Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

चक्लाबन्दी खेती प्रणाली

सुबोध पौडेल
२०७७ असार २५ , बिहीबार ०२:०७ मा प्रकाशित | ४३६६ पटक पढिएको

सरोज ढुङ्गाना

प्राकृतिक स्रोत व्यवस्थापन कलेज ,बर्दिवास,


नेपाली कृषिको पृष्ठभूमि
विश्वमा नेपालको पहिचान एउटा कृषिप्रधान देशको रुपमा रहेको छ। हाल नेपालमा कुल ७३.९ प्रतिशत जनसङ्ख्या कृषि पेशामा निर्भर रहेका छन्। कृषिलाई नेपालीहरूको एउटा पुरानो पेशा मात्रै नभएर एउटा परम्पराको रुपमा नै लिन सकिन्छ।
नेपालका केही ठाँउहरुमा कृषि आधुनिकीकरण देखिन थालेको भएतापनि उपकरणहरूको पूर्ण क्षमता अनुसार प्रयोग हुन पाएको छैन। यसको प्रमुख कारणका रुपमा भुमि विखण्डनलाई लिन सकिन्छ। त्यसैले लागत अनुसारको उत्पादन नहुने, किसानहरूको सामाजिक र आर्थिक अवस्था नउकासिने जस्ता प्रमुख समस्याहरु देखिएका छन्। यस्ता धेरै समस्याहरु एउटा उपाय हो चक्लाबन्दी खेती प्रणाली।

के हो त चक्लाबन्दी खेती प्रणाली ?
फ्रान्समा, पहिलो आधुनिक भूमि एकीकरण सन् १७०७मा राउभ्रेस-एन-प्लेइनमा भएको थियो। १९औं शताब्दीमा पेरिस बेसिनमा निजी भुमी एकीकरणको चलन प्रस्ट हुन थाल्यो ।
२०औं शताब्दीको शुरुमा युरोप र संयुक्त राज्य अमेरिकामा भूमि एकीकरणको अवधारणा व्यापक रूपमा फैलिएको हो। नेदरल्याण्ड्समा पहिलो जग्गा एकीकरण सन् १९१६मा भएको थियो जब ३६५९ प्लटहरू ५०० मा सिमित गरियो।
योजनाबद्ध रुपमा विखण्डित जग्गालाई पुनः समायोजन र पुनर्स्थापन गर्ने प्रक्रियालाई चक्लाबन्दी प्रणाली भनिन्छ।
जमिनलाई चक्लाबन्दी गरिएपछि खेती गर्ने प्रणालीलाई नै चक्लाबन्दी खेती प्रणाली भनिन्छ।

यो प्रणाली कसरी अपनाउन सकिन्छ ?
विखण्डित जग्गालाई पुनः समायोजन र पुनर्स्थापन गरेपछि यो प्रणाली अपनाउन सकिन्छ। मुख्यतः जग्गा चक्लाबन्दी गर्ने तरिकाहरू ३ वटा छन् ।

१. भाडामा लिएर
कुनै कृषक वा कृषकहरूको समूहले आफ्नो आवश्यकता अनुसार जग्गा भाडामा लिने र जग्गा प्रयोग गरेबापत जग्गा धनीलाई मासिक वा वार्षिक रुपमा तोकिएको रकम प्रदान गर्ने ।

२. जमिन साटासाट गरेर
कुनै किसानको जग्गा दुई वा दुई भन्दा बढी ठाउँमा छ भने अर्को किसान वा जग्गा धनीसँग मिल्ने र जग्गा साट्ने। जग्गा साटे पछि एउटा किसानको जग्गा एकै ठाउँमा हुने हुनाले खेती गर्न धेरै सजिलो हुन्छ र लागत पनि कम हुन्छ ।
जग्गा उर्वरता, जग्गाको मूल्य र उपलब्ध स्रोतहरुलाई (सिचाई, निकास) मध्यनजर गर्दै जग्गा साट्नु पर्छ ।

३. सहकार्य खेती
आफ्नो खेतीयोग्य जमिनको छेउछाउमा जग्गा भएका अरु किसानहरुसँग मिलेर सहकार्यमा खेती गर्ने। यो प्रक्रियामा आफ्नो जग्गाको स्वामित्व आफैसँग हुन्छ । जग्गाको क्षेत्रफल र लागत अनुसार फाइदा बाँड्ने ।

चक्लाबन्दी खेती प्रणालीका फाइदाहरु
यो खेती प्रणाली अपनाएर किसानहरुलाई धेरै फाइदा हुनसक्छ ।
१. उत्पादन लागत कम हुन्छ,
२. प्रति क्षेत्र आय र नाफा वृद्धि हुन्छ,
३.आधुनिक उत्पादन विधि र प्रविधिहरूको प्रयोगमा सहजिकरण हुन्छ,
४. कृषि पूर्वाधार सुधार गर्न सहज हुन्छ,
५. दिगो कृषि र प्राकृतिक संसाधनको प्रभावकारी प्रयोग हुन्छ,
६. व्यवसायिक रुपमा कृषि गर्न सजिलो हुन्छ
७.कृषि गतिविधि प्रभावकारी हुन्छ ।

के यो प्रणाली नेपालमा सम्भव छ?
भूमि बिखण्डन नेपालको कृषिको प्रमुख समस्या हो। जग्गा बिभाजनको समस्यालाई नेपाल जस्ता देशहरूमा भूमि एकीकरण विधिबाट प्रभावकारी रूपमा समाधान गर्न सकिन्छ। नेपालजस्तो भौगोलिक विकटता भएको देशमा चक्लाबन्दी प्रणालीलेवा कृषकहरुलाई धेरै मद्दत पुर्याउन सक्छ। यो खेती प्रणाली नेपालका केही ठाँउहरुमा लागु भैसकेको छ । उदाहरणका रूपमा स्याङ्जाको सुन कागती खेती लिन सकिन्छ। चितवनको माडी नगरपालिकामा कृषि पर्यटन नमुना केन्द्र बनाउने लक्षसहित चक्लाबन्दी खेती सुरु गरिएको छ ।

निष्कर्ष
नेपाली कृषिलाई आधुनिकीकरण गर्न र व्यवसायिक रुपमा परिवर्तन ल्याउन आवश्यक छ। आधुनिक कृषि उपकरण पूर्ण क्षमतामा प्रयोग गर्ने हो भने विखण्डित जग्गालाई एकीकरण गर्न सबैले पहल गर्नु पर्छ। लागत अनुसारको फाइदा लिन र नेपाली कृषिलाई दिगो बाटो तर्फ डोर्याउन कृषकहरुको मेलमिलापमा जग्गा एकीकरण गरी खेती सुरु गर्नु पर्छ। तसर्थ नेपाली कृषि क्षेत्रमा भएका अनेकौं समस्याहरूलाई हल गर्न चक्लाबन्दी खेती प्रणाली निकै अपरिहार्य रहेको छ।

प्रतिक्रिया

चक्लाबन्दी खेती

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?