभ बढाउन सकिने देखिन्छ । यस लेखमा अनुसन्धान गरिएको तरबारे लिलीको खेती प्रविधि बारे जानकारी भइरहेको छ ।

हावापानी

यसको खेती समुन्द्र सतहबाट १०० देखि २,७५० मिटरसम्म पनि सफलतापूर्वक गर्न सकिन्छ । यसको खेती गर्दा बोट वृद्धिको समय, गाना र सेला (Corm and cormel) उत्पादनको समयमा उपयुक्त मौसम हुनु जरुरी हुन्छ्र र २५–३० डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ ।

गानाको छनौट

गानो (corm) छनौट गर्दा गानाको घेरा कम्तिमा २.५ से.मी. हुनुपर्दछ । ब्यवसायिक रुपमा खेती गर्दा गानाको घेरा २.५–३.० से.मी. हुनुपर्दछ । गाना धेरै समयसम्म सुषुप्त अवस्थामा रहने भएकाले तीन महिना पुरानो र गानोको आधारको घेरामा जरा निस्किने बिबिरा हुनु पर्दछ । साना सेलाहरूबाट गाना बन्न २० हप्ता लाग्छ भने बीउबाट गानो बन्न ३–४ वर्ष लाग्छ र गाना बनेपछि मात्र रोप्नको लागि तयार हुन्छ (Pant,२०१५)।

गानाको अन्तराष्ट्रिय स्तर (Grade):

गानाको स्तरडाँठको लम्बाइ
(से.मि.)
पुस्पिका
संख्या/डाँठ
कैफियत
Fancy(Grade A)>१०७१६१.ठूलो गाना (प्रदर्सनको लागि)
२. <५.१ र ३.८–५.१ सम्म
Special(Grade B)९६-१०६१५३. मध्यम गाना (व्यवसायिक उद्देश्य)
४. ३.२–३.८ र २.५ र ३.२ सम्म
Standard(Grade C)८१-९५१२५. १.९–२.५सम्म (व्यवसायिक उद्देश्य)
Utility(Grade D)<८११०६. सानो गाना (सेला):१.३–१.९ र १.०–१.३ सम्म

गानाको सुषुप्त समय (Dormancy)

गाना तथा सेलाहरु करिब ३ महिना जति सुषुप्तता अवस्थामा रहन्छन्। यस अवस्थामा गानो रोपेमा उम्रिदैन । यस्तो अवस्थामा गानालाई ईथिपोन १०० पि.पि.एम. ले उपचार गर्दा वा गानालाई ४५ डी.से. तापक्रमको तातोपानीमा ३० मिनेटसम्म डुबाएमा गानाको सुषुप्त बनाउने रसायन निष्कृया हुन्छ । तेस्तै थायोयुरीया १,०००–२,००० पि.पि.एम. तथा एन.ए. ए. ले उपचार गर्दा पनि सुषुप्ता अवस्था हटाईदिन्छ ।

माटो तथा जग्गाको तयारी
ग्लाडीओलस खेती गर्दा प्रांगारिक पदार्थ प्रशस्त भएको बलौटे वा दोमट माटोमा गरिएको खण्डमा विरुवा चाँडै उम्रिने, बोट पनि हलक्क बढ्ने र स्वस्थ हुन्छ । पानी जम्ने तथा अम्लीय र क्षारियमाटोमा यसको खेती राम्रो हुँदैन । रोप्नुभन्दा एक महिना अगाडि पहिले जग्गा तयार गरी कालोप्लाष्टिकले एक महिनासम्म माटो छोपेर राखेमा माटोमा भएका झारका बीउहरु, रोग तथा कीराहरुबाट मुक्त हुन सकिन्छ ।

मलखाद
पाकेको गोबर मल प्रति रोपनी २०–२५ डोको, डी.ए.पी. ४ के.जी., म्युरेट अफ पोटास ४ के.जी. युरिया ४.४ के.जी. प्रति रोपनीका दरले छरी माटोमा मिलाउनु पर्दछ । युरियाको आधा भाग विरुवा३ पाते भएपछि गोडमेल गर्दा दिनु पर्दछ र बाँकी भाग विरुवा ६ पाते भएपछि गोडमेल गर्दा दिनुपर्दछ्र । तयार भएको जग्गामा एक गानोबाट अर्को गानो २० से.मी. र एक हारबाट अर्को हार ३०से.मी. फरक गरी ६–८ से.मी. गहिरोमा रोप्नु पर्दछ ।

रोप्ने तरिका
ग्लाडीओलस तराईमा श्रावन महिना देखि माघ महिनासम्म उत्पादन गर्न सकिन्छ भने वर्षातको समयमो पहाडमा पनि गर्न सकिन्छ । यसलाई गाना (Corm), सेला (Cormel), बीउको साथै सूक्ष्मतन्तुकोषबाट पनि प्रसारण गर्न सकिन्छ । गानालाई सित भण्डारबाट निकालेपछि २–३ दिनसम्मछायाँमा राखी एक रात पानीमा डुबाएर बोक्रा हटाउनु पर्दछ । बोक्रा हटाई सकेपछि गानालाई ०.२%बेभीस्टिनमा ३० मिनेट डुबाएर राख्नु पर्दछ । माघको दोस्रो हप्तामा रोपेको गानोबाट बैशाखको पहिलो हप्तादेखि कटफ्लावर उत्पादन हुन्छ ।

