Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

कहिले बन्ला त देश कृषि मा आत्मनिर्भर !

admin
२०७७ असार २२ , सोमबार ०८:०७ मा प्रकाशित | १०४४ पटक पढिएको

राजेस पाण्डे

प्राकृतिक स्रोत व्यावस्थापन कलेज,पुरुन्चौर(पोखरा)

पोखरा-संघीय शाशन प्रणाली चलेको मुलुकमा लाग्छ आज आत्मनिर्भर भन्ने शब्द नेपाली शब्दकोशबाट हटेको छ। चाहे त्यो देशको राजनैतिक क्षेत्रमा होस या कृषि क्षेत्रमा ,दुवै क्षेत्रमा हामि भारत र चिन जस्ता मुलुकको प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेपमा निर्भर छौँ ।
देशमा करिब ६५% जनताले कृषि पेशालाई अङ्गालिरहेका छन तर पनि आज हामी बर्सेनि अरबौँ को कृषि सामग्री अन्य मुलुकबाट आयात गर्न बाध्य छौँ । कृषि क्षेत्र राष्ट्रको अर्थतन्त्रलाई बलियो बनाउने हतियार हो तर यो उचित योजना र प्रभावकारी ढंगले अघि बढ्न नसक्नाले देशको अर्थतन्त्रमा खासै फरक परेको देखिँदैन।
निर्वाहमुखी कृषि पेशालाई जबसम्म व्यवसायिक रुपमा ढाल्न सकिन्न तबसम्म बिकासोन्मुख मुलुकमा कृषि क्षेत्रमा छलाङ मार्न सक्ने सम्भावना अत्यन्त न्यून छ । जबसम्म कृषि क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउन सकिँदैन तबसम्म राष्ट्र कृषिमा आत्मनिर्भर हुन सक्दैन।

कृषि प्रती हाम्रो समाजको धारणा के छ?
किसानले आफ्ना सन्तानलाई किन किसान बनाउन चाहदैनन् ,उनिहरुका डाक्टर इन्जिनियर बनाउने जस्ता चाहनाले किन प्राथमिकता पाइरहेका छन ? जसले त्यही पेसा गरेर बिहान बेलुका छाक टार्छ आज उ आफ्ना सन्तानलाई त्यस पेसाबाट टाढा राख्न खोज्नुको कारण के त ?
किसानको कमाई न्यून हुने र परिवार समेत राम्ररी पाल्न सक्दैन भन्ने मनस्थितिले मानिसको मन र मस्तिष्कमा दह्रो प्रभाव पारेको छ।

कृषिप्रति हाम्रो समाजको धारणा यस्तो छ ,
पढ्यो लेख्यो के काम हलो जोति खाए माम
अझै पनि परम्परागत रुपमा खेती गरेका किसानले आफ्ना सन्ततिलाई किसान बनाउन चाहदैनन् न त कोहि कसैले किसानलाई छोरी नै दिन चाहन्छन् ।कुनै बेला थियो छोरी पनि खर्बारी र बारिखेत हेरेर दिने गर्थे तर अहिले छोरी ले दुख पाउछे भनेर अमेरिका र अस्ट्रेलियाको जाँइ खोज्छन ।
हामी कहाँ कृषि उपज उत्पादन पनि नहुने होइन तर उचित बजारिकरणको अभावमा किसानले उत्पादन गरेको उपजले सहि मूल्य पाउन सकेको छैन। आज हामी आफ्नै देशको गोलभेडा बन्दागोपि खेतबारी मै कुहाएर भारतबाट आयातित वस्तुहरु चर्को मुल्यमा किनिरहेका छौँ । यति हुँदा समेत कृषकले उत्पादन गर्न छाडेका छैनन् किनभने उनिहरुले उत्पादन गरेको उपजले कुनैदिन उचित मूल्य पाउने छ भन्ने आश अझै पनि जिवित छ।
पहाडी भेगमा उत्पादन हुने उपजले सहि मूल्य पाउन नसक्नु कोल्ड स्टोरको कमि हुनु , पहाडी भेगलाइ लक्षित गरेर कृषि ज्ञान केन्द्र खोल्न नसक्नु , सरकारले गरेको लगानी सहि क्षेत्रमा नपर्नु जस्ता कारणले पनि कृषि व्यवसायले प्रगति गर्न सकेको छैन।

कमजोरी कसको ?
सरकारले कृषि क्षेत्रलाई लक्षित गरि उचित प्याकेज ल्याउन नसक्नु , कृषि विज्ञहरु किसानको खेतबारीमै पुगेर कृषिका समस्या हल गर्न नसक्नु , किसानमा व्यवसायिक रुपमा गरिने खेतिको तालिम नपुग्नु , बिना मोलतोल गरि किसानले आफ्ना उपज व्यापारीलाई पठाउनु र चाडै कमाउने आशको साथ बिषादी जस्तो चिजको परामर्श नलिई आफ्नै मनोमानि ढंगले प्रयोग गर्नु , वास्तवमा कमजोरी कसको , सरकारको व्यापारीको वा कृषकको?

कृषि क्षेत्रलाई अगाडि बढाउने विकल्प के ?
अहिले जुन तवरबाट कृषि उपजहरु बजारसम्म पुगेको छ त्यसलाइ परिवर्तन गरि किसानका उपजको मूल्य सरकारी तवरबाट सुनिश्चित हुनु पहिलो आवश्यकता हो।
प्राकृतिक बिपत्तिका कारण देखिने समस्या न्यूनीकरणका लागि किसानलाई कृषि बिमा गर्न प्रेरित गर्नु ,सम्भावना बोकेका परियोजना सामुहिक नेतृत्वमा संचालन हुने गरि कृषि फार्ममा सरकारले लगानी हाल्नु , सहुलियतमा कृषि कर्जा प्रवाह गर्ने , गुणस्तरीय बिउबिजन किसानसम्म पुर्याउने , बजारीकरणको ग्यारेन्टी गर्ने जस्ता कार्यहरु गरेमा कृषि क्षेत्रले राम्ररी फड्को मार्न सक्छ । कागजी रुपमा गरेको व्यवसायलाई भन्दा वास्तविक रुपमा काम गर्नेले सहयोग पाउने हो भने तिव्र रुपमा कृषि क्षेत्रमा सुधार आउँछ र देशले कृषि क्षेत्रमा काँचुली फेर्न सक्छ।

प्रतिक्रिया

आत्मनिर्भर कृषिमा

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?