परिचय: नेपालमा करिब १५ लाख हेक्टरमा धान खेती गरिन्छ।त्यसमा ५१% जग्गामा आकाशे पानीको भरमा धान खेती गरिन्छ।आकाशे पानीको भरमा खेती हुने मध्ये ४४,८८९ हेक्टर क्षेत्रफलमा ५-१५ दिनसम्म डुबान हुने क्षेत्र छ।उक्त डुबानग्रस्त क्षेत्रमा धान खेती गर्दा डुबानका कारण बिरुवा मार्न गई उत्पादन १५-१००% सम्म असर गरेको पाइएको छ।यस्तो प्रतिकूल मौसम र विभिन्न समस्याहरूले उत्पादकत्व घटिरहेको परिप्रेक्ष्यमा नेपालमै पहिलो पटक २०६८ सालमा दुईओटा डुबान सहन सक्ने जातहरु सिफारिस गरिएको छ भने केही सिफारिशका क्रममा छन्।यी जातहरुले कम उत्पादन दिने अरु जातहरुलाई प्रतिस्थापन गरेका छन्।यी जातहरु १० देखि १५ दिन सम्म डुबान सहन सक्छन। यीनमा भएको सव-१ जिनको कारण डुबानको पानी सुकेपछि बेर्ना पुनः पलाएर आउने क्षमता रहेको छ।
डुबान सहने जातहरुको गुणहरू | |||
---|---|---|---|
जातीय गुण | सावा मन्सुली सव -१ | स्वर्ण सव -१ | सेह्राराङ्ग सव-१ |
फूल खेल्ने दिन डुबान नहुँदा डुबान हुँदा | ९०-९५ १००-१०५ | १००-१०५ ११०-१२० | ७५-८० ८५-९० |
पाक्ने दिन डुबान नहुँदा डुबान हुँदा | १३५-१४० १५०-१५५ | १५०-१५५ १६०-१६५ | १२०-१२५ १३०-१३५ |
बोटको उचाई(सेन्टिमिटर) | ९०-९५ | ९५-१०५ | ९५-१०० |
दानाको आकार | मसिनो | मध्यम | मध्यम |
चामल पर्ने प्रतिशत | ६५.५ | ६६ | ६६ |
धानको उत्पादन (टन/हे) डुबान नहुँदा डुबान हुँदा | ४-४.५ ३-३.५ | ४.५-५ ३-३.५ | ४.५-५.५ २.५-३ |
स्वर्ण सव-१ को दानाको रङ्ग सुनौलो हुन्छ भने मंसुली सव-१ र सेह्राराङ्ग सव-१ को दानाको रङ्ग परालको रङ्गको हुन्छ। रोगकिरा कम लाग्नुको साथै उत्पादन पनि धेरै दिने भएकोले यी जातका धानहरु डुबानग्रस्त स्थानहरूमा विस्तारै लोकप्रिय हुँदै गइरहेका छन्।यी जातका धानको भात स्वादिलो भएको कारणले किसानले अझ बढी मन पराएका छन्।
जग्गाको छनौट
धानबालीलाई चिम्ट्याइलो दोमट माटो उपयुक्त हुन्छ।माटोमा पानी प्रशस्त रहने क्षमता र सिंचाईको राम्रो प्रबन्ध हुनुपर्छ।माटोको पि. एच ५-६.५ सम्म उपयुक्त हुन्छ।
जमिनको तयारी
गहिरो क्षेत्र मध्यम स्तरीय मलिलो जग्गाहरू यो धान खेतीको लागि उपयुक्त हुन्छन्। जमिनको खनजोत पूर्व कम्पोष्ट मल हाल्नु पर्छ।त्यस पश्चात् माटो बुरबुराउँदो हुने गरी कम्तिमा पनि २-३ पटक खन जोत गरी जग्गा सम्याउनु पर्दछ।
व्याडको तयारी
