Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

अन्तर्राष्ट्रिय स्तरको कृषि सम्मेलनमा सहभागी आवेदन खुल्ला

krishireview
२०७८ साउन २९ , शुक्रबार ०६:०८ मा प्रकाशित | ९३२ पटक पढिएको

चितवन। नेपालमै पहिलो पटक सम्पन्न हुन लागेको डिजिटल कृषि सम्मेलनको लागि आयोजकले आवेदन खुल्ला गरेको छ ।प्राविधिक विद्यार्थी संघ नेपाल, कृषि तथा वन विज्ञान विश्ववद्यालय (TSAN-AFU) र युथ थिङकर्स सोसाइटी – चितवन(YTS Chitwan)को सहकार्यमा देशकै पहिलो डिजिटल कृषि सम्मेलन हुने भएसँगै सम्मेलनको तयारी सुरु भइसकेको छ । जुम मिटिङ मार्फत असोज २ र ३ गते सञ्चालन गरिने उक्त सम्मेलनमा देश तथा विदेशबाट विद्यार्थीहरूको सहभागीता रहने बताइएको छ । आयोजकले यस सम्मेलनको लक्ष्य विद्यार्थी एवम् युवावर्गलाई एउटै छानामा ल्याई विशेषगरी प्रविधि र कृषिको आधुनिकीकरणलाई प्राथमिकतामा राखी कार्यक्रमहरू सञ्चालन हुने बताएको छ ।

सम्मेलन सफल बन्न युवा, प्राविधिक र किसानको सहभागिता हुन जरुरी छ । त्यसैले, कृषि सम्मेलनमा देश तथा विदेशका जुन कुनै कुनाबाट पनि सहभागिता जनाउन सकिने गरी सहभागी आवेदनको फारम खुलिसकेको कुरा आयोजकले बताएका छन् । त्यस्तै, सम्मेलन सम्बन्धित सूचना देशका सम्पूर्ण कृषि विद्यार्थी, युवा तथा कृषि प्रेमीहरू समक्ष पुगोस्, सम्मेलनको प्रचार व्यापीकरण होस् भनेर देशभरिका विभिन्न विश्वविद्यालय र क्याम्पसहरुबाट नेतृत्व गर्न प्रतिनिधिहरूको छनोट भइसकेको कुरा हामी समक्ष व्यक्त भयो ।उक्त कृषि सम्मेलनमा पाँच वटा विश्वविद्यालयका चौबीसवटा  क्याम्पसको प्रतिनिधित्व गर्दै २८ जना विद्यार्थीहरू सहभागी हुनेछन् । उक्त प्रतिनिधिहरूले यस सम्मेलनमा देश भरिका विद्यार्थीहरूको उपस्थिति र सम्मेलनबाट निस्कने ज्ञानको विस्तारमा टेवा पुर्याउने विश्वास लिएको आयोजकले बताएका छन् ।

आयोजकका अनुसार प्रतिनिधिका रुपमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत प्राकृतिक श्रोत व्यवस्थापन कलेज(CNRM)- पुरञ्चौरबाट सृजना अधिकारी र रोशन घिमिरे छनोट भएका छन्। त्यस्तै,CNRM सिन्धुलीबाट सन्देश सापकोटा; CNRM पाख्रीबास, धनकुटाबाट अर्जुन दाहाल; CNRM टीकापुर, कैलालीबाट विनोद राज भट्ट; CNRM बर्दिवास, महोत्तरीबाट राजु खत्री, CNRM खजुरा, बाँकेबाट जोनास बाडू; CNRM माडीचौर, रोल्पाबाट प्रतिमा भण्डारी र सुनिल ढुङ्गाना र कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत नै प्राकृतिक श्रोत व्यवस्थापन कलेज दुल्लु, दैलेखबाट पवन सापकोटाले प्रतिनिधित्व गर्ने भएका छन् ।

