Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

कृषि क्षेत्रमा कोरोनाको प्रभाव

krishireview
२०७७ असार १४ , आईतबार ०३:०६ मा प्रकाशित | १८५२ पटक पढिएको

सुष्मा अधिकारी

प्राकृतिक स्रोत ब्याबस्थापन कलेज,  बर्दिबास

हालको अवस्थामा एक दर्दनाक र नरसंहार स्वरूप लिएर आएको यस कोरोना ( कभिड-१९) नामक भाइरसले सारा विश्व जगतनै त्रसित र अस्तव्यस्त बन्दै गएको छ। अब यहाँ यस्तो कुनै परिस्थिति नै छैन जसबाट कुनै पनि व्यक्ति, परिवार, समाज,राष्ट्र तथा सारा विश्व ग्रसित छैन। विश्वमा रहेका सबैभन्दा शक्तिशाली राष्ट्रहरू पनि यसको चपेटामा पर्न वाध्य छन्। र धेरैजसो राष्ट्रहरूको दैनिक कार्य, सामान्य जनजीवन लगायत सारा अर्थतन्त्र खस्कँदो स्थितिमा छ।यस भाइरसलाई रोक्न कयौं कोशिश जारी रहँदा पनि उचित सफलता प्राप्त भएको छैन।अहिलेको अवस्थाको टुङ्गो लाग्दा सम्म मानवीय जीवनको अस्तित्व कहा पुग्ने हो ठेगान नै छैन।२०१९, डिसेम्बर मा चीनको वुहनबाट निस्किएको यस भाइरसले कुनै बिभेदनै नगरी हरेक क्षेत्रमा आफ्ना पाइलाहरू लम्काउँदै छ।हाम्रो देश मा पनि कोरोना दिन दुईगुना र रात चारगुना को स्थितिमा बढ्दै छ। यसको सबैभन्दा ठूलो धक्का अर्थतन्त्रमा परेको छ।नेपालको अर्थतन्त्रमा टेवा दिने मुख्य स्रोत भनेका कृषि,रेमिटान्स,उद्योग र पर्यटन क्षेत्र हुन।२०७६ साल चैत्र ११ बाट सुरु भएको यस अनिश्चित बन्दबन्दिको कारण अर्थतन्त्रमा दिन प्रतिदिन गिरावट आएको छ।

       कृषि प्रधान मानिने हाम्रो देशमा कुल ६०%मानिस कृषिमा आधारित रहेका छन्, देशको गार्हस्थमा २७.१% योगदान दिने कृषि क्षेत्रमा पनि यस महामारीले प्रभाव परेको छ।दैनिक उपभोग्य कृषिजन्य सामग्रीहरू उपोभोक्तासम्म पुर्याउन कठिन भइरहेको छ। कृषकहरूले उत्पादन गरेका सामग्री बिक्री बितरण गर्न नपाएर त्यसै खेर गइरहेको देख्न, सुन्न पाइरहेको छ। अझ आफ्नो स्थानीय समान को सट्टा बाहिरबाट आयात सामग्रीको बजारमा सहज पहुंच देखिएको छ। यस्तो अवस्थामा पनि हामी स्थिनाय उत्पादनलाई रोगको डरले खाडलमा पुर्ने र बाहिरबाट आयातित विषादीयुक्त उत्पादनलाई अझ महंगोमा किन्न बाध्य छौं। कतिपय ठाउँमा त कतैबाट पनि कृषिजन्य सामग्री उपोभक्तासम्म नपुगेका कारण उनीहरू मारमा परेका छन्। यस्तै अवस्था भइरह्यो भने आगामी दिनहरुमा कोरोनाले भन्दा धेरै मर्का भोकमरीले पार्न सक्ने देखिन्छ। गत वर्षको तथ्यांक अनुसार नेपालले करिब १ खर्ब ६ अर्ब ४२ करोड २६लाखको  कृषिजन्य वस्तुको आयात गरिएको थियो। तर यस बन्दबन्दीको समय को तथ्याङ्क हेर्ने हो भने विराटनगर भन्सारबाट २६ करोड रुपियाँको फलफूल र १४ करोडको तरकारी आयात भएको छ।लकडाउन अवधि ११ चैत्र २०७६ देखि २३ वैशाखसम्म विराटनगर भन्सारबाट १३ करोड ५३ लाख १३ हजार मूल्यबराबरको तरकारी र २६ करोड मूल्यबराबरको फलफूल आयात भएको छ। वर्षा यमको सुरुवातसंगै कृषकहरुको मुख्य बाली धान लगाउने चटारो सुरु हुन्छ। तर यसका लागि आवश्यक मल, बिउ,औजार तथा अन्य कृषिसमाग्री सबै कृषकमाझ पर्याप्त मात्रामा पुगेको छैन। कति ठाउँहरूमा कृषकहरूले आफ्नो बाली या उत्पादन भित्र्याउन नपाएर खेतमा नै कुहाउन बाध्य छन् भने कति ठाउँमा उत्पादन बिक्री वितरण हुन नपाएर खेर गइरहेका छन्।जमघटले कोरोनाको डर हुनेहुँदा कृषकहरु सहज रूपमा खेतीपाती कार्य गर्न डराएका छन्। कृषिउपज पाइने अग्रोभेट, सहकारी संस्था, आदिले पर्याप्त सर -सामग्री कृषकहरु माझ पुर्याउन पाएका छैनन् भने केहीगरी उपलब्ध भएका सामग्री पनि उच्च मूल्यका कारण कृषकहरूले खरिद गर्न नसकी अझ मार खेपिरहेका छन्।कृषिलाई मेरुदण्ड मान्ने कृषकहरुलाई यस्तो घटनाले मनोवल घटाउने हुदा यसका लागि समाधान र उपाय खोज्न आवश्यक छ।