प्रति ७५ ग्राम बीउका लागि एक वर्गमिटर क्षेत्रफल अर्थात् एक हेक्टर धान खेती गर्न ४५-५० किलोग्राम बीउ र ६००-७५० वर्गमिटर जग्गा व्याडका लागि आवश्यक पर्दछ।घाम लाग्ने मलिलो माटो, सिंचित र पानी निकास भएको राम्रोसँग खनजोत गरिएको जग्गामा प्रति रोपनीमा ५ डोका कम्पोष्ट, युरिया ३ किलो ग्राम, डीएपी ३.५ किलोग्राम र जिंक १ किलोग्रामका दरले अन्तिम जोताईमा राख्नुपर्छ। बीउ राखेको १० दिनपछि युरिया ३ किलोग्राम टपड्रेस गर्ने र त्यसको ७ दिनपछि फेरि ३ किलोग्राम युरिया प्रति रोपनी टपड्रेस गर्नुपर्छ। जसले गर्दा बिरुवा अग्लो र मोटो हुन जान्छ।
धुले ब्याड
माटोमा पर्याप्त चिस्यान भएको माटोलाई राम्रोसँग मसिनो बनाउने र सम्याउने ,अनि त्यसमा सुख्खा बीउ छर्ने।
हिले ब्याड
ब्याडमा छिपछिपे पानी बनाई खेत जोत्ने, पाटा लगाउने र सम्याउने गर्नुपर्छ।हिले ब्याडमा उम्रेको बीउ छर्ने।बीउ उमार्न २५ डिग्री सेल्सियस पानीको तापक्रममा २४ घण्टा भिजाउने र ४८ घण्टासम्म बीउ गुम्स्याउने । यसरी बीउ गुम्स्याउदा एक ठाउँमा जम्मा गरी बोराले छोप्नु पर्छ।
बेर्ना उपयुक्त उमेर
कम उमेरका बेर्नामा बढीको पानी लामो समयसम्म सहन गर्ने क्षमता कम हुन्छ।त्यसैले बेर्नाको उपयुक्त उमेर ३०-३५ दिन हुनु पर्दछ। साथै रोपाइँ सरदर बाढी आउने समय भन्दा १०-१५ दिन अगाडि गरी सक्नुपर्दछ।
रोप्ने तरिका
प्रति गाभो २-३ बेर्ना नजिक – नजिक अर्थात् हार र बोट देखि बोटको दूरी १५* १५ सेन्टिमिटर राखी रोप्नुपर्छ। जसले गर्दा बाढी पछि गाँज कम हुँदा पनि उत्पादनमा कुनै असर पर्दैन।
मलखाद व्यवस्थापन
१००:४०:३० किलोग्राम नाइट्रोजन, फस्फोरस र पोटास प्रति हेक्टरका दरले विस्तारै गल्ने प्रकृतिका(slow release) मल राख्नुपर्दछ।नाइट्रोजनको एक चौथाई ,फस्फोरस र पोटासको पुरा मात्रा अन्तिम जग्गा तयारी समयमा प्रयोग गर्नुपर्दछ।बाँकी नाइट्रोजनको एक तिहाई बाढी आएर निकास भएको ३/४ दिनपछि ,अर्को एक तिहाई त्यसको ३० दिनपछि र बाँकी एक तिहाई ६० दिनपछि टपड्रेस गर्नुपर्दछ। सुक्ष्मतत्व जिंकको कमीको लक्षण विरुवामा देखिएमा जिंक सल्फेट २० किलोग्राम प्रति हेक्टर प्रयोग गर्नुपर्छ।
गोडमेल तथा झारपात व्यवस्थापन
चौडा र साँघुरो पातभएको झारपात मार्न नोमिनिगोल्ड (Bispyribac sodium) ३०० मिलिलिटर ५०० लिटर पानीमा प्रति हेक्टरको दरले बाढी आएर निकास भएको २५ देखि ३० दिन भित्र स्प्रे गरेपछि सबै प्रकारको झारपात नष्ट हुन्छ।
सिंचाई
धानबालीमा रोपेको दिनदेखि १० दिनसम्म लगातार ५ सेन्टिमिटर पानी जमाउनु पर्छ।त्यसपछि ४-५ दिनको फरकमा माटो सुकाउने र सिंचाई गर्दा फूल फुल्ने बेलासम्म पानी जमाई राख्नुपर्छ।फूल फुल्ने बेलामा पानीको कमी भएमा उत्पादनमा ठूलो ह्रास हुन्छ।