Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

खाद्य सुरक्षा र दिगो कृषि

krishireview
२०७७ असार १६ , मंगलबार १०:०६ मा प्रकाशित | १५८६ पटक पढिएको

 पवन प्याकुरेल  

 प्राकृतिक स्रोत ब्याबस्थापन कलेज,बर्दिबास

 हेटाैडा-नेपाल कृषि प्रधान देश हो । यहाँका करिब ७४ प्रतिशत मानिस कृषि पेसामा आबद्ध छन् र नेपालको कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत योगदान कृषि क्षेत्रको रहेको छ । कृषि मुलश्च जीवन भने झैँ कृषि नै यहाँको जीवन निर्वाहको मूल आधार हो र खाद्य सुरक्षाको मुख्य जग पनि होइन । वातावरणीय दिगोपनालाई बिचार गर्दै खाद्यान्नको उत्पादन, वितरण, मूल्य निर्धारण र नियमनका बिचमा उचित तालमेल मिलाउन पर्दछ । साथै खाद्यन्नको उत्पादन र उत्पादकत्व बढाउन सक्नु समय सान्दर्भिक हुने भएकाले सो कार्यका लागि दिगो कृषिको तीव्रता आवश्यक छ ।

खाद्य सुरक्षा

सबै मानिसको पर्याप्त मात्रामा पोषणयुक्त खाद्य पदार्थ माथिको आर्थिक, सामाजिक र भौतिक पहुँच, उपलब्धता र उपयोगको सुनिश्चितताको अवस्था खाद्य सुरक्षा हो ।सबैले खान पाउनु पर्छ, खाद्य अभावमा कसैको पनि ज्यान जोखिममा पर्नु हुँदैन र उपलब्ध खाद्यवस्तु स्वास्थ्यका दृष्टिले स्वस्थ्य अनि पोसिलो हुनु पर्छ भन्ने मान्यता खाद्य सुरक्षाको हो ।

खाद्य सुरक्षाको अवधारणा सन १९७० को दशकमा विकसित भएको हो । सन १९७४ मा भएको विश्व खाद्य सम्मेलनले खाद्य सुरक्षालाई उत्पादन मूल्यमा हुने घटबढ र खाद्य उपभोगमा हुने वृद्धिलाई धान्न सक्ने आधारभूत खाद्य वस्तुको सबै समयमा हुने विश्वव्यापी आपूर्ति भनी परिभाषित गरेको छ ।

खाद्य सुरक्षाका चार आधारस्तम्भहरु

खाद्य सुरक्षा वहुआयामिक अवधारणा हो । यसमा खाद्यन्न उत्पादन, वितरण, उपलब्धता, पहुँच एवं उपयोगको ज्ञान लगायतका विषयहरु पर्दछन । उल्लेखित विषयवस्तु मध्ये कुनै एकको अभावमा खाद्य सुरक्षा भएको मान्न सकिँदैन । उदाहरणको लागि खाद्यन्नको पर्याप्त उपलब्धता भएर पनि यदि आम नागरिकको आर्थिक सार्मथ्यले उपभोग गर्न भ्याउँदैन भने त्यसलाई खाद्य सुरक्षा भएको मान्न सकिँदैन ।

विश्व खाद्य शिखर सम्मेलन १९९६ को परिभाषाबाट खाद्य सुरक्षाको मुख्य चार आयामहरू पहिचान गर्न सकिन्छ :
१. खाद्यको भौतिक उपलब्धता
       खाद्यन्न उपलब्धताले खाद्यन्नको उत्पादन, भण्डारण र वितरण प्रणालिलाई ध्यान दिन्छ । उपयुक्त मल, विऊ र प्रविधि सहित दिगो कृषि उत्पादनको सुनिश्चितता, आपतकालिन समयमा समेत उपलब्धताका निम्ति वैज्ञानिक ढंगले भण्डारण र समन्यायिक वितरण प्रणालिको संयन्त्र निर्माण गर्नु पर्दछ ।

२. खाद्यमा भौतिक र आर्थिक पहुँच
खाद्यन्नमा पहुँचले व्यक्तिको आवश्यकता अनुसारको पोषणयुक्त खाद्यन्नमा भौतिक र आर्थिकरुपमा पहुँचलाई दर्शाउँ छ । खाद्यन्नमा भौतिक पहुँच मात्रै होइन, उक्त खाद्यन्न किन्नका लागि क्रयशक्ति र बजार मूल्य बीच सन्तुलन पनि कायम हुनु पर्दछ । उदाहरणका लागि बढ्दो खाद्यन्न मूल्यका कारण भौतिक उपलब्धता भएर पनि समाजका गरिब वर्गले उपभोग गर्न पाएका छैनन ।