कृषि उपज आयात तथा उत्पादन का केही विवरण हरु :

उल्लेखित विवरणलाई अबलम्बन गर्ने हो भने बीउबिजनको आयात घट्नु को सट्टा बढ्दो छ। त्यसैगरी अन्नबालीको औसत उत्पादन हेर्ने हो भने धनबालीको औसत उत्पादन ३.१५ टन प्रतिहेक्टर, मकैबाली उत्पादन २.५ टन प्रतिहेक्टर र गहुँबालीको उत्पादन पनि २.५ टन प्रतिहेक्टर रहेको पाइन्छ जुन भनेको एकदम नै कम मानिन्छ ।

          यस महामारीले एकतर्फ हेर्नुपर्दा खाध्यसकंटको अवस्था निम्ताएको छ भने अर्कोतर्फ कृषिक्षेत्रप्रति ध्यानकर्षण गरी यसको उत्पादनको लागी सुनौलो अवसर सृजना गरेको छ। महामारीसँगै वैदेशिक रोजगारमा गएका तथा दिनहुँ मजदूरी पेशा गरी धनआर्जन गर्ने मानिसको घर फर्किने क्रम पनि बढ्दो छ।शहरबजारमा पेशा गर्नेहरू समेत गाउँघर फर्केर आफ्नै खाइखर्चका लागि भनेपनि कृषिप्रती उन्मुख रहेको देखिन्छ। वर्षौंदेखि बाँझो रहेका जग्गा जमीन जोतिन र खनिन थालेका छन्। यसै अवसरमा धेरै ठाउँहरूमा स्थिनय सरकारले बाँझो जमीन भाडामा लिएर खेतीपाती गर्न चाहनेलाई केही राहत प्रदान गर्ने व्यवस्था पनि मिलाइदिएको छ। यस्ता प्रोत्साहानले केहीमा आत्मशक्ति प्रदान गरेको र कृषिमा कदम चलाएको पनि देखिन्छ। यस्तै गरी बजार क्षेत्रमा रहेकाले पनि आजकल प्लास्टिक, बोरा, बोतल आदि राखी कौशीखेती गर्ने प्रणाली बढेको छ।यस विषयलाई पनि कृषिप्रतिको चासोको रूपमा लिन सकिन्छ।दैनिक परिश्रम गर्ने मजदुरहरूको श्रमलाई कृषिमा ढाल्न सक्ने हो भने आगामी दिनहरुमा यसको लाभ हामी सबैले पाउन सक्छौ। त्यसैगरी विदेशीएका र बेरोजगारीले भौतारिएका मानिसहरूलाई कृषिप्रति आकर्षित गराउने हो भने देशको कृषि क्षेत्र अलिकति भयपनि सबल‌ बनाउने यो भन्दा राम्रो मौका सायद नै आउनेछ। 

      सरकारले यस कोरोनाले देशको अर्थतन्त्रलाई परेको असरलाई नियाल्दै र कृषिप्रति आगामी दिनहरूको महत्त्वलाई बुझ्दै, आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रलाई बढी चासो दिइएको छ। यस वर्ष कृषि क्षेत्रको लागि मात्र रु ५० खर्ब ४१ अर्ब ८० करोड ७९ लाख २० हजार बजेट छुट्याइएको छ। पूर्व वर्षमा करिब रु८ खर्ब ३ अर्ब ७६ करोड ६४ लाख ८० हजार मात्र कृषि क्षेत्रको लागि विभाजन गरिएको थियो भने अहिले यसलाई रु४२ खर्ब ३८ अर्ब ४ करोड १४ लाख ४० हजारले बढाइएको छ। त्यस्तै गरी प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना विस्तार र पुनसंरचाका लागि मात्र रु ३ खर्ब ९२ अर्ब १४ करोड ६ लाख १६ हजार विभाजन गरिएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाका अनुसार यस वर्ष कृषि सामग्री र रसायनिक मलको निम्ति कृषकहरुलाई अनुदान दिने ब्यवस्था पनि गरिएको छ।यस वर्षको बजेटले देशलाई खाद्यान्न, तरकारी तथा फलफूलको सम्बन्धमा सक्दो रुपमा आत्म निर्भर बनाउने र आयात घटाउने लक्ष्य बोकेको छ।यसरी कृषि उत्पादन बढाउनका निम्ति सरकारले जमीनको सक्दो उपयोग र सम्भाव्य वस्तुहरूको प्रचारमा ध्यानाकर्षण पनि गर्ने छ। यी सबै लक्षित विषयहरू सही ढंगले ब्यवस्था भएमा देशको कृषि क्षेत्रमा सकारात्मक परिवर्तन देख्न त अवश्य नै सकिनेछ । तर अहिले भने देशमा घटेका सामान्य समस्या हरुलाई नियाल्न जरुरी देखिन्छ।