सिचाई र गोडमेल

ग्लाडीओलस फूलको सिचाई मौसम अनुसार माटोको किसिम तथा माटोको चिस्यान हेरेर निर्धारणगर्नु पर्दछ । गोडमेल यो फूलको लागि निकै नै आवश्यक हुने गर्दछ । तसर्थ झारपातलाई नियन्त्रणगर्न हातले गोडमेल गर्नुको साथै रासायनिक झारनासक विषादी पनि प्रयोग गर्न सकिन्छ।

उत्पादन समय
ग्लाडीओलस फुलको माग वर्ष भरिनै भैरहन्छ । तराईमा राम्रो गुण भएको ग्लाडीओलस उत्पादन श्रावन महिना देखि माघ महिना सम्म गर्न सकिन्छ भने वर्षातको समयमा यसको उत्पादन पहाडमा पनि गर्न सकिन्छ । वर्ष भरि फूल बिक्री गर्न १५ या ३० दिनको फरकमा यो फूलको गानो लगाउनु पर्दछ । तापक्रम वृद्धि भएको अवस्थामो राम्रो फूल उत्पादन नहुने हुनाले उचीत जातको छनौट आवश्यक हुन्छ ।

कटफ्लावर काट्ने समय र उत्पादन उपरान्तका कार्यहरु

दुई वटा माथिल्लो पात (Flag leaf) राखी फूलको डाँठ विहान अथवा बेलुकीपख काटेर डाँठलाईपानीको भाडामा डुबाएर राख्नु पर्दछ । काट्दा पहिलो पुस्पिका (First floret) रंग देखिएको र स्थानीय बजारको लागि पहिलो पुष्पिका खुलेको हुनुपर्दछ । फूल, डाँठको आकार, रंग, ब्यास र लम्बाई अनुसार यसलाई ग्रेडिंग र packaging लागि Corrugated Fiber Board को प्रयोग गर्नु पर्दछ । फुल काटेको ६–८ हप्ता पछि गाना तथा सेला खन्नको लागि तयार हुन्छ । र खन्नुभन्दा २–३ हप्ता पूर्व नै सिंचाई बन्द गर्नु पर्दछ । खनेपछि ०.२% बेनोमाईल (बेनलेट) को झोलमा आधा घण्टा उपचार गरी २–३ घण्टा छायाँमा सुकाएर शितभण्डारमा ४° सेल्सियस को तापक्रममा भण्डारण गर्नु पर्दछ ।

रोगहरु

फ्युजारियम (ग्लाडीओली)
यो रोग लागेमा पात र पुष्प पत्र बाङ्गो, बोट कम्जोर आदि हुन्छन् । यसको नियन्त्रणको लागि रोग अवरोधक जातको प्रयोग, पानीको उचित निकास साथै भण्डारण पूर्व र रोप्नु अघि गानाको उपचार बेभिस्टीन २–३ ग्राम प्रति के.जी. बीउको दरले गर्नु पर्दछ ।


बोट्रीटिस (Botrytis):
यो रोग लागेमा पातमा खैरो थोप्लाको साथै पुष्प पत्रमा पानीले भिजेको जस्तो दाग (Water Soaked Spots) देखिन्छ र पछि खैरो ढुसीमा परिवर्तन हुन्छ । यो रोग चिसो र ओसिलो मौसममा लाग्दछ । यसको नियन्त्रण गर्न सरसफाई खेती प्रणाली नै उत्तम उपाय हो । साथै डाईथेन एम–४५, २–३ ग्राम प्रति लिटर पानीमा घोली हरेक १५ दिनको फरकमा छरेमा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।


ओईलाउने तथा घाँटी कुहिने रोग (Wilt or collar rot)
यो रोगमा पातको आकार सानो, पहेँलो र घाँटीको भागमा खैरो थोप्लाहरु देखिन्छन्। यसको नियन्त्रणको लागि रोप्नु भन्दा अघि र भण्डारण गर्नु भन्दा अघि बेनोमाईल २ ग्राम प्रति लिटर पानीमा घोली उपचार गर्नु पर्दछ । साथै एउटै जमिनमा लगातार २ वर्ष भन्दा बढी खेती नगर्नु नै उपयुक्त हुन्छ ।


कीरा तथा निमाटोडहरु
फट्यांग्रा कीरा
ग्लाडियोलस बिरुवाको कोपिलामा यो कीराले नोक्सानी गर्ने भएकाले क्लोरपाईरिफोस कीटनाषक विषादी २ मि.लि. १ लिटर पानीमा राखी स्प्रे गरेमा नियन्त्रण हुन्छ ।
लाही (Aphids)
यसले बोटको रस चुसी बढ्न दिंदैन र मोसायक विषाणुको कारक बन्दछ्र । रोगर ०.१% अथवा नुभान ०.१% विषादीले यसलाई नियन्त्रण गर्दछ ।
फड्के कीरा (Thrips)
यो कीराले पनि बिरुवाको रस चुसी बढ्न दिदैन । नुभाकन ०.१% विषादीले यसलाई नियन्त्रण गर्न सकिन्छ ।
निमाटोडहरु
यसले जरामा गाँठो पारेर (Root Knot) आक्रमण गर्दछ । टेमिक ८–१० के.जी. प्रति हेक्टरका दरले प्रयोग गरेमा यसको नियन्त्रण हुन्छ । साथै बालीको बीचमा सयपत्री फूल लगाएर पनि नियन्त्रण गर्न सकिन्छ ।

प्रतिक्रिया

gladiolus

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?