३. पर्याप्त खाद्यको उपयोग
खाद्यन्नको उपलब्धता र पहुँच भएर पनि त्यसमा आवश्यक पोषणको मात्रा भएन वा खाना पकाउने र खाने ज्ञान भएन भने त्यसले खाद्य सुरक्षा कायम हुन सक्दैन । यसको लागि असल खाद्य संस्कृतिको विकास हुनुपर्दछ । पोषणयुक्त, विषादिरहित र स्वच्छ खाद्यन्नको छनौटको अवसर र उपभोगमा लैंगिक, जातिगत र वर्गिय विभेदको अन्त्यले मात्र खाद्य सुरक्षा कायम हुन सक्छ ।

४. माथिका तीन आयामहरूमा स्थिरता
निरन्तर रुपमा खाद्यन्नको उपलब्धता, हरेक व्यक्तिको पहुँच र उपभोगको ज्ञान भएमा मात्र खाद्य सुरक्षाको प्रत्याभूति हुन्छ । कुनै निश्चित समयमा हरेक आयामबाट खाद्य सुरक्षा भएर अन्य समयमा खाद्यन्न आवश्यकता परिपूर्ति हुन नसकेमा त्यसले खाद्य संकटको अवस्था प्रतिविम्वित गर्दछ । कुनै पनि आपत् विपत् वा घटनाहरूले गर्दा कुनै व्यक्ति वा घरधुरीको खाद्य पदार्थको उपलब्धता, पहुँच र उपयोगमा नकारात्मक अवस्था आउनु हुँदैन । स्थिरताको अवधारणाले खाद्य सुरक्षाका लागि उपलब्धता, पहुँच र उपयोग यी तीनै आयामलाई मध्यनजर गर्दछ ।

नेपालमा खाद्य सुरक्षाको अवस्था

नेपाल कृषि प्रधान मुलुक भएर पनि हरेक व्यक्तिलाई आवश्यकता अनुसारको खाद्यन्न उपलब्ध हुन नसकेको अवस्था छ । मनसुनी वर्षामा आधारित निर्वाहमुखि परम्परागत कृषि प्रणालि र कृषियोग्य जमिनको असमान वितरणका कारण देशको ठूलो जनसंख्या खाद्य सुरक्षाबाट वञ्चित रहनु परेको छ ।

 भोकमरी सूचकांक २०१७ अनुसार विश्वका ११८ देश मध्ये २२ अंक सहित ७२ औँ स्थानमा रहेको नेपाल सन् २०१९ मा विश्वका ११७ देशको सूचिमा भोकमरी सूचकांकमा  ७३ औँ स्थानमा रहेको छ।  नेपालको झण्डै ४१ प्रतिशत जनसंख्या दैनिक रुपमा चाहिने २२७९ क्यालोरीको लागि खाद्यन्न उपभोग गर्नबाट वञ्चित रहनु परेको अवस्था छ । त्यस्तै अझैपनि ४१ प्रतिशत बालवालिकाहरु दीर्घ कुपोषण बाट पिडीत छन भने १५ प्रतिशत बालबालिकामा ख्याउटेपन रहेको छ । देशको कुल खाद्यन्न उत्पादन र उपभोगको स्थिति सम्बन्धी तथ्यांक अनुसार देशको करिब ४० जिल्लाहरूमा खाद्य न्यूनता रहेको देखिन्छ, विशेषतः कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत दुर्गम क्षेत्र ऋझै पनि खाद्य असुरक्षामा रहेका छन ।

दिगो कृषि

विनास विनाको कृषिनै दिगो कृषि हो । वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता पुर्ति गर्दै जानु दिगो कृषि हो ।निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसाय मूलक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी प्राङ्गारिक दीगो कृषि विकासको माध्यमबाट बहुसंख्यक कृषकको जीवनस्तरमा सुधार ल्याउनु र खाद्य सुरक्षा सुनि्चित गर्नु दिगो कृषिको प्रमुख उदेश्य हो ।