           कृषकहरुको उत्पादन बजार तथा उपभोक्तासम्म पुर्याउन खेप्नुपरेको समस्यालाई मध्यनजर गर्दै सरकारले कृषिजन्य ढुवानी तथा खेतीपातीका लागि अलि खुकुलो बनाएको छ।तर यतिले मात्र कृषिउपज र उपभोक्ताको समस्या समाधान भएको छैन र यसमा अझ ध्यान पुर्याउन पर्नेछ।स्थिनया सरकारले यस विषयलाई मध्यनजर गर्दै कृषिप्रतिका विभिन्न बहुउपयोगी कार्यक्रम सञ्चालन गरी कृषकहरुको आत्मबल बढाउनपर्दछ।यससँगै कृषकका लागि विभिन्न अल्पकालीन र दिर्घकालिन कार्यक्रम तयार गर्नुपर्दछ। कृषि क्षेत्रलाई अझ सबल बनाउन निम्न कुराहरूमा ध्यान दिन आवश्यक देखिन्छ :

१. स्थानीय उत्पादनको खपतमा जोड दिने।

२.स्थानीय बिउ- विजन तथा बलिको संरक्षण गर्ने।

३.जैविक मलको प्रयोग र विषादीको प्रयोगमा न्यूनीकरण।

४. अर्गानिक खेतीप्रति जोड र प्रोत्साहान प्रदान ।

५. सिंचाई तथा पनि काम भएको ठाउँमा थोपा सिंचाई , विभिद कृषिऔजारको पहुँचमा जोड दिने।

६.कृषकहरुलाई आवश्यक राहत र अनुदानको प्रबन्ध मिलाउने।

७.आवश्यकता अनुरूप भण्डारण स्थलको निर्माण, बजारको  तथा कृषि सल्लाहकारको व्यवस्था हुनुपर्ने।

अधिक रसायन खपत हुने खेती प्रणालीको अन्य विकल्प खोज्न आवश्यक छ जसले भविष्यमा रसायनमा टिकेर स्वस्थाहिन पुस्ताको निर्माण नहोस्। यसिगरी दिगोकृषी प्रणाली, शहरमुखी कौशी खेती, अग्रो फोरेष्ट्री प्रणाली, आधुनिक औजारयुक्त प्रणाली, व्यवसायिक खेती आदिलाई प्रवद्र्धन गर्न सकेमा यसले हाम्रो अवस्था निकै उच्च स्थानमा पुर्याउन सक्छ।अझ भन्नुपर्दा गुणस्तरीय र रसायन रहित खानपान गर्दा हाम्रोनै रोग्रतिरोधात्मक शक्ति बढ्ने हुदा अर्गानिक खेतीलाई विशेष जोड दिन आवश्यक देखिन्छ।

      उल्लेखित सबै परामर्शहरुलाई ध्यानमा राखेर कृषिक्षेत्रमा ध्यान बटुल्ने हो भने विभिन्न देशहरूबाट आयात कम गरी राष्ट्रिय पूँजी निर्माण समेत हुनसक्छ।कोरोना लगायत अन्य रोगहरू विरुद्ध लड्न सक्ने क्षमता बढाउन कृषिबाटनै सम्भव छ। कोभिद-१९ ले आक्रान्त पारेको संसारभरका उद्योग, ब्यापार, व्यवसाय, पेशा आदिले करोडौं मानिसहरू बेरोजार भइरहँदा वर्तमानमा कृषिलाई वैकल्पिक पेशाको रूपमा अपनाउन सकिन्छ। नेपालजस्तो अल्पविकसित तर कृषिप्रधान राष्ट्रले बेलैमा सोच पुर्याउने हो भने बेरोजगारी समस्याको केही हदसम्म हलगर्न र भविष्यमा हुनसक्ने भोकमरीको विकराल अवस्थालाई न्यून गर्न सक्छ।

प्रतिक्रिया

कृषि क्षेत्रमा कोरोनाको प्रभाव
यो पनि हेर्नुहोस् : Impacts of Covid-19 on Agriculture & Climate

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?