Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

कुरिलो खेती प्रविधि

krishireview
२०७९ साउन ३ , मंगलबार ०७:०७ मा प्रकाशित | २६६ पटक पढिएको

नेपाली खाद्य आहारको  एउटा महत्वपूर्ण पाटो हो तरकारी। तरकारीमा पाइने विभिन्न पोषकत्वहरुले गर्दा यसको महत्त्व दिनदिनै बढ्दो छ। त्यसैले तरकारी खेतीको प्रविधिको बारेमा जानकारी लिनु निकै फलदायी हुन्छ। कुरिलो अहिले नेपालीहरूले अत्याधिक मनपराएको एक महतत्वपूर्ण तरकारी हो।             

 कुरिलोको परिचय:कुरिलो एक बहुवर्षीय तरकारी बाली हो। यसको खेती समुद्र सतहदेखि १८०० मिटरसम्मको उचाईमा सफलतापूर्वक गर्न सकिन्छ। कुरिलो बिभिन्न पौष्टिक तत्वहरुमा धनी तरकारी भएको कारणले गर्दा यसको प्रयोग मानव स्वास्थ्यको लागि फाइाजनक हुने मानिन्छ। कुरिलोको टुसमा पाइने भिटामिन ए,सी लगायत रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने अन्य तत्वहरूको कारणले क्यान्सर,कलेजो तथा रगत सम्बन्धी बिरामीहरूलाई यसको उपभोग गर्नु अत्यन्त राम्रो मानिन्छ। नेपालमा विगत केही समयदेखि कुरिलो खेती गर्ने जिल्ला काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ,मोरङ र सुनसरी आदि रहेका छन्।

हावापानी:कुरिलो खेतीको लागि उष्ण तथा समशितोष्ण हावपानी आवश्यक पर्दछ। तुषारो खप्न नसक्ने कुरिलोको लागि १५-१८ डिग्री सेल्सियस तापक्रम राम्रो मानिन्छ। 
माटो:पानी नजम्ने, सिंचाई र निकासको व्यवस्था राम्रो भएको मलिलो, गहिरो र खुकुलो माटो कुरिलो खेतीको लागि उपयुक्त मानिन्छ। माटोको pH मान ६ देखि ७.५ सम्म भएको खण्डमा कुरिलो खेती फस्टाउन सक्छ। त्यसैगरी पारिलो घामलाग्ने स्थान मात्र कुरिलो खेतीको लागि छान्नुपर्छ।जमीनको तयारी:सामान्यतः १५०० के जी राम्ररी कुहिएको प्राङ्गारिक मल प्रति रोपनी माटोमा मिसाएर जमीनको तयारी गर्नुपर्छ। साथै प्रतिरोपनी ३ के जी डी ए पी ,५ के जी यूरिया र ३ के जी पोटास विभिन्न समयमा राख्नुपर्छ। बिरुवा रोप्ने समयमा १.५ वर्ग फिटको खाडल निर्माण गरी कुरिलोको बिरुवा रोप्न सकिन्छ।नर्सरी व्यवस्थापन:बेर्ना तयार गरी बिरुवा लगाइने हुँदा कुरिलोको नर्सरी व्यवस्थापन आवश्यक हुन्छ। यदि बेर्ना पोलिपटमा तयार गर्ने हो भने १ भाग माटो,१ भाग बालुवा, १ भाग गोबरमल मिलाई बीउ रोप्न सकिन्छ। यदि जमीनमा नर्सरी राख्ने हो भने १ मि चौडाई र आवश्यकता अनुसार लम्बाई भएको नर्सरी ब्याड बनाउनु पर्छ र २ से मी गहिराइमा बीउ खसल्नुपर्छ। तुषारो नपर्ने तराईको ठाउँहरूमा माघ महिनामा र मध्य पहाडमा फागुन देखि चैत सम्ममा यसको बीउ राख्न सकिन्छ। 
बेर्ना लगाउने समय:चैत देखि साउन सम्म कुरिलो रोप्नु राम्रो मानिन्छ। तर सिंचाई भएको खण्डमा भदौ / असोज सम्म बिरुवा रोप्न सकिन्छ।

विउदर:कुरिलो खेतीको लागि सरदर १००० देखि १२०० बोट प्रतिरोपनी बेर्ना आवश्यक पर्दछ।उत्पादन लिने तरिका:कुरिलोको १० देखि १५ इन्चको टुसा भाँचेर माटोमुनिको सेतो भाग १ देखि १.५ इन्च सहित तिप्नुपर्छ। कलिलो सेतो र मोटो टुसा बजारको लागि राम्रो हुन्छ। 

उत्पादनः
व्यावसायिक रूपले १ वर्षपछि उत्पादन दिन्छ । चैतको शुरुबाट असोजसम्मसामान्यतया कुरिलोको उत्पादन लिन सकिन्छ । कुरिलोको सरदर उत्पादन २००– ५०० के.जी. प्रति रोपनी पाइएको छ । चैत देखि भदौसम्म राम्रो उत्पादन लिन सकिन्छ । सामान्यतया भौगोलिक अवस्थाअनुसार पहाडी भागमा ४—६ महिनाजति र तराईमा ६—७ महिनाजति उत्पादन लिन सकिन्छ ।

यसरी कुरिलो खेतीको प्रविधिको बारेमा बुझेर हामीले कुरिलो खेती गरी मनग्य आम्दानी कमाउन सक्छौं।  (स्रोतः तरकारी खेती प्रविधि — कृषि तथा सहकारी मन्त्रालय)

प्रतिक्रिया

कुरिलो खेती प्रविधि

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?