Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

किवी खेति प्रविधि

krishireview
२०७७ साउन ५ , सोमबार ०३:०७ मा प्रकाशित | १८०० पटक पढिएको

अनुप शर्मा

कृषि तथा वन बिज्ञान बिश्वबिद्धालय (चितवन)

परिचयः

संसारका विभिन्न फलफुलहरु मध्यमा विकसीत मुलुकहरुमा किवीफल कैयौं शताब्दी अघि देखि नै खेती र प्रयोगमा रहेता पनि हाम्रो देशमा भने यो फल भर्खरै मात्र जानकारीमा आएको हो । साधारण भाषामा ‘किवी’ भन्नाले न्युजिल्याण्डको राष्ट्रिय चरा भन्ने बुझिन्छ । यो हेर्दा खैरो देखिनुका साथै निकै ठुलो पनि हुन्छ । किवी फलको खेतिको शुरुवात १६औं शताब्दीमा चाइनाबाट भएको पाइन्छ । त्यस बेला यस फलको नाम चाइनिज भाषामा ‘Yang tao’ थियो ।

किवी फलमा संसारभर पाइने फलहरुमा भएको तत्वहरुको अलावा भिटामिन ‘सी’ अत्याधिक मात्रामा पाइने हुनाले यस फललार्इ ‘राजा फल’ भनेर चिनिन्छ भने युरोप र अमेरिकामा सर्वोत्कृष्ट फल भनेर चिनिन्छ । बेलायतको कृषि मन्त्रालयले संसारभर पाइने विभिन्न फलफुलहरुको परिक्षण गर्दा किवी फलमा अन्य फलहरुमा पाइने भन्दा धेरै नै बढि मात्रामा भिटामिन, प्रोटिन, मिनरल र अन्य तत्वहरु पाइएको तथ्य समेत सार्वजानिक गरेको छ । यो हेर्दा चाइनिज गुजेवरी वा ठेकीफल जस्तै देखिएता पनि नेपालमा भने यसलाइ ‘झुसेफल’ को रुपले चिनिन्छ ।

इतिहासः

  • किवी करिब ३०० वर्ष अघि देखि उत्तरी चीनको याङजे उपत्यकाको हुपेह सीचुवान कियांसी र फुकियेन प्रदेश तथा पुर्वी भागको झियांगजियांग भागमा पाइने बहुउपयोगी फल हो ।
  • सन् १८४७ लण्डन स्थित रोयल हर्टिकल्चर सोसाइटि (Royal hort. Society) का एजेन्टले विरुवाको नमुनाहरु संकलन गरी यसको व्याख्या भएको थियो ।
  • डा. नाथानियल वालिच (Dr.Nathanial wallich) ले सन् १८५१ तिर नेपालमा पहिलो पटक प्रजाति Actinidia callosa संकलन गरेका थिए ।
  • E.H Wilson ले सन् १९०० मा चिनबाट किवी फलका केहि बीउहरु संकलन गरी बेलायत पठाए र बिरुवा तयार गरी सन् १९०९ मा फुल लाग्यो ।
  • न्युजिल्याण्डका इसावेल फ्राजरले चीन बाट केही बीउ ल्याए (सन् १९०६) र सन् १९०४ मा पहिलो पटक फल लाग्यो ।
  • फल पाकेपछि गुजबेरी (goose berry) को जस्तो बास्ना आएकोले यसको नाम चाइनिज गुजबेरी राखियो र धेरै कृषकहरु यस प्रति आकर्षित हुन थाले ।
  • Hayward wright ले सन् १९२४ मा नयाँ जातको छनोट गरे जसको नामकरण हेवार्ड गरियो र साथै सन् १९४० पछि यसको व्यवसायिक बगानको रुपमा खेति सुरु गरीयो ।
  • सन् १९५० तिर अमेरिका निर्यात भयो त्यसपछि सन् १९५३ तिर जापान युरोपमा निर्यात सुरु भयो र साथ साथै थोरै परिमाण अस्ट्रेलिया यु.के निर्यात भयो ।
  • उत्पादकहरु बिचको अन्तरक्रियामा ज्याक टर्नरले सन् १९५९ मा किवीफल नामकरण गर्ने सुझाव दिए ।
  • स्वीस इन्जिनियर जे.एफ.म्यासीले वि.सं.२०४४तिर नेपालको दोलखा जिल्लाको  चरिकोटमा एक जना कृषक श्याम खड्काको जमिनमा लगाएको पाइन्छ।
  • बागवानी विकास आयोजना, किर्तिपुरद्धारा वि.सं.२०४४/४५ सालमा केही किवीका जातहरु परिक्षणका रुपमा भित्रिएको थियो र बगानको रुपमा व्यवस्थापन हुदै आएको छ।
  • र्इसिमोड (ICIMOD) ले वि.सं.2055/56 सालमा भारतको हिमाञ्चल प्रदेशको कुल्लूबाट बिरुवा ल्याई गोदावरी स्थित उक्त संस्थाको प्रर्दशनी फार्ममा लगाई बगान स्थापना गरी केही कलमी बिरुवाहरु उत्पादन गरी विक्रि वितरण गर्दै आएको छ ।
  • दोलखाको बोच फार्मले किवी प्रवर्धन कार्यक्रम अन्तर्गत बिरुवा उत्पादन तथा प्रविधि विस्तारको कार्य सुरु गरेको छ।
  • हालसम्म काभ्रे काठमान्डौ ललितपुर भक्तपुर सिन्धुपाल्चोक इलाम जिल्लामा व्यवसायिक बगान र निजि नर्सरी स्थापना भईसकेका छन्।