आ.व. २०७४/७५ मा मात्र करिब साढे तीन लाख मेट्रिक टन बराबरको रासायनिक मल देशभर बिक्री वितरण गरिएको थियो । केही दशक अघि देखि नै यस्तै परिणाममा वर्षेनी कयौ लाख मेट्रिक टन बराबरको रासायनिक मल हाम्रो खेतबारीमा खनाईंदै छ । यसका नकारात्मक असर र प्रभावहरु पर्यावरणमा विस्तारै देखा पर्दैछन् । आगामी आ.व. २०७७/७८ को बजेटमा पनि रासायनिक मलको अनुदान स्वरुप रु. ११ अर्ब विनियोजन गरिएको छ । दिगो कृषिको लागि यस्तो चुनौतीको सामना गर्दै समाधानका लागि उपाय खोज्न आवश्यक छ ।
जैविक खेती दिगो कृषिका लागि फलदायी हुन सक्छ जसको लागि जैव कीटनाशक, एकीकृत कीट व्यवस्थापन, जैव उर्वरकको अधिकतम उपयोग गर्नुपर्दछ। वातावरण मैत्री खेती प्रणाली अपनाउन सकेमात्र दिगो कृषि फस्टाउन सक्छ ।

खाद्य सुरक्षाका निम्ति दिगो कृषि

वर्तमान परिपेक्षमा हेर्दा नेपाल एउटा विकासको बाटोमा अगाडि बढिरहेको मुलुक हो । भौगोलिक विकटता, गरिबी, बैदेशिक रोजगारी तथा बसाइँ सराइँको कारणले कृषि उत्पदान गर्ने जनशक्तिको अभाब, खाद्य वस्तुको अनियन्त्रित मूल्य बृद्धि, परम्परागत कृषि प्रणालीमा मात्र भर पर्नु, व्यवसायिक कृषि उपजहरुमा अनियन्त्रित जीवनाशक विषादि, जलवायु परिवर्तन तथा अन्य प्राकृतिक विपतीहरुले खाद्य वस्तुको उत्पादनमा ह्रास आउनु  र खाद्यान्नको भण्डारण पर्याप्त र प्रभावकारी नहुनु  खाद्य असुरक्षाका मुख्य कारण हरु हुन । त्यस्तै  अहिलेको बढ्दो जनसंख्या र खेती योग्य जमीनलाई बसोबासका निमित्त प्लटिङमा परिवर्तन गर्ने प्रणालीले गर्दा आउँदो दिनहरूमा खाद्य संकट नहोला भन्न सकिन्न । साथै कोभिड -१९ सँगै यसले निम्त्याउदै गरेको खाध्य संकट बाट बच्नको लागि उपाय खोजिएन भने झनै बिकराल रुपको सामना गर्न पर्नेछ । अहिलेको मात्र नसोची आउने पुस्ताको लागि पनि खाद्य सुरक्षा सुनिश्चित गर्ने उपाय भनेकै दिगो कृषि हो । दिगो कृषि प्रणाली वातावरण मैत्री हुन्छ, जैविक विविधताका हिसाबले धनी हुन्छ । थोरै जमिनको अधिकतम प्रयोग गरि राम्रो उत्पादन लिने प्रयास गरिएको हुन्छ । बाली चक्रको नियमलाई अनुशरण गरिएको हुन्छ । बाली संरक्षणको प्रांगारिक पद्धति अपनाईएको हुन्छ । प्राकृतिक वातावरणलाई यथावत् रुपमा राख्न प्रयास गरिएको हुन्छ । यसरी पर्यावरणको सन्तुलित संरक्षण गर्दै , प्राकृतिक श्रोत साधनको न्यायोचित प्रयोगले खाद्य सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।

अन्त्यमा, देशको भौगोलिक परिवेशलाई हेर्दा मूलत हिमाली भेगमा र पहुँचको आधारमा ग्रामीण भेगमा खाद्य असुरक्षा रहेको पाउन सकिन्छ ।खाद्य सुरक्षा खाद्यन्न उत्पादन, वितरण र उपभोगको संयोजित रुप हो । आफ्नो आवश्यकता अनुसारको पोषणयूक्त खाद्यन्नको उपलब्धता र उपभोगमा पहुँचको अवस्थाले खाद्य सुरक्षाको अवस्था निर्धारण गर्दछ । यसका लागि दिगो कृषि उत्पादनमा तिब्रता , पर्यावरणीय प्रणालिको सन्तुलन, पशुपालन र प्राकृतिक श्रोत साधनको समुचित प्रयोग गर्न पर्दछ ।

                                                                                                                                                                                  

प्रतिक्रिया


Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?