विभिन्न बालीमा हानिकारक कीराहरूको प्रकोप नियन्त्रणको लागि भौतिक पासाहरूको प्रयोग उपयोगी हुन्छ । यस्ता पासाहरूको प्रयोगले हानिकारक कीराहरूलाई बोटबिरुवाको नजिक आउन नदिएर अथवा यदि बोटबिरुवाको सम्पर्कमा आई असर गर्न थालेमा त्यसलाई भौतिक रूपमा हटाउने वा भगाउनेे काम गरिन्छ ।
प्रकाश पासो (Light Trap)
प्रकाश पासो विशेष गरेर रातको समयमा प्रयोग गरिन्छ । यसको प्रयोगबाट पुतली र अन्य उड्ने कीराहरूको नियन्त्रण गर्न सकिन्छ । बत्तीको पासोमा एल.इ.डी. बत्तीको प्रयोग गर्दा कीराहरू आकर्षित हुन्छन । यसको प्रयोगबाट विभिन्न फौजी कीरा, पतेरो, होपर, गभारो, बाली सखाप गर्ने पुतलीहरूको नियन्त्रण गर्न सकिन्छ ।
पहेंलो च्याप-च्यापे/लिसेपासो (Sticky Trap)
कीराहरू पहेंलो रङ देखी बढी आकर्षित हुने हुनाले पहेंलो च्याप-च्यापेे पासोको प्रयोग प्रभावकारी हुन्छ । A4 साइजको कार्डबोर्ड तथा प्लाइको प्रयोग गरी त्यसमा पहेंलो तेल, रङले पोतेर सुक्न दिने र पहेंलो रङ माथि गम लगाएर पहेंलो च्याप-च्यापे पासो तयार गर्न सकिन्छ ।
बजारमा तयारी पहेंलो च्याप–च्यापे पासो किन्न पनि पाइन्छ । प्रति कट्ठा ७ वटा पहेँलो च्याप-च्यापे पासो राख्दा कीराहरू नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोगबाट उडेर बालीलाई हानी पुर्याउने कीराहरूको समस्याबाट बालीलाई बचाउन सकिन्छ ।
खाल्डेपासो (Pitfall Trap)
खाल्डे पासोको साहायताबाट जमिनको सतहमा रहने र हिँडेर अथवा दगुरेर बालीबिरुवालाई नोक्सान पुर्याउने कीराहरू रोकथाम गर्न सकिन्छ । जमिनको सतहमा खाल्डो बनाएर पासोलाई राखिन्छ र यसको मुखमा आउने कीराहरू पासोमा पर्दछन र पासोको पिँधमा भएको विषादीको कारणले मर्दछन्। यसको प्रयोगबाट फटयाङ्ग्रा, खपटेकीरा, शङखेकीरा, क्रिकेट, रेलकीरा आदी रोकथाम गर्न सकिन्छ ।