२० असार । बतास एग्रो प्रालिले किसान पदमा रोजगारीका लागि आवेदन माग गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ भयर चौरमा २०० रोपनी क्षेत्रफलमा गर्न लागिएको कृषि र पशुपालनका लागि १० परिवार (श्रीमानरश्रीमती) का लागि आवेदन आह्वान गरिएको हो ।
प्रतिपरिवार ३२ हजार रुपैयाँ मासिक तलब तोकिएको किसान पदमा १० परिवार पनि विभिन्न जातीबाट छानिने छ । जसअनुसार गन्धर्व, विश्वकर्मा, दर्जी, सार्की, गुरुङ मगर, ब्राह्मण, क्षत्री र नेवार परिवारका व्यक्तिहरूको आवश्यकता रहेको कम्पनीले जनाएको छ ।
तलब सुविधाका रूपमा ३२ हजार रुपैयाँका साथमा बिमा, अतिरिक्त उपहार सुविधा पनि उपलब्ध गराइने बतास एग्रोका भक्त कार्कीले जानकारी दिए । जसअनुसार उनीहरुलाई ७ लाख बराबरको दुर्घटना बिमा, ३ लाख बराबरको औषधी उपचार बिमा र ३ लाख ३० हजार बराबरको प्राकृतिक म्यादि जीवन बिमा सुविधा उपलब्ध हुनेछ ।
माहुरी यस्तै प्रतिपरिवारलाई गाई, बाख्रा, कुखुरा, हाँस माहुरी लगायत पशुपंक्षी कम्पनीले किनिदिने र त्यसबाट हुने आम्दानीको ६० प्रतिशत किसान स्वयमको हुने कार्कीले बताए । किसानहरूका लागि १० वटा घर निर्माण गर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।
किसानलाई अतिरिक्त उपहार सुविधामा घर पालुवा पशुपंक्षीदेखि जग्गा, विद्युतीय सामान, भान्साका सामग्री र सिरक डसनासम्मको सुविधा उपलब्ध गराइनेछ । विशेष सुविधा अन्तरगत मोटरसाइकल किन्न ५० प्रतिशत लगानी गरिदिने र बाँकी न्यूनतम ब्याजमा किस्ताबन्दीको सुविधा छ । साझेदारी मान्यता अनुसार पशुपालनबाट प्राप्त हुने आम्दानीमा ६० प्रतिशत किसान परिवार र ४० प्रतिशत बतास एग्रो प्रालिलाई वितरण हुनेछ ।