सुबोध पौडेल
२०७८ असार २७ , आईतबार ०६:०७ मा प्रकाशित | १५८६ पटक पढिएको
काँचो अदुवालाई टुक्रा पारी चक्लेटको रुपमा ल्याई बनाईएको प्रशोधित वस्तुलाई अदुवाको क्याण्डी भनिन्छ। यसले मिठाईको रुपमा मात्र नभएर पाचक चक्कीका रुपमा भोजन पचाउन मद्दत गर्छ तथा कफ, खोकी, चिसोका साथै यात्रामा उल्टी हुनेका लागि औषधिको रुपमा समेत काम गर्छ ।
ध्यान दिनु पर्ने कुराहरु
क्यान्डी बनाउनको लागि रेशा कम हुने नरम अदुवाको जात छनोट गर्ने
असोज महिनाभर खनेको अदुवाको क्यान्डी बनाउन उपयुक्त हुन्छ
राम्रोसँग नसुकाईएको क्याण्डीमा छिटै नै ढुसी लाग्ने र विग्रने हुनाले क्याण्डी प्याकिङ्ग गर्दा राम्रोसंग सुकाएर मात्र गर्न पर्दछ
अदुवाको गुणस्तरीय क्याण्डी निम्नानुसारका प्रविधिहरु अपनाई बनाउन सकिन्छ :
प्रथम दिनमा गरिने कार्यहरु
क्यान्डी बनाउन अदुवा खनेपछि धोएर बोक्रा हटाउने
बोक्रा हटाई सकेको अदुवालाई काँटाको सहायताले चारैतिर प्वाल पार्ने
उपयुक्त हुने गरी अदुवाको एकनासको टुक्रा काट्ने
टुक्राहरुलाई २ प्रतिशतको नुन पानीमा एकरात डुवाउने
दोस्रो दिनमा गरिने कार्यहरु
टुक्रालाई सफा पानीले नुनिलो नहराउदा सम्म पखाल्ने
प्रेसर कुकर वा डेक्चीमा टुक्रालाई मिलाई नपाक्दा सम्म पकाउने
अदुवाको टुक्रा डुब्ने बराबरको पानीमा २५% तौल चिनी र ०.५% साइट्रीक एसिड लिई १० मिनेट सम्म पकाएर २४ घण्टासम्म चास्नीमा डुवाएर छोड्ने । यसो गर्दा टुक्रामा भएको पानी निक्लन्छ र विस्तारै गुलियोपना अदुवाका टुक्रामा पस्दछ।
तेश्रो दिनमा गरिने कार्यहरु
अदुवाको टुक्रालाई अलग गरी चास्तीमा २५% चिनी थपी १० मिनेट तताउने
चिनी गलि सकेपछी चास्नीलाई कपडाले छानेर टुक्रालाई २४ घण्टा चास्नीमा डुबाई छोड्ने
चौथो दिनमा गरिने कार्यहरु
चौथो दिनमा पनि तेश्रो दिनको जस्तै गरेर ३०% चिनी चपी १० मिनेट तताउने
चिनी गलि सकेपछी चास्नीलाई कपडाले छानेर टुक्रालाई २४ घण्टा चास्नीमा डुवाई छोड्ने
पाँचौ दिनमा गरिने कार्यहरु
अदुवाको टुक्रालाई १० मिनेट तताउने झाजरको सहायताले टुक्रा निकाली चास्नी तर्काएको टुक्रालाई हावामा सुकाउने र सुख्खा बनाउने यसो गरिएमा ग्लेजड क्यान्डी तयार हुन्छ
अथवा तर्काएको टुक्रालाई ठूला ठूला दाना भएका चिनीमा लटपटयाएर टुक्राको बाहिरी भाग सुख्खा नहुँदासम्म हावामा सुकाउने यसो गर्दा क्रिस्टलाईज क्यान्डी तयार हुन्छ
अथवा चास्नी तर्काएको टुक्रालाई सुकाउने र चिसो पानी सुकी हातमा नटासिने भएपछि चिनीको मसिनो धूलोमा लटपट्याएर टुक्राको बाहिरी भाग सुख्खा नहुँदासम्म हावामा सुकाउने।