विशेषताहरुः

  • मुटु स्वस्थ राख्न मद्यत पुग्ने (Promotes heart health)
  • धेरै जसो खाद्यतत्व पाईने फल (Most nutrient dense fruit)
  • भिटामिन सी प्रचुर मात्रामा पाइने (Rich in vitamin C)
  • कम सोडियम तथा अधिक पोटासियमयुक्त फल (Low sodium and high potassium fruit)
  • भिटामिन ई युक्त फल ((Rich in vitamin E)
  • फोलिक एसिडको राम्रो श्रोत (Good source of folic acid)
  • उमेर सँगै आँखाको ज्योति कम हुने समस्याबाट बचाउँछ(Protects from macular degeneration)
  • क्यान्सरबाट बचाउने र डिएनए सुधारमा सहयोग पुराउने(Protects against cancer and aids in DNA repair)
  • खाद्य रेशायुक्त पदार्थको धनी(Rich in ditery fibre)
  • अन्य खनिज तत्व तथा इन्जाइम(All other rich minerals and enzymes)

उपयोगः

किवीफल ताजा फलफूलको रुपमा त्यसलाई तासेर चाना बनाई खाईन्छ साथै फलको बिचबाट काटी चम्चाको साहायताले पनि खान सकिन्छ र उक्तफललाई दुई भाग पारी मुखमा लगेर ‌औलाले थिचेमा पनि बोक्रा हातमा र गुदी मुखमा पर्न जान्छ।

किवी फललाई विश्वभरि नै प्रसोधनमा ल्याइसकेको छ। यसबाट विभिन्न परिकार जस्तैः जाम, जेली, वाइन आदि विभिन्न मुलुकहरुको बजारमा पाइन्छन् र विकसित मुलुकमा चकलेट, क्यान्डी, केक, आदि परिकारमा किवीफलको प्रयोग हुने गरेको पाइन्छ।

बानस्पतिक परिचयः

      विश्व बजारमा ढिलो गरि आएको यो फल पहिले Dilleniaceae परिवारमा पर्ने मानिन्थ्यो। तर हाल किवीफल एक्टिनिडिइसिया परिवार (actinidiaceae family) अन्तर्गत राखिएको छ। सन्१९८६ मा यस फललाई एक्टिनिडिया डेलिसियोसा(Actinidia deliciosa) भनेर वर्गिकरण गरियो। तर हाल हरीयो गुदी भएको लाई A. deliciosa र पहेलो वा रातो गुदी भएको तथा सतह चिल्लो भएको लाई A. chinensis भनि वर्गिकरण गरिएको छ।एक्टिनिडिया ग्रीक शब्द हो जसको अर्थ कडा वा मुस्किल भन्ने बुझाउछ। डेलिसियोसा शब्दले Luxury वा Luxurious भन्ने बुझाउँछ, तसर्थ यसले फल निकै स्वादिलो छ भन्ने संकेत गर्दछ।

  • किवी एक लहरामा फल लाग्ने बिरुवा हो ।
  • परसेचन हुने Diocious बिरुवा हो।
  • झाँडीदार काठे लहरा 8 मिटरसम्म टेकामा चढ्न सक्ने साथै तल्लो भाग काठयुक्त र माथिल्लो भाग नरम हुन्छ ।
  • गोलाकार (Oval) पात भएको र एकपछि अर्को (Alternate) खालको हुन्छ ।
  • फूल सुरुमा सेतो र पछि पहेलो रङ्गको हुन्छ यसको फललाई नरम बेरी (Soft berry) भनिन्छ।
  • जात अनुसारका फलमा गुदी; हरियो पहेलो र रातो हुन्छ।
  • जरा धेरै गहिराई सम्म जादैन र बढि फैलिने खालको हुन्छ।

परागसेचन प्रकृया

   १. भाले र पोथी फूलः

         भाले बोटमा फूल फक्रेको २-५ दिनसम्म परागकणहरु सक्रिय हुन्छन् त्यसपछि निष्कृय हुन थाल्छन्। पोथि फूल पत्रदल झर्ने बेलासम्म अर्थात फुल फक्रेपछि ५-९ दिनसम्म पनि परागकण ग्रहण गरी गर्भधान (Fertilization) गर्ने क्षमता राख्दछन्। परागसेचन भएपछि पुष्पदल विस्तारै पहेलिएर सुक्न थाल्छ। परागसेचन र गर्भधान भएपछि बीउहरुको विकास प्रारम्भ हुन्छ। राम्ररी परागसेचन र गर्भधान भएमा बीउको संख्या बढ्छ त्यरकारण फलको आकारमा वृद्बि भई गुणस्तरीय फलको उत्पादनमा पनि वृद्बि हुन्छ।

 २. प्राकृतिक परागसेचनः

किवीफल स्वभावले नै परपरागसेचन बाली हो। हावाद्बारा परसेचनमा मद्बत पुराईरहेको छ त्यस बाहेक किराहरु जस्तै; मैरी भमरा झिंगा पुतली आदिले पनि परसेचनमा मद्बत पुराउँछ।

३. कृतिम परागसेचनः                

        फक्रेको भाले फूल २ सेकेन्ड जति घर्षण गर्दा शेचन कृया पुरा हुन्छ।एउटा भाले फूलले ५ वटा पोथी फूललाई सेचन गराउन पुग्दछ। साथै परागकण संकलण गरी  मेशिनको सहायताले पनि छर्न सकिन्छ। राम्रो परागसरेचन भएमा फलमा ६००-१२००बीउ पाईन्छ भने राम्ररी परागसेचन नभएमा ५०-१०० मात्र बीउ भएको पनि पाइएको छ।

हावापानी र माटो

   किवीफल चिसो आद्रता भएको हावापानी रुचाउने बाली हो। त्यसैले यसको खेती शितोष्ण देखि समशितोष्ण हावापानी भएको भू-भागमा गर्न सकिन्छ। यसको स्वभाव पतझड भएकोले यसको हिउँदमा पात झरी बोट सुशुप्त अवस्थामा रहन्छ।नेपालको सन्दर्भमा समुद्री सतहबाट १०००-१५००मिटर उचाई भएका क्षेत्रमा खेती गर्न सकिन्छ र उपयुक्त पनि मानिन्छ।किवीफलको लागी सापेक्षिक आद्रता बढि भएको राम्रो मानिन्छ। बार्षिक ‌औषत बर्षा १५०० मि.मि उपयुक्त हुन्छ। किवीफललाई प्रशस्त प्राङ्गारीक पदार्थ भएको बलौटे दोमट वा दोमट माटो उपयुक्त हुन्छ तर चिप्टाईलो उपयुक्त हुदैन।माटोको पि.एच. ६.५-६.९ उपयुक्त हुने र ७ भन्दा बढि भएमा म्यागनिज कमिको लक्षण देखाउन थाल्छ। किवीफलमा माटो खुकुलो हुन जरुरी छ।

मलखाद ब्यवस्थापनः

  नेपालमा हालसम्म मलखादको परिमाणको अनुसन्धान तथा परिक्षण भएको छैन तर नेपाल कृषि अनुसन्धान परिषद (नार्कले २-५ वर्षको बोटलाई ३० किलोग्राम कम्पोष्टमल, १२० ग्राम नाईट्रोजन, ६० ग्राम फस्फोरस र ६० ग्राम पोटास प्रति वर्ष र ५ वर्ष पछि ४० किलो कम्पोष्टमल, ८०० ग्राम नाईट्रोजन,६००ग्राम फसफोरस र ६०० ग्राम पोटास प्रति वर्ष  (किवी खेति प्रविधि २०१३/१४) सिफारिस गरेको छ। यसको साथै किवीफलमा बोरन, जिंक, मोलिब्डेनम लगायतका शुक्ष्म खाद्यतत्वहरु ३५-४० ग्राम प्रतिबोट राख्नु पर्दछ। कम्पोष्टमल नभएको अवस्थामा  अन्य जैविकमल जस्तै गड्यौलीमल, जैविकमल आदि।

-किवि फल

किवीफलका जातहरुः

क. हरियो गुदी भएका जातहरुः

१.हेवार्डः  यो विश्व भरी समावेश भएको जात हो।फलको आकार ठुलो र आकर्षक (८०-१०० ग्राम ) हुन्छ र ढिलागरि पाक्ने जात हो। फल गोलो र हल्का चेप्टो हुन्छ।यसलाई बढि चिलिंग घण्टा (६००-८००) चाहिने हुनाले बढि उचाईमा खेती गर्दा उपयुक्त हुन्छ।

२.एलिसनः बोक्रामा बाक्लो खैरो झुस भएको मध्यम राम्रो भण्डारण क्षमता भएको हुन्छ। यो जातमा फूल छिटो फूल्ने र हरियो गुदी भएको जातहरुमा यसलाई कम चिलिंग भए पुग्छ।

३.मोन्टीः यो मध्यम सिजनमा तयार हुने जात हो यसको आकार लाम्चो ठुलो हुन्छ र फलको टुप्पोतर्फ थेप्चो हुन्छ। यो जातबाट प्रशोधित खाद्यवस्तुहरु जस्तै जाम, जेली, जुस, तथा वाइन बनाउनका लागि राम्रो मानिन्छ।

४.ब्रुनोः हरियो गुदी भएको जातहरुमा यो अगौटे जात हो। अत्यधिक फल लाग्ने र कम चिलिंग भए पुग्ने फलको आकार गोलो, लामो  (Cylindrical) र टुप्पोतर्फ नाइटो जस्तै अलि उठेको हुन्छ। यसमा बीउको संख्या धेरै हुने भएकोले नर्सरीमा रुटस्टक तयार गर्नको लागि उपयुक्त हुन्छ।

५.एव्बोटः यो जातको फल सानो र गोलाकार हुन्छ। यसमा फल धेरै बाक्लो लाग्ने स्वभावको हुन्छ।चिलिंग अवधि कम आवश्यक पर्छ।

सिंचाईः

   किवीफलको जरा गहिरो तर्फ भन्दा माथिल्लो सतह २ फिटमा नै फैलने भएकोले सो ठाउँमा सधै चिस्यान कायम रहेमा बोटको विकास राम्रो हुन्छ । एउटा बगानको लागि ८ महिनाको वृद्बि विकास अवधिमा १००० लिटर पानीको आवश्यक पर्छ जसको आधा पानी ३ महिना गर्मियामको अवधिमा आवश्यक पर्छ।यो यामको सुरुसँगै फूल फक्रने परागसेचन कार्य हुने र नयाँ चिचिलाहरु आउने अवस्था भएकोले सिंचाईको महत्वपूर्ण भूमिका रहन्छ र यदि माटो सुख्खा हुन गएमा उत्पादनमा नकरात्मक असर पर्दछ।

जग्गाको तयारी र बिरावा रोप्नेः

 बिरुवा रोप्दा ८*८वा ६*४ वा ५*५ मिटरको दुरीमा सिधा धर्सामा रेखाङ्कण गरी खाडल खनी अर्गानिक मल तथा जैविक मल प्रयोग गरी माटो र मल राम्ररी मिलाई खाडल पुरी १-१.५ उचो गरी पानी नजम्ने गरी बिरुवा रोप्नु पर्छ। बिरुवा रोपिसकेपछि फेदमा मल्चिंग गर्न आवश्यक हुन्छ।अर्गानिक मल २५-३० के.जी प्रति वर्ष आश्वीन, कार्तिक, फाल्गुन र चैत्रमा दिने गर्नुपर्दछ।यो परागसेचनका लागि आवश्यक हुन्छ तथा खेती गरीएको ठाउँमा मौरी पालन र पशु पालन गर्नु लाभदायक हुन्छ।

काँटछाँटः

किवीफलको बोट असाध्यै चाँडो बढ्ने प्रकृतिको हुन्छ। तसर्थ यो बोटलाई छरितो बनाउन हरेक वर्ष बढेको करिव ७५ प्रतिशत भाग काटेर हटाउनु पर्छ र चाहिने भन्दा बढी हाँगाहरु राख्नु हुँदैन। किवीफललाई वर्षमा दुई पटक काँटछाँट गर्नु पर्दछ।

२.हिउँदमा गरिने काँटछाँटः काँटछाँट गर्दा पुराना एक आपसमा बाझिएका रोग र किरा लागेका, कमजोर तथा भाँचिएका हाँगा लहराहरु हटाई फल फल्ने नयाँ लहराहरु पलाउने उपयुक्त वातावरण सिर्जना गर्नपर्दछ। भरसक एउटा लहराबाट अर्कोको दुरी ८-१२ ईन्च रहने गरी बाँकि काटेर हटाउनु पर्दछ। यिनै लहरामा अर्को वर्ष  फल लाग्छ। फललागिसकेको हाँगामा अर्को वर्ष फल लाग्दैन त्यसकारण उक्त हाँगा काट्नु पर्दछ।

२.बर्षे काँटछाँटः साधारणतया फललाग्ने हाँगाहरु (canes) को फेँदतिरबाट ४-१२ गाँठाबाट निस्केको फललाग्ने मुना ( spurs) मा फल लाग्छ । तसर्थ लहरिने टुप्पा छाँटि दिनु उपयुक्त हुन्छ जसले गर्दा फल गुणस्तरिय हुनुका साथै हाँगा समेत मजबुत हुन्छन् ।वर्षायाममा वर्षे हाँगा अथवा चोर मुना धेरै निस्कन्छन र त्यसको काँटछाँटमा विशेष ध्यान दिन पर्छ।

बाली संरक्षणः

अन्य फलफूलको तुलनामा किवीमा रोग कीराको प्रकोप निकै कम लाग्ने गरेको पाईएको छ।किराहरु खासगरी कत्ले किरा, पात बेरुवा झुसिलकिरा , फड्के किरा, खपटे, र कतिपय स्थानहरुमा थ्रिप्सको प्रकोप भएको पाइन्छ। त्यसैगरी रोगहरुमा खासगरी जरा कुहिने रोग, बोट्राईटिस, स्क्लेरोटिनिया, थोप्ले रोग, क्राउन गल, पिएसए र फाटफुट मात्रामा फल कुहिने समस्या देखिएको छ।

फल छिप्पिने टिप्ने तथा उत्पादनः

किवीफल बोटमै पकाईदैन र खानयोग्य हुने गरी पाक्दैन। फल छिप्पिएपछि टिपेर पकाउनु पर्दछ।फलको पाक्ने दिनको हिसावले पनि अनुमान लगाउन सकिन्छ फल लागेपछि २२० दिनमा फल टिप्न योग्य हुन्छ भने पातहरु सुकेर झर्न थालेपछि पनि फल छिप्पियो भनेर भन्न सकिन्छ। किवीफल टिप्न कार्तिक महिनाबाट सुरु गरिन्छ। फलमा घुलनशिल चिनीको मात्रा ६.५% भन्दा बढि पुगेपछि फल टिप्ने बेला भएको ठान्नु पर्छ।किवी रोपेको १० वर्ष भएपछि मात्र अधिकतम उत्पादन लिन सकिन्छ।ईलामका कृषकहरुले ७ वर्ष पछि प्रतिबोट ५०-१०० किलो ग्राम फलेको र हरेक वर्ष नियमित फल्ने बताउँछन् । तर अन्य स्थानको अवलोकन गर्दा सरदर ५० किलोग्राम फलेको पाईएको छ। नेपालमा सरदर १२.५ टन उत्पादकत्व भएको गरिएको छ।

किवीफल उत्पादनोपरान्त प्रविधिः

1.फल सेलाउने (Pre-cooling)

2.ग्रेडिङ (Grading)

3.प्याक गर्ने (Packaging)

4. ढुवानी (Transportation)

5.भण्डारण (Storage)

6.फल पकाउने वा गवाउने (Ripening)

किवीको उन्नत प्रविधि

किवीमा गड्लिगं(Girdling in Kiwi)

गड्लिगं जसलाई रिगं-वर्किगं पनि भनिन्छ यो किवीमा गरिने एक किसिमको उन्नत प्रविधि हो जसमा बोटको बोक्राको स्ट्रिपलाई(कर्कक्याम्बियम वा फेलोजेन, फ्लोयम, क्याम्बियम र जाइलेम समावेश गर्ने) काठको शाखा वा ट्रंकको सम्पूर्ण परिधिबाट पूर्ण रुपले हटाइन्छ। जब रुखको ट्रंक पूर्ण रुपमा गड्लिगं गरिन्छ, गड्लिगं गरेको माथिको भागबाट यदि बोक्रा (Bark) पलाउन सकेन भने रुख पूर्ण रुपमा मर्दछ।

गड्लिगंको समय र वार्षिक गड्लिगंको आधारमा किवीको फलको विकास, फलको गणस्तर, वर्तमान टुसाको लम्बाई, अर्को वर्षको अंकुरण प्रतिशत, अर्को वर्षको फूल बहुतायत आदिमा देखिने असरमा एउटा अनुसन्धान गरिएको थियो। सो अनुसन्धानमा प्रतेक ७ दिनमा ४ पल्ट गड्लिगं गरिएको थियो। ट्रंकको १ से. मि. चौडाई गड्लिगं गर्दा अनुसन्धानको अनुसारः

१. फलको वृद्धि उत्कृष्ट थियो जब गड्लिगं उपचार जुलाईको मध्य र उत्तरार्द्धमा गरिएको थियो। यो प्रभाव वर्तमान वर्षको उपचारको लागि, बारम्बार वार्षिक उपचार पछि अधिक महत्वपूर्ण भयो।

२. ठुलो आकारको फलको प्रतिशत नियन्त्रणमा भन्दा उपचार गरिएको रुखहरुमा बढि थियो।

३. उपचार गरिएको रुखहरुको फलको गुलियो पना बढि थियो र पछि उपचार गरिएको रुखको फलमा गुलियो पना बढि भेटिएको थियो।

४. टुसाउने प्रतिशत, गत वर्षको प्रति शुटको फल संख्या एक वर्षको उपचार र वार्षिक उपचारको बिचमा खास फरक थिएन। वार्षिक उपचार गरिने रुखहरुको अगस्ट र सेप्टेम्बरमा जरामा भएको स्टार्च सामाग्री वार्षिक उपचार नगरिने रुखहरुको तुलनामा कम थियो।

        Figure 1. Girdling in Kiwifruit Vine  

फलको परिपक्कता र भन्डारणमा भने गड्लिगं उपचार गरिएको र नगरिएको बीच खासै फरक देखिएन।

(यो लेख प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दोलखमा बिगत केहि महिना देखि कृषि तथा बन बिज्ञान बिश्वबिद्धालय केन्द्रिय क्याम्पस रामपुर चितवनबाट बिएससिएजि ( BSCAg)अध्ययनरत अनुप शर्मा internship अन्तर्गत किवि जोनमा काम गर्ने क्रममा अनुभव र सिकाइको आधारमा तयार पारिएको हो । )

प्रतिक्रिया

किवि खेती

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?