यसैगरी त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान(IAAS), पक्लिहवा क्याम्पसबाट हरि पोख्रेल; गोकुलेश्वर क्याम्पस, बैतडीबाट प्रकाश शाह; रामपुर क्याम्पस खैरहनी चितवनबाट सत्य प्रसाद भट्टराईले नेतृत्व गर्नेछन् । काठमाडौं युनिभर्सिटी स्कूल अफ साइन्सबाट खुस्बु राउत र प्रविन कुमार महतोले सम्मेलनमा प्रतिनिधित्व गर्नेछन् । यस्तै सुदूर पश्चिम विश्वविद्यालय कृषि संकायबाट शिल्पा थापा र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत नेपाल पोलिटेक्निक इन्स्टिच्युट(NPI),चितवनबाट सुबोध पौडेल; जी.पी. कोइराला कलेज, मोरङबाट अनिश सुवेदी र सुस्मिता भट्टराई; हिमालयन कलेज(HICAST), काठमाडौंबाट युरिशा उप्रेती रहेका छ्न् । महेन्द्र रत्न बहुमुखी क्यम्पस, ईलामबाट एलिजा घिमिरे र ईन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पस, धरानबाट कपिल रेग्मी छन् भने कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट  सम्बद्ध प्राप्त निजी कलेजहरू भ्याली कृषि क्यम्पस, ललितपुरबाट सदीक्षा चौलागाईं; रामनगर प्राविधिक तथा व्यवस्थापन कलेज, नवलपरासीबाट नारायण देवकोटा; गोर्खा पोलिटेक्निक कलेज र अनुसन्धान केन्द्र, बाँकेबाट विष्णु प्रसाद आचार्य; जीविका कलेजबाट विद्या लक्ष्मी शाह र ब्राइट मध्य पश्चिम कृषि तथा वन विज्ञान क्याम्पस, सुर्खेतबाट पुष्पा जी.सी.ले प्रतिनिधित्व गर्ने भएका छन् ।

‘Reliable DigiCulture, Resilient Agriculture’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको सम्मेलनलाई ‘Forefront in Sustainable agriculture: Digitization and Climate Resilience’ नाम दिइएको छ । कृषि प्रविधिमा युवावर्गको ज्ञानको क्षितिज फराकिलो बनाउने अभिप्रायका साथ युवाहरूद्वारा नै सञ्चालन हुने यस सम्मेलन देशभरीका युवा क्षमतालाई जोड्ने एउटा भरपर्दो माध्यम बन्ने विश्वास रहेको आयोजना समितिले जनाएको छ ।

यस सम्मेलनले नवीन डिजिटल कृषि प्रविधि र आविष्कारका बारेमा किसानहरूलाई अवगत गराउनका साथै युवाहरूलाई डिजिटल पद्धतिको प्रयोग गरी कृषि क्षेत्रमा लाग्न प्रेरित गर्ने विश्वास लिएको छ । यस सम्मेलनले सहभागी र कृषि प्राविधिकहरूलाई आधुनिक कृषि उपकरणका बारेमा जानकारी दिनु, कृषक र प्रविधि बीचको दूरी घटाउनु, कृषि विज्ञको भूमिकाबारे सचेत बनाउनु, अव्यवस्थित प्रविधिले किसान र कृषि प्रणालीमा पार्ने असरका बारेमा जानकारी गराउनु र उद्यमीहरूबाट दिगो रूपमा आधुनिक कृषि सञ्चालन गर्न सल्लाह सुझाव प्रदान गर्ने जस्ता लक्ष्य राखेको छ । साथै, नवीनतम् प्रबिधि र डिजिटल कृषि सम्बन्धि बिषयलाई सामेल गर्नेगरि कृषि विश्वविद्यालयहरूका पाठ्यक्रमलाई परिमार्जनका लागि प्रेरित गर्नु पनि यस सम्मेलनको उद्धेश्य रहेको आयोजकले बताएको छ ।

नेपालको कृषि क्षेत्रमा भएका नवीन आविष्कार र डिजिटल प्रविधिको वर्तमान अवस्था , यसको समुचित तथा दिगो प्रयोग र आगामी दिनहरूका कदम बारे छलफल तथा चर्चा गरिने यस कृषि सम्मेलनमा सम्पूर्ण कृषि विद्यार्थी , प्राध्यापक, अनुसन्धानकर्ता, कृषि उद्दमी, तथा सरकारी निकायहरूको उपस्थितिको अपेक्षा रहेको आयोजकले बताएको छ ।

 सम्मेलनमा नेतृत्व छनोट सँगै उक्त कार्यक्रममा सहभागी बन्नका लागि रजिष्ट्रेसन फारम पनि खुलिसकेको छ र दर्ताको लागि रु २०० शुल्क राखिएको छ जुन E-sewa or Khalti अथवा PayPal बाट पनि गर्न तिर्न सकिने छ।कुरा आयोजकले हामीलाई बताउँदै उक्त सम्मेलनलाई सफल बनाउँन र कृषि र प्रविधिको बारेमा जान्नका लागि तल राखिएको फारम भर्न पनि अपील गरेका छन्।

https://2hac.page.link/c2QB

प्रतिक्रिया

AgriCon2021